बालबालिकालाई सांगीतिक कार्यक्रम

Singerकाठमाडौं । महाभूकम्पबाट पीडित बनेका बालबालिकामा देखिएको मानसिक तनावलाई कम गराउन सुरशाला म्युजिक एकेडेमीले उपत्यकाका विभिन्न स्थानमा रहेका शिविरमा पुगी ‘बालमैत्री सांगीतिक कार्यक्रम’ सञ्चालन गरेको छ । गायक तथा एकेडेमीका संस्थापक अमृत क्षेत्रीको नेतृत्वमा रहेको टोलीले पीडित बालबालिकालाई संगीतको माध्यमबाट तनावदेखि मुक्त राख्न कार्यक्रम सञ्चालन गरेको हो ।
१५ भन्दा बढी देशका बालबालिकादेखि युवा हुँदै वृद्धवृद्धालाई समेत संगीतका विविध विधामा प्रशिक्षण दिँदै एकेडेमीले ललितपुरको झम्सिखेलदेखि काठमाडौं र भक्तपुरका विभिन्न स्थानका भूकम्पपीडित बालबालिकामाझ पुगेर मनोरञ्जनात्मक कार्यक्रम चलाइरहेको छ । अमृतका अनुसार हालसम्म झम्सिखेल, भैँसीपाटी, खोकना, बुङ्मति, टुँडिखेलमा रहेका करिब पाँच सय बढी बालबालिकामाझ सांगीतिक कार्यक्रम प्र्र्रस्तुत भइसकेको छ । अमृतले कार्यक्रममा गायक रामकृष्ण ढकाल, हेमन्त शर्मा, अमृत छेत्री, नरहरि प्रेमी, कमल खत्री, डोल्मा शेर्पा, रानी ढकाल, ध्रुव तामाङले साथ दिएको बताए ।
‘सांगीतिक यात्राको मुख्य उद्देश्य बालबालिकाहरूलाई जोसिला, रमाइला, शान्ति र राष्ट्र भाव बोकेका गीत सिकाएर, सुनाएर, गाउन लगाएर उनीहरूको मानसिक पी्रडालाई भुलाउने प्रयास गर्छौँ,’ क्षेत्रीले भने । (सौस)

प्रतिक्रिया