देशको पीडाबाट चिन्तित छु : पूर्वराजा

Ex-King-Gyanendraकाठमाडौं, १७ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा आएको दैवी विपत्तिबाट चिन्तित भएको बताएका छन् । उनले मुलुकको महाविपत्तिलाई सबै मिलेर सामना गर्नुपर्ने बताए ।

भारतको नयाँदिल्ली जानुअघि बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभेच्छुकसँग पूर्वराजा शाहले तत्काल स्वदेश फर्र्किएर आफ्नो तर्फबाट हुने सहयोग गर्ने आश्वासन दिएका हुन् । ‘मुलुकमा आएको भूकम्पको विनाशबाट मर्माहत भएको छु’, पूर्वराजा शाहलाई उद्धृत गर्दै उनका सहयोगी फडी पाठकले भने, ‘नयाँदिल्लीबाट म छिट्टै फर्कने छु । र, सक्दो सहयोग गर्नेछु ।’
पूर्वरानी कोमल शाहको नयाँदिल्लीमा उपचार हुन लागेकाले उनी बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन् । पूर्वरानी कोमलको शल्यक्रियाका लागि बुधबार अस्पताल भर्ना गरिएको पाठकले जानकारी दिए । ‘पूर्वबडामहारानीको शल्यक्रिया हुनेबित्तिकै स्वदेश फिर्ता होइबक्सन्छ’, पाठकले भने, ‘उहाँलाई देशको चिन्ता छ ।’ यसअघि भूकम्पबाट भएको नोक्सानीको जानकारी लिन र सर्वसाधारणलाई हौसला प्रदान गर्न पूर्वराजा शाह आफंै सडकमा निस्किएका थिए । उनले राजधानीका विभिन्न स्थानको भ्रमण गरी भूकम्पबाट भएको नोक्सानीको जानकारी लिएका थिए ।
पूर्वराजपरिवारबाट पीडितलाई राहत प्रदान
यसैबीच, पूर्वराजपरिवारले हिमानी ट्रस्टमार्फत भूकम्पपीडितलाई राहत प्रदान गरेको छ । ट्रस्टले भक्तपुर क्षेत्रका पीडितका लागि सरकारमार्फत राहत पठाएको हो ।
देशमा परेको विपत्तिमाथि गहिरो दुःख व्यक्त गरेको ट्रस्टले भक्तपुर क्षेत्रका स्थानीय बासिन्दाका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरमा राहतका सामान बुझाएको कोषकी कार्यालय सचिव विजया राणाले जनाएकी छिन् ।
कोषले पाँच सय किलो चामल, दुई सय पचास किलो दाल, डेक्ची, कराही, थाल, डाडु, पन्यू, गिलास तथा महिला र पुरुषका १–१ जोर कापडासहित २ सय ५० थान पोका र २ सय ५० थान त्रिपाल उपलब्ध गराएको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया