काठमाडौं । संगीतसम्बन्धी प्रशिक्षण दिँदै आएको सुरशाला म्युजिक एकेडेमीले भूकम्पपीडित बनेका बालबालिकालाई संगीतमार्फत मनोवैज्ञानिक त्रास हटाउन संगीत शिक्षा अभियान सुरु गरेको छ । एकेडेमीले बालबालिकालाई उनीहरूको दिमागमा परेको नकारात्मक त्रास तथा भयलाई हटाउन जोसिला र शान्ति तथा राष्ट्रवादी शैलीका गीतहरू प्रस्तुतिसँगै नृत्यको अभियान सुरु गरेको हो ।
एकेडेमीका संस्थापक अमृत क्षेत्रीका अनुसार अभियानमा राष्ट्रियस्तरका कलाकारले पनि साथ दिएका छन् । १५ भन्दा बढी देशका बालबालिकादेखि वृद्धवृद्धासम्मलाई गायन, नृत्य र वाद्यवादनको प्रशिक्षण दिँदै आएको एकेडेमीको संगीत अभियान ललितपुरको झम्सीखेलदेखि काठमाडांै र भक्तपुरका विभिन्न स्थानमा पुगिसकेको छ । ‘हामीले अहिले म्युजिक थेरोपीको कक्षालाई १५ ठाउँका करिब २ हजार बालबालिकालाई दिइसकेका छौँ’, क्षेत्रीले भने, ‘संगीत थेरापीमा राष्ट्र प्रेमभावका, शान्ति र रमाइला गीतहरू नृत्यहरू प्रस्तुत गरेर उनीहरूलाई गाउन र नाच्न सिकाउने तथा उनीहरूसँगै गाउँदा र नाच्दा संगीतमार्फत उनीहरूमा सकारात्मक परिवर्तन हुनेमा हामी आशावादी छौँ ।’
एकेडेमीले प्रारम्भिक चरणमा थेरापी अभियानलाई उपत्यकामा केन्द्रित गरेको छ र समय अनुकूल यो अभियानलाई मोफसलमा पनि लैजाने योजना बनेको छ । अभियानमा एकेडेमीका विद्यार्थी प्रिसा, विभूषा भृकुटी, अनमोल, आर्यन, विराज, रमिता, सम्राट्, सम्वृद्धि, सुविन्द्र, मनोज, अजय, उमेश रिशु राज संलग्न छन् भने चर्चित गायक रामकृष्ण ढकाल, हेमन्त शर्मा, प्रमोद खरेल, आनन्द कार्की अमृत छेत्री, कोमल ओली, हिमाल सागर, कमल खत्री, डोल्मा शेर्पा, विनय केटु, ऋतु कँडेलले अभियानमा ऐक्यबद्धता जनाएका छन् । (सौस)
प्रतिक्रिया