काठमाडौं । विगतका वर्षझैँ यस वर्षपछि नेपाल चलचित्र प्राविधिक संघले फिल्म महोत्सव गर्ने भएको छ । आगामी असार महिनामा हुने महोत्सवका लागि संघले फिल्म दर्ता गर्ने प्रक्रिया सोमबारबाट सुरु गरेको छ ।
संघका अध्यक्ष मनोज केसीले भूकम्पपछि फिल्म क्षेत्रमा देखिएको अस्थिरता र सुस्ताएको माहोललाई अगाडि बढाउन महोत्सव गर्न लागिएको बताए । ‘हामी असारको अन्तिम साता महोत्सव गर्दै छौँ,’ उनले भने, ‘२०७१ साल वैशाख एक गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका फिल्मले महोत्सवमा सहभागिता जनाउन पाउनेछन् ।’ आयोजकका अनुसार महोत्सवमा फिल्म हेरिसकेपछि उत्कृष्ट पाँचको छनोट गरेर उनीहरूको नाम ‘आठौँ नेफ्टा फिल्म अवार्ड’मा पठाइनेछ । यसअघिका दुई अवार्ड समारोह मलेसिया र हङकङमा सफलताका साथ सम्पन्न गरेको नेफ्टाले आठौँ संस्करणको अवार्ड पनि मुलुक बाहिर नै गर्ने योजना बनाएको छ । संघका महासचिव अनन्त तिमिल्सिनाले महोत्सवबाट उठेको रकम ‘चलचित्र प्राविधिक संघ कल्याणकारी कोष’मा जम्मा गरिने बताए । (सौस)
प्रतिक्रिया