लुम्बिनी प्रवर्द्धनका लागि बजेट छैन

काठमाडौं, २ वैशाख । सरकारले सन् ०१२ लाई लुम्बिनी भ्रमण वर्षका रूपमा घोषणा गरेको ६ महिना बितिसक्दा पनि अहिलेसम्म यसको प्रचारप्रसार सुरु हुनसकेको छैन । बजेट निकासा नभएका कारण लुम्बिनीको प्रवर्द्धन हुन नसकेको हो ।
लुम्बिनी विकास कोषका सदस्य सचिव राजेन्द्र थापामगर सरकारले लुम्बिनी भ्रमण वर्षलाई कुनै प्राथमिकता नदिएको बताउँछन् । ‘गत वर्ष मनाइएको पर्यटन वर्षका लागि २३ करोड रुपियाँ छुट्याइयो, लुम्बिनी भ्रमण वर्षलाई बजेट दिन कुनै चासो छैन,’ थापाले भने । लुम्बिनी भ्रमण वर्षको घोषणालगत्तै कोषले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचारप्र्रसारका लागि सरकारसँग ११ करोड रूपियाँ बजेटसहितको कार्यक्रम पेस गरेको थियो । तर, कोषको सो कार्यक्रम स्वीकृत हुन सकेन । त्यसपछि कोषले पुनः पाँच करोड रुपियाँको कार्यक्रम बनाएर संस्कृति मन्त्रालयसँग बजेट माग गरेको थियो । थापाका अनुसार कोषले अहिलेसम्म भ्रमण वर्षका लागि कुनै रकम पाएको छैन ।
संस्कृति मन्त्रालयका सचिव ताना गौतमले कोषको प्रस्तावलाई अर्थ मन्त्रालयमा पठाए पनि अर्थले कुनै वास्ता नगरेको बताए । गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय समुदायमा प्रचार गरी बौद्ध धर्मावलम्बीलाई नेपाल भित्र्याउने अभियान बजेटका कारण रोकिन नहुनेे उनको भनाइ छ । ‘जुन उत्साहका साथ अभियानको घोषणा भयो, त्यसअनुसार बजेट र कार्यक्रम छैन,’ गौतमले भने । गैरबजेटरी कोषबाट दुई करोड रुपियाँ विनियोजन गरिदिन आग्रह गरिएको भए पनि अर्थले एक करोड ५० लाख मात्र दिने जानकारी गराएको उनले बताए ।
लुम्बिनी भ्रमण वर्ष मनाउन प्रधानमन्त्रीको संयोजकत्वमा एक सय आठ सदस्यीय मूल समिति गठन गरिएको छ । त्यस्तै संस्कृतिमन्त्रीको संयोजकत्वमा १३ सदस्यीय छुट्टै समिति छ । लुम्बिनीमा १० लाख विदेशी पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्यसहित सरकारले गत कात्तिक २ गते  लुम्बिनी भ्रमण वर्षको घोषणा गरेको थियो । भारत, चीन, जापान, थाइल्यान्डलगायतका मुलुकबाट बौद्धमार्गी पर्यटक भित्र्याउनेे सरकारी लक्ष्य छ ।
लुम्बिनी क्षेत्रको अन्तर्राष्ट्रियरूपमा प्रचारप्रसार गरी लुम्बिनीमा पूर्वाधार विस्तार गर्न भन्दै भ्रमण वर्ष घोषणा गरिएको भए पनि यसका लागि बजेट नभएको कोषको भनाइ छ । सदस्य सचिव थापाका अनुसार कोषले आफ्नै स्रोतबाट भ्रमण वर्ष उद्घाटन तथा आन्तरिक गृहकार्यको लागि २० लाख रुपियाँ खर्च गरिसकेको छ ।
हाल विश्व वन्यन्तु कोष -डब्लुडब्लुएफ) को पाँच लाख र लुम्बिनीस्थित होटल कसाइको १० लाख रुपियाँको सहयोगमा लुम्बिनी क्षेत्रभित्रको एक सय आठ स्थानमा ‘माइलस्टोन’ बनाउने काम भइरहेको उनले जानकारी दिए । सरकारले लुम्बिनीमा पूर्वाधार विकासमा सहयोग गर्ने हो भने मात्र धार्मिक पर्यटक बढाउन सकिने कोषको भनाइ छ । हाल लुम्बिनी क्षेत्रमा करिब दुई दर्जन मात्र पर्यटकीय स्तरका होटल छन् । १० लाख पर्यटकीय क्षमता विस्तार गर्नुपर्ने पर्यटन व्यवसायी बताउँछन् ।

प्रतिक्रिया