रहिनन् सुधा शिवपुरी

BAमुम्बई । भारतमा एकताका लोकप्रिय रहेको टेलिफिल्म ‘क्योंकि सास भी कभी बहू थी’ मा ‘बा’को भूमिकामा अभिनय गरेर आम दर्शकको मन जित्न सफल अभिनेत्री सुधा शिवपुरीको निधन भएको छ । उनको बुधबार निधन भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनको अँधेरी पूर्वस्थित क्रिटिकेयर मल्टिस्पेसलिटी हस्पिटल एन्ड रिसर्च सेन्टरमा निधन भएको हो । रंगमञ्च, फिल्म र टेलिभिजनकी ७७ वर्षीया अभिनेत्री सुधा लामो समयदेखि बिरामी थिइन् ।
उनको अन्तिम संस्कार ओशिवाराको श्रमशानघाटमा गरिएको छ । स्वास्थ्य समस्यादेखि ग्रसित भएपछि उनी लामो समयबाट छोटो पर्दाबाट अलग्गिएकी थिइन् । उनलाई २ डिसेम्बर २०१३ मा मुटुको समस्या देखिएको थियो । मुटुसँगै मस्तिष्कमा पनि समस्या परेपछि उनी लामो समयसम्म बोल्न सक्दिन थिइन् ।
सुधा स्वर्गीय अभिनेता ओम शिवपुरीकी पत्नी हुन् । ओमको १९९० को दशकमा निधन भएका थिए । सुधाको परिवारमा छोरा विनित र छोरी ऋतु छन् । ऋतु आफँै एक अभिनेत्री हुन्, जसले फिल्म ‘आँखे’मा अभिनय गरिसकेकी छन् । सुधाले आफ्नो अभिनय करियरको सुरुआत १९७७ मा बासु चटर्जीको फिल्म ‘स्वामी’ बाट गरेकी थिइन् ।
उनले ‘इन्साफ का तराजू’, ’हमारी बहू अल्का’, ‘पिन्जर’ जस्ता फिल्ममा अभिनय गरेकी थिइन् । यसबाहेक छोटो पर्दाका ‘रजनी’, ‘कसम से’, ‘किस देश मैं है मेरा दिल’ र ‘मणिबेन डट कम’ जस्ता सिरियलमा पनि अभिनय गरेकी थिइन् । (एजेन्सी)

प्रतिक्रिया