काठमाडौं । विभिन्न संघसंस्था तथा आफ्नो पहलमा जम्मा भएका राहत सामग्री वितरणमा कलाकारहरू सक्रिय भइरहे पनि आफूले स्वस्फूर्त रूपमा कोही पनि कलाकारले आर्थिक रकम भूकम्पपीडितका लागि घोषणा गर्न सकेका छैनन् । राहतकै लागि कलाकारको दौडधूप भइरहेका बेला महाभूकम्पपछि अमेरिकाबाट नेपाल आएका अभिनेता जीवन लुइँटेलले भूकम्पपीडितलाई ५१ हजार रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका छन् ।
जीवनका अनुसार उनले चलचित्र विकास बोर्डसँग सहकार्य गर्दै चलचित्रकर्मीले तयार पारेको ‘चलचित्रकर्मी मानव तथा भौतिक क्षति विवरण संकलन तथा सहयोग वितरण समन्वय समिति’ को कोषमा जम्मा हुने गरी आर्थिक सहयोगको घोषणा गरेका हुन् । ‘नेपालमा यस्तो विपत्ति आउँदा म चुप लागेर बस्न सकिनँ, त्यसकारण अमेरिकाबाट तुरुन्तै नेपाल फर्र्किएँ,’ उनले भने, ‘म आफ्नो पहलमा विभिन्न स्थानबाट ल्याएका राहतलाई गाउँका पीडितमाझ पु¥याउने काममा सक्रिय हुनेछु ।’
जीवनले आफ्नै पहलमा भारतको चर्चित कम्पनी बालाजी फिल्म्सबाट १० लाखबराबरको खाद्यान्न नेपालका भूकम्प प्रभावितहरूका लागि उपलब्ध गराएका छन् । बालाजी फिल्म्समा कार्यरत नेपाली रवि भट्टराईसँग पीडितका लागि केही गर्न सकिन्छ कि भन्ने कुरा भए पनि भट्टराईले त्यहाँ कार्यरत नेपाली प्राविधिकहरूसँग छलफल गरी करिब १० लाख रुपैयाँबराबरको राहत संकलन गरेको जीवनले बताए । ‘ती सबै खाद्यान्न कलंकीमा आइपुगेपछि बुधबारबाट वितरणको काम सुरु गर्नेछौं,’ उनले प्रष्ट्याए, ‘मैले सहयोग गर्ने रकम भूकम्पबाट प्रभावित चलचित्रकर्मी, पत्रकारका लागि सहयोग गर्नेछु ।’
जीवनका अनुसार फिल्म ‘भुल भूलैया’ का निर्माता दिनेशकुमार पोख्रेलले एक लाख एक हजार र ‘ठूली’ का निर्माता पुष्कर पन्तले ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । (सौस)
प्रतिक्रिया