फेस्टिबल अफ ग्लोबमा नेपाली कलाकार

FOGकाठमाडौं । अमेरिकाको सन फ्रान्सिस्कोमा आगामी अगस्ट ७ देखि १६ गतेसम्म हुन लागेको ‘फेस्टिबल अफ ग्लोब (सनफ्रान्सिसको ग्लोबल मुभि फेस्ट)’ मा नेपाली कलाकारले पनि सहभागिता जनाउने भएका छन् । फेस्टिबलमा अभिनेता सुनिल थापा र अभिनेत्री तथा निर्मात्री पूजना प्रधान उपस्थित हुँदैछन् ।
द फेडेरेसन अफ इन्डो अमेरिकनले फेस्टिबल आयोजना गर्न लागेको हो । अभिनेता सुनिलका अनुसार उनले बलिउड फिल्म ‘मेरी कोम’ बाट उक्त फेस्टिबलमा सहभागिता जनाउँदैछन् । ‘मैले नेपाली फिल्मबाट सहभागिता जनाउन लागेको होइन, फेस्टिबलमा मैले मेरी कोमको प्रतिनिधित्व गर्न लागेको हुँ,’ उनले भने, ‘तर, त्यो बेला मेरो सुटिङको तालिका जुध्यो भने म जान पाउँदिनँ, त्यसकारण अहिले नै त्यो फेस्टिबलमा जान्छु या जान्न भन्ने कुरा भन्न सक्दिनँ ।’
त्यस्तै अभिनेत्री पूजना स्त्रीले पनि आफ्नो नाम फेस्टिबलमा परे पनि आफूले निर्माण गरेको फिल्म ‘चकलेट’ लाई मात्र फेस्टिबलमा पठाउने तयारी गरेको बताइन् । ‘यही समयमा यहाँ नेपालमै मेरो फिल्म रिलिज हुँदैछ, त्यसकारण कोही पनि त्यहाँ जान पाउँदैनन्,’ उनले भनिन्, ‘त्यही भएर हामीले फिल्म मात्र पठाउन लागेका हौँ ।’
यो फेस्टिबलमै नेपाली फिल्म ‘टाटा बाईबाई’ को पनि प्रदर्शन गरिनेछ । फेस्टिबलका सल्लाहकार बलिउड अभिनेता गुल्सन ग्रोभरका अनुसार फेस्टिबलमा ३० देशका कलाकारको सहभागिता हुनेछ । जसमा हलिउड, बलिउड र कलिउड प्रमुख छन् । फेस्टिबलमा सर्ट फिल्म, डकुमेन्ट्री र फिचर फिल्मको समेत प्रिमियर गरिनेछ । (सौस)

प्रतिक्रिया