घर हेर्दै कलाकारको त्रिपाल बास

Deepa-Shreeकाठमाडौं । गत वैशाख १२ गते गएको महाभूकम्पपछि आएका साना पराकम्पनसँगै केही ठूला धक्काले आममानिसको जनजीवनमा नराम्रो असर परिरहेको छ । भूकम्पको त्राससँगै केही समयअघि मानिसको जनजीवन सामान्य अवस्थामा फर्कंदै गर्दा गत मंगलबार गएको ठूलो कम्पनले घरमा बसिरहेका मानिस पुनः खुला स्थानमा त्रिपालमुनि आश्रित बनेका छन् । लगातारको कम्पनले फिल्मकर्मी तथा कलाकारहरू पनि घरमा बस्न डराएर त्रिपाललाई छत बनाएर बसिरहेका छन् ।

राजधानीको मीनभवनस्थित शान्तिनगरमा बस्दै आएका फिल्म निर्माता, प्रदर्शक तथा वितरक प्रदीप उदय बारम्बारको भूकम्पको कम्पनले गर्दा घरकै छेउमा टेन्ट राखेर बसिरहेका छन् । ‘कम्पन आइरहे पनि घरमै बस्ने सोच बनाएका थियौँ, तर छोरीहरू घरमा बस्न डराएपछि हामी घरसँगै जोडिएको खुला स्थानमा टेन्ट टाँगेर बसिरहेका छौँ,’ उनले भने, ‘व्यवस्थित तरिकाले बसेकाले केही समस्या भोगेका छैनौँ, सबै परिवार एकै ठाउँ भएकाले समस्याभन्दा पनि रमाइलो बढी हुँदो रहेछ ।’ गत वैशाख १२ गतेको महाभूकम्पपछि करिब पाँच दिनसम्म बाहिर बसेका प्रदीप र उनको परिवार बीचको समयमा घरमै बसेका थिए । ‘तर, मंगलबारको झट्काले फेरि टेन्टमुनि बस्न बाध्य बनाएको छ,’ उनले खुलाए, ‘अझ अरू दिन कति समय बस्नुपर्ने हो, केही टुंगो छैन ।’
चर्चित कमेडीयन दीपकराज गिरी पनि सिनामंगलमा रहेको घरअगाडि त्रिपालमुनि बस्दै आएका छन् । ‘हाम्रो परिवारमा कोही भुइँतलामा छन् त कोही आगनमा त्रिपाल टाँगेर बसिरहेका छन्, म चाहिँ पालमै बसेको छु,’ दीपकले सुनाए, ‘पालमा बस्नुलाई मैले त सकारात्मक लिएको छु, अहिले हामीलाई ठूलो भवितव्य आइपरेको छ, जे हुनुछ त्यो भइहाल्छ, यो बेला डराउने होइन, होसियार हुने हो ।’ दीपकले महाभूकम्पले नेपालीको वास्तविकतालाई उजागर गरेको दाबी गरे । ‘हामी आफ्नो घर कति राम्रो भनेर माया गथ्र्यौं र त्यहीअनुसार घर पनि बनाउँथ्यौँ,’ उनले प्रष्ट्याए, ‘तर, अहिले आएर जुन बस्तुलाई सुरक्षाका लागि बनाइएको मान्थ्यौँ, त्यो नै अहिले असुरक्षित भएको छ ।’
वैशाख १२ गते महाभूकम्प आउँदा अभिनेता अनुपविक्रम शाही फिल्म ‘ठमेल डटकम’ को सुटिङका लागि पोखरा जाँदै थिए । पोखरा पुग्न नपाउँदै बीच बाटैमा उनले भूकम्पलाई नजिकबाट नियाले । ‘त्यो रात पोखरामै बित्यो, भोलिपल्ट चाहिँ म काठमाडौं आएर पालमा बसेँ, पालको बसाइँ निकै पीडादायी हुँदो रहेछ, बेडमा सुतेको मान्छे एक्कासी भुइँमा सुत्दा कस्तो हुन्छ, तपाईं आफँै अनुमान लगाउनुहोस् त’ फिल्म ‘हँसिया’ डेब्यु अभिनेताले भने, ‘हामीले भन्दा अन्यले धेरै दुःख पाएका छन्, त्यसकारण अरूको दुःखलाई आफ्नो दुःख जस्तै सम्झेर पालमुनि बसिरहेको छु ।’ सुरुमा आफूलाई डर लागे पनि अहिले भने डर मरिसकेको उनले बताए । ‘मर्न नै लेखेको छ भने जे गरे पनि मरिन्छ, अहिले त दिमागले पनि राम्ररी काम गर्न सकेको छैन,’ उनी खुले, ‘भूकम्प आएदेखि घरमा खासै बस्न सकेको छैन ।’ अनुप अनामनगरमा बस्छन् ।

राजधानीको गौरीघाटमा परिवारसँग बस्दै आएकी पुरानी अभिनेत्री तथा फिल्म सेन्सर बोर्डकी सदस्य मेलिना मानन्धर पनि भूकम्प आएदेखि घरअगाडिको आँगनमा बस्दै आएकी छन् । ‘अहिले म घरअगाडि त्रिपाल टाँगेर छोरीसहित परिवारसँग बस्दै आएकी छु,’ मेलिना भन्छिन्, ‘घरमा बस्दा भुइँचालोले मार्ला भन्ने पीर र त्रिपालमा बस्दा चाहिँ पानीले मार्ला भन्ने पीर हुँदो रहेछ ।’ छोरीका लागि घरमा खाना बनाउन जाँदा पनि उनलाई डर लाग्दो रहेछ । ‘तर डराएर पनि के गर्नु, बच्चाको ख्याल पनि त गर्नुप¥यो ।’ उनका पति अभिनेता मुकेश ढकाल हाल अमेरिकामा छन् ।
राजधानीको गौशालामा बस्दै आएका निर्माता तथा अभिनेता सुनिल रावल केही दिन अघिदेखि मात्र घरमा बस्न थालेका छन् । ‘तीन÷चार दिन त त्रिपाल टाँगेर बाहिर खुला स्थानमै बसियो, हामी टोलका ६ जना एकै ठाउँ बस्यौँ, घरमा बसेजस्तो सजिलो त हुँदो रहेनछ,’ सुनिलले भने, ‘महाविपत्ति आएपछि धेरै मान्छेको अहमता पनि तोडिँदो रहेछ, धनी र गरिब एकै ठाउँमा आएर बसेको पनि देखियो ।’ पालमा बस्दा त्रासभन्दा पनि रमाइलोको अनुभव सुनिलले बढी लिएका रहेछन् । मंगलबारको भुइँचालोपछि उनी अहिले घरमै बसिरहेका छन् । यो दिन उनी सिन्धुपाल्चोकको दुर्गम गाउँमा राहत बाँड्न पुगेका थिए । ‘त्यहाँ हुँदा भूकम्प आएपछि सिंगो पहाड नै खसेको थियो, ठाउँ–ठाउँमा पहिरो पनि गयो,’ उनले भने, ‘मृत्युलाई नजिकबाट नियालेर फर्किएँ ।’ भूकम्प आएको समयदेखि नै बिरामी भएका सुनिल सामान्य औषधि खाएर राहत वितरणमा सक्रिय छन् ।
कमेडियन दीपाश्री निरौला पनि नयाँबानेश्वरस्थित निजी निवासको भुइँतलामा परिवारसँग बस्दै आएकी छन् । ‘कहाँ जानु, के गर्नु म त दिक्क भइसकेँ,’ निराश हुँदै दीपाले भनिन्, ‘घर भएर के गर्नु ? अहिले आफ्नो औकातमा आइसकियो ।’ उनले दुई वर्षअघि त्यहाँ घर किनेकी थिइन् । अभिनेता आर्यन सिग्देल भुइँचालो आए पनि महाराजगञ्जको फ्ल्याटमा बस्दै आएका छन् । ‘भुइँचालोसँग डराएर के गर्नु,’ उनले भने, ‘भुइँचालो आएको बेला बाहिर निस्कन्छु, नभए कोठामै सुत्छु ।’ त्यसो त कमेडियन केदार घिमिरे ‘माग्ने बुढा’, अभिनेत्री करिश्मा मानन्धर, अभिनेता श्याम अर्याललगायतका कलाकार पनि भूकम्पको त्रासमा घरबाहिर बसिरहेका छन् ।

प्रतिक्रिया