दुई रंग पत्रकारको घर क्षतिग्रस्त

काठमाडौं । महाभूकम्पका कारण दुई चलचित्र पत्रकारको घर क्षतिग्रस्त भएको छ । भूकम्पका कारण राजधानीनजिकै रहेको रामकोट गाविसमा बस्ने पत्रकार कुवेर गिरी र राजधानीको असनमा बस्ने पत्रकार विजयरत्न तुलाधरको घरमा क्षति पुगेको छ ।
पत्रकार कुवेरको घर भत्किएसँगै चर्किएपछि उनको परिवार घरनजिकै रहेको बारीमा पालमुनि आश्रित छ । ‘घर बस्न सक्ने अवस्थाकै छैन, माटो र ढुंगाले बनेका कारण पनि घर क्षतिग्रस्त बनेको छ,’ उनले भने, ‘भूकम्प गएदेखि हामी बारीमा बसिरहेका छौं, घर बाहिरबाट चर्किएको देखिए पनि भित्री रूपमा पूर्ण क्षतिग्रस्त छ ।’ कुवेरसँगै उनको गाउँका करिब ९० घरपरिवार भूकम्पको चपेटामा परेका छन् ।
त्यस्तै वरिष्ठ पत्रकार तुलाधरको असनको घरको पछाडिको दुई तला क्षतिग्रस्त भएको छ । ‘घर चर्किएसँगै पछाडिको दुई तला लडेपछि हामी कोही पनि बस्न सकेका छैनौं,’ विजयले भने, ‘घरमा रहेका पुराना पत्रिका तथा ऐतिहासिक किताब निकाल्न नपाउँदा अत्यन्त दुःख लागेको छ, त्यहाँ गएर सामान निकाल्न सक्ने अवस्था पनि छैन ।’ भूकम्पको मारमा परेपछि विजयको परिवार केही दिन छिमेकीकोमा बसे पनि अहिले भने उनी ससुरालीमा आश्रित छन् । (सौस)

प्रतिक्रिया