कलाकारले दिए नयाँ घर

2पाँचखाल, (काभ्रे) । चिटिक्क परेको एउटा सानो घर, जसमा जस्तापातालाई गोलाकार छानाको रूपमा प्रयोग गरिएको छ । दुईतिर कतै इँटा त कतै बाँसका भाटाले भित्ता बनाइएका छन्, त्यही भित्ताको एक पाटामा एउटा झ्याल छ भने अर्को पाटोको बीचमा एउटा ढोका र ढोकाका छेउमा दुई झ्याल छन् । हेर्दा जोकोहीलाई पनि यो कुनै रेस्टुरेन्टको कटेजझैँ लाग्छ । तर, यो कुनै कटेज नभई भूकम्पपीडितका लागि बनाइएको नयाँ आकर्षक घर हो ।

यो घर कुनै सरकारी निकाय वा निजी संघसंस्थाले भने अवश्य बनाएका होइनन् । काभ्रेको पाँचखालस्थित रामपुर डाँडामा पुग्दा जोकोहीले पनि यस्तै किसिमका ४० वटा चिटिक्क परेका घर देख्छन् । गत वैशाख १२ गते गएको शक्तिशाली भूकम्पमा परेर घर ध्वस्त भएपछि यहाँका पीडितलाई नजिकिँदै गरेको वर्षायामलाई ध्यामनमा राखेर नेपाली फिल्म क्षेत्रमा कार्यरत युवा फिल्मकर्मीले यस्तै चिटिक्क परेको घर बनाइदिएका हुन् । भूकम्पको पीडामा मन दुखाइरहेका यहाँका बासिन्दालाई बुधबार यिनै घर हस्तान्तरण गरिरहँदा उनीहरूको मुहारमा निराशा होइन, चमक देखियो ।
पर्दामा वर्षौदेखि कलाकारलाई नियालिरहेका यहाँका स्थानीय आफ्नै आँखा अगाडि तिनै कलाकार आएर घर बनाउँदै आफैँलाई हस्तान्तरण गरिरहँदा खुसीले पुलकित बनेका थिए । युवा फिल्मकर्मीले बनाएको ‘हामी सबैका लािग’ अभियानअन्तर्गत ४ दिनमा ४० वटा अस्थायी घर बनाइदिएका थिए । ‘यो हाम्रा लागि अत्यन्त खुसीको कुरा हो, छोटो समयमा कम बजेटमै हामीले यति राम्रो घर बनाइदियौँ, अब यो घरलाई सम्हाल्ने जिम्मा तपाईहरूकै हो,’ अभियानका संयोजक सुरेशदर्पण पोखरेल भन्दै थिए,‘तपाईंहरूको आँसुलाई हामीले पुछ्ने काम मात्र गरेका हौँ, तपाईंहरूको बिजोगलाई हामीले टुलुटुलु हेरेर बस्न सकेनौँ ।’
स्थानीय बासिन्दासँग सहकार्य गरेर बनाइएका घर आफैँलाई जिम्मा लगाउँदै स्थानीयवासी पनि हर्षित थिए । ‘हामीले निकै दुःख गरेर आफ्नो घर बनाएका थियौँ । तर, त्यो घर भुइँचालोले भत्काइदियो, अहिले त्यही घरको छेउमा कलाकारले बनाइदिएको घरमा बस्न पाउँदा केही मात्रामा भए पनि मनमा सन्तोष मिलेको छ,’ स्थानीय रामबहादुर दनुवारले भने,‘अब हामीलाई अस्थायी रूपमै भए पनि ढुक्कका साथ बस्न सजिलो भएको छ, स्थायी घर विस्तारै आफँ बनाउनेछौँ ।’
अभियानकी सहसंयोजक केकी अधिकारीले आफूहरूले सानोतिनो रकम जुटाएर भए पनि भूकम्पपीडितलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । ‘हामी आफँै पनि भूकम्पबपीडित छौँ, तर, यो अवस्थामा पनि हामी तपाईंहरूको दुःख सम्झेर यहाँ आएर घर बनाइदिएका छौँ’, केकीले भनिन्,‘आशा छ, यो घर तपाईंहरूलाई अत्यन्त राम्रो तरिकाले सञ्चालन गर्नुहुनेछ ।’3
घर बनाउनकै लागि नायिका वेनिशा हमाल, सुरक्षा पन्त, मेलिना मानन्धर, वर्षा सिवाकोटी, नन्दिता केसी, नायक दिलीप रायमाझी, जीवन लुइँटेल, अनमोल केसी, यशराज, स्वतन्त्र प्रताप शाह, संगीतकार वसन्त सापकोटा, सरोज ओलीलगायत सक्रिय भए । कसैले आर्थिक सहयोग गरे त कसैले आर्थिकसँगै भौतिक सहयोग पनि गरे ।
स्थानीयवासीलाई घर हस्तान्तरण गर्न पुगेका सदावहार नायक भुवन केसी पनि कलाकारको काम र स्थानीयवासीको उत्साह देखेर दंग परे । ‘यहाँका स्थानीयका लागि कलाकारले सहयोग गर्ने कुरा सुन्दा म सकारात्मक भएँ, तर अहिले आफ्नै आँखा अगाडि तपाईंहरूलाई घर सुम्पन पाउँदा खुसीको सीमा नै छैन’, पुत्र अनमोलसहित कार्यक्रममा पुगेका केसीले भने, ‘अब अर्कोपटक आउँदा तपाईंहरू यसै घरमा बसेको हेर्न पाइयोस्, झन् अर्को वर्ष आउँदा त आफैँले बनाएको घर देख्न पाइयोस् ।’
युवा फिल्मकर्मीले बनाएका कारण घरहरूमा नम्बरसहित नेपालको पहिलो फिल्म ‘आमा’देखि पहिलो डिजिटल फिल्म ‘सानो संसार’सम्मका फिल्मको नाम राखिएको छ । संयोग नै मान्नुपर्छ, अधिकांश फिल्म अभिनेता भुवन केसीद्वारा अभिनीत नै छन् ।
अभियानका संयोजक पोखरेलले अब चाँडै नै गोरखामा एक सामुदायिक विद्यालय बनाउन आफूहरूले काम सुरु गर्ने जनाए । कार्यक्रममा स्थानीयलाई घरसँगै प्रत्येक घरका परिवारलाई एक बोरा चामल, दाल, नुन र ब्ल्यांकेट बाँडिएको थियो ।

प्रतिक्रिया