पीडितको सहयोगमा कलाकारका सन्तान

Daughterकाठमाडौं । वरिष्ठ अभिनेत्रीद्वय वसुन्धरा भुषाल र भुवन चन्द फिल्म ‘आमा’ बाट फिल्मी पर्दामा सँगै अभिनय सुरु गरेका कलाकार हुन् । फिल्मसँग सम्बन्धित कार्यक्रम होस् या अन्य सामाजिक काममा होस् सबै स्थानमा पुगिरहने यो जोडीको कामलाई उनीहरूका सन्तानले पनि निरन्तरता दिएका छन् ।
गत वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पबाट पीडित बनेकाहरूलाई सहयोग गर्न ‘हाँस्य साम्राज्ञी’ वसुन्धराकी छोरी प्रेरणा र प्रथम नायिका भुवनकी छोरी शीला सक्रिय भएर लागेका छन् । उनीहरूको विशेष संयोजनमा दुई अमेरिकी चिकित्सकसहितको टोलीले भूकम्पपीडितहरू रहेको स्थानमा पुगी स्वास्थ्योपचारसँगै राहत वितरणको कामलाई पनि निरन्तरता दिइरहेका छन् ।
टुरो ग्रयाजुएट स्कूल अफ टेक्नोलोजी न्यूयोर्कमा सहायक कार्यक्रम निर्देशकसमेत रहेकी प्रेरणाको संयोजनमा रिलिफ फर नेपाल एनवाइएनजे समूह बनाएर आएको राहत टोलीमा शीला चन्द र नम्रता श्रेष्ठ कोष संकलन प्रमुख तथा जनसम्पर्क अधिकृत रहेका छन् ।
टोलीमा अमेरिकी नागरिकहरू डा. ईमान मिलर र डा. ब्लादमिर फ्रिडम चिकित्सकका रूपमा छन् । उनीहरूका साथमा वसुन्धरा र उनका श्रीमान् चेतनारायण, भुवन, सुपथ सिटौलालगायतको सहभागिता रहेको छ । यो समूहले गंगालाल अस्पतालसहित अन्य स्वास्थ्य केन्द्रबाट प्राप्त औषधिसहित ५० हजार रुपैयाँ गत सोमबार माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई हस्तान्तरण गरेको छ ।
दुई समूहमा विभाजित राहत टोलीले सिन्धुपाल्चोकको दुवाचौरमा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै मेलम्चीका विभिन्न स्थानमा राहत सामग्री र औषधि आदि प्रदान गरिरहेको अभिनेत्री वसुन्धराले बताइन् । (सौस)

प्रतिक्रिया