दाङमा निःशुल्क गाउँदै राहत संकलन

Santoshदाङ । पैसा लिएर सांस्कृतिक कार्यक्रम तथा महोत्सवमा पुग्ने कलाकारहरू निःशुल्कमा गीत गाउँदै राहत संकलन अभियानमा जुटेका छन् ।

दाङ देउखुरी तथा राप्ती अञ्चलभित्र बसोबास गर्ने स्थानीय एवं केन्द्रीयस्तरका कलाकारहरू संयुक्त रूपमा राहत संकलन अभियानमा जुटेका हुन् ।

‘देश पीडामा गुज्रिरहेको अवस्थामा हामीले पनि केही राहत जुटाउन सक्छौँ भन्ने उद्देश्यले गीत गाउँदै हिँडेका हौँ,’ संगीतकार एवं गायक यादवनाथ योगीले भने, ‘भूकम्पपीडितको घाउमा मह्लम लगाउन हामी केन्द्रित भएका छौँ, जसले जहाँबाट सक्छ त्यहीँबाट यस्तो अवस्थामा सहयोग गर्नुपर्छ ।’

अर्का चर्चित गायक तथा संगीतकार सन्तोष श्रेष्ठ पनि राहत संकलन अभियानमा सक्रिय छन् ।

‘देश विदेशबाट सहयोग आइरहेको अवस्थामा हामीले पनि आफ्नो कला गला पीडितका लागि खर्चिएका छौँ,’ उनले भने, ‘कलाकारहरू पनि पीडितको पक्षमा छन्, उनीहरूलाई पनि यो पीडाको बोध भएको छ ।’

गीत गाउन र मोडलिङमा व्यस्त सन्दीप न्यौपाने पनि भूकम्पपीडितहरूलाई राहत संकलन गर्दै जिल्लाका विभिन्न स्थानमा पुगिरहेका छन् । अभियानमा गायक खड्क बुढा, लिलावती बुढा, सन्तोष श्रेष्ठ, यादवनाथ योगी, सन्दीप न्यौपाने, कमल गाउँले, कृष्ण रेउले, गीता रेउले, देवकला बस्नेत, गोविन्दमधुर आचार्य, सन्तोष पौडेललगायतका छन् । राप्ती साहित्य तथा सांस्कृतिक प्रतिष्ठानले अभियानको आयोजना गरेको हो । (सौस)

प्रतिक्रिया