काठमाडौं, १९ वैशाख । भूकम्पमा परी घाइते भएकी तेक्वान्दो राष्ट्रिय टोलीकी कप्तान मनिता शाहीले आफू ठिक हुनेबित्तिकै भूकम्पपीडितको सहयोगमा सक्रिय रहने बताएकी छिन् । डल्लु निवासी मनिताले गत शनिबार भूकम्प गएपछि भाग्न खोज्दा गोडामा चोट बोकेकी थिइन् । पहिलेदेखि नै ढाडसम्बन्धी समस्याले ग्रसित मनिता अहिले आराम गरेर बसेकी छिन् ।
तेक्वान्दोका प्रायः खेलाडी र प्रशिक्षक भूकम्पपीडितको सहयोगमा सक्रिय भएको खबरले खुसी लागेको बताउँदै मनिता भन्छिन्, ‘मेरा सबै साथी विपत्तिमा पर्नेको सहयोगमा जुट्नुभएको छ । मेरो चोट त्यत्ति गम्भीर होइन । यसकारण अन्य आपतमा परेकाहरूको सहयोगमा जुट्नु भएकोमा मलाई खुसी लागेको छ,’ उनले भनिन्, ‘देशभर परेको विपत्तिको समयमा म आफैँ चोट बोकेर बसेकी छु । मलाई विश्वास छ, म केही दिनमै ठीक हुनेछु । त्यसपछि तपाईंहरूकै सहयोगमा जुट्नेछु ।’
मनिता ठीक हुनेबित्तिकै राष्ट्रिय टोलीका खेलाडीसँग भेटेर विपत्मा पर्नेको सहयोगमै सक्रिय हुने बताइन् । काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव कुमार घिसिङ र पुलिस क्लब निकट खेलाडीसँग मात्र आफू घाइते भएको कुरा भएको उनले बताइन् । ‘संघसँग पनि सल्लाह गर्न सायद एक दुई दिनमै म उठ्न सक्छु होला ।’ मनिता त्यसको लगत्तै संघ र सबै खेलाडीसँग सल्लाह गरेर अघि बढ्ने बताउँछिन् । त्यसो त तेक्वान्दोसँग आबद्ध प्रायः सबै राहत वितरण, उद्धार र आर्थिक सहयोगमा व्यस्त छन् । उनी भन्छिन्, ‘म बिमारी भए पनि तेक्वान्दो परिवारले सबै भूकम्प पीडितलाई गरेको सहयोगले म खुसी छु । सबै साथीहरूको भूमिका यस्तै रहन्छ भन्ने विश्वास छ ।’
प्रतिक्रिया