७५ घर बनाउँदै परमशक्तिपीठ

Karishmaकाठमाडौं । भारतमा रहेको परमशक्तिपीठले राजधानीछेउको धर्मस्थलीस्थित चौगाउँका ७५ भूकम्पपीडितलाई राहतस्वरूप ७५ वटा घर बनाइदिने भएको छ । यो धार्मिक संस्थाले नेपालमा आफ्नो शाखा विस्तार गरेसँगै ती गाउँका मानिसलाई राहतस्वरूप घर बनाइदिन लागेको हो ।

नेपाली फिल्मकर्मीहरू सदस्य रहेको समितिले राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै ती गाउँमा घर बनाइदिने घोषणा गरेको हो । ‘हामी केही समयअघि मात्र उक्त ठाउँमा पुगेका थियौँ, त्यहाँको अवस्था निकै दर्दनाक लाग्यो, राजधानीनजिक रहेर पनि त्यहाँका मानिस पीडित रहेछन्,’ सेवा समितिकी संरक्षक साध्वी शिरोमणिले भनिन्, ‘त्यसकारण हामीले योजनाबद्ध किसिमले त्यहाँ सस्तो मूल्यमा लामो समयसम्म टिक्न सक्ने किसिमको घर बनाइदिनेछौँ ।’ चौगाउँ राजधानीबाट नौ किलोमिटर टाढा छ ।

समितिका अनुसार स्थानीय क्लब र स्थानीय बासिन्दाको सहयोग लिँदै १५ दिनको योजना बनाएर घर निर्माण गरिनेछ । ‘घरको प्रारम्भिक डिजाइन पनि तयार भइसकेको छ, हामी स्थानीय एवं घरकै पुराना सामग्री प्रयोग गरेर जस्तापाताबाट घर बनाउनेछौँ,’ समितिका सदस्य विनोद मानन्धरले भने, ‘हरेक दश घरका लागि एउटा छुट्टै शौचालय र स्नान कक्ष बनाउनेछौँ ।’ विनोदले घरको छानामा जस्तापाता प्रयोग गरिने र वरपर इँटाको प्रयोग गरिने जनाए । उक्त घरमा कोठा एउटा मात्र बन्नेछ जुन १२ गुणा १० को साइजमा हुनेछ । यसको लागत प्रतिघर ३५ हजार रुपैयाँ पर्नेछ, जसको टिकाउ अवधि १० देखि १५ वर्षको हुनेछ ।

समितिकी संयोजक सुहृदय परमानन्दले आफ्नो अभियानलाई साथ दिन आग्रह गरिन् भने सहसंयोजक करिश्मा मानन्धरले कलाकारले शुभकार्यमा साथ दिएर आफूहरूले समाज र काम गर्नेबीचमा पुलको काम गरिदिएको बताइन् । कलाकार दीपाश्री निरौलाले सबै पीडितको मुहारमा आफूहरूले खुसी दिन खोजेको दाबी गरिन् । अर्का सदस्य विनोद लीलाले गाउँलेले चाहेको सुविधा समितिमार्फत दिन तयार रहेको बताए ।

चौगाउँका प्रतिनिधि इन्द्रदोङ लामाले आफूहरूले गाउँलाई नमुना गाउँको रूपमा निर्माण गर्न लागेकाले कलाकारको काममा स्थानीयतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । नेपालमा गत वैशाख १२ गते महाभूकम्प गएपछि परमशक्तिपीठकी माता साध्वी ऋतम्भराले नेपाल भ्रमण गरेकी थिइन् । उनले हजार भूकम्प प्रभावित बालबालिकालाई परमशक्तिपीठले संरक्षण दिने घोषणा गरेकी छन् ।

सुहृदय परमानन्द संयोजक रहेको नेपाल परमशक्तिपीठ नेपाल सेवा समितिमा करिश्मा मानन्धर सहसंयोजक छिन् भने विनोद मानन्धर, प्रकाश सुवेदी, बाबुराम दाहाल, कोमल वली, दीपाश्री निरौला, झरना थापा, दीलिप रायमाझी, आकाश अधिकारी, महेश मोदी, महेश मित्तल, गोपाल अग्रवाल, विजय चौधरी, सावरमल अग्रवाल र विनोद लीला सदस्य छन् । (सौस)

प्रतिक्रिया