मुम्बई । एउटा फिल्मको स्क्रिप्ट लेख्न धेरै भए एक वर्ष लाग्ला । तर, बलिउडको एउटा फिल्मको स्क्रिप्ट लेख्न पूरै पाँच वर्ष लागेको छ । अमिताभ बच्चन, फरहान अख्तर र अदिति राव हैदरी अभिनित फिल्म ‘वजीर’ को कथा पूरा हुन पाँच वर्ष लागेको छ । विजाय नाम्बियारले निर्देशन गरेको फिल्ममा जोन अब्राहम र नील नीतिन मुकेश अतिथि भूमिकामा छन् ।
फिल्मका सहायक निर्माता विधुविनोद चोपडाले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै फिल्मको कथा लेख्न पाँच वर्ष लागेको स्विकारेका हुन् । ‘निर्माताका लागि कथा तयार गर्नु सजिलो कुरा होइन,’ फिल्मको टिजर सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले भने, ‘मैले अमिताभ बच्चन र फरहान अख्तरको चरित्र तयार पार्न पाँच वर्ष खर्च गरेँ, यो चरित्र निर्वाह गर्नुहुने कलाकारप्रति म आभारी छु ।’ चोपडाले अभिजात जोशीसँग मिलेर फिल्मको कथा लेखेका हुन् ।
‘यदि तपाईं हाम्रो फिल्म हेर्नुहुन्छ भने हामीलाई आफ्नो कहानी लेख्न पाँच वर्ष लाग्छ, यसैकारणले पनि हाम्रो फिल्म रचनात्मक स्तरको हुनेछ,’ चोपडाले भनेका छन् । सार्वजनिक टिजरमा फरहानलाई इन्स्पेक्टरको भूमिकामा देखिएको छ । उनी पहिलोपटक फिल्ममा प्रहरीको भूमिकामा प्रस्तुत भएका हुन् । फिल्ममा नील नकारात्मक भूमिकामा छन् ।
यसअघि फिल्मको नाम ‘दो’ राखिएको थियो तर कथाअनुसार नाम नमिलेपछि फिल्मको नाम ‘वजीर’ राखिएको हो । यो फिल्मका लागि फरहानले विशेष किसिमको तयारी गरेको समाचारमा जनाइएको छ । (एजेन्सी)
प्रतिक्रिया