नेकोस कप तेक्वान्दोमा निशेष पहिलो

taekwondo-newsकाठमाडौं, ११ वैशाख । काठमाडौंका निशेष मिर्चिङ मगरले तेस्रो नेकोस जुनियर राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बिहीबार स्वर्ण हात पारेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ५९ केजीमुनि फाइनलमा निशेषले बर्दियाका विष्णुराज बुढाथोकीलाई पराजित गरे ।

पुरुषको ४५ केजी मुनि भक्तपुरका विवेशभक्त भट्टराई पहिलो भए । उनले फाइनलमा ललितपुरका सुशील राना मगरलाई हराए । ५१ केजीमुनि चितवनका प्रसंग कायश्थले बर्दियाका अरुण बस्नेतको चुनौती समाप्त पार्दै शीर्ष स्थान कब्जा गरे । नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय तेक्वान्दो संघ, नेपालद्वारा आयोजित प्रतियोगिताको पेयर पुम्सेमा ७९.६३ अंकसाथ काभ्रेका अस्मित रेग्मी र विनिता तामाङ पहिलो तथा ७८.३३ अंकसाथ सुनसरीका सिना मादेन र अर्जुन सुनुवारको जोडी दोस्रो भए ।
महिलाको टिम पुम्सेमा अस्मिता खड्का, विनिता तामाङ र गरिमा घिमिरेको काभ्रे टोली पहिलो भयो । उक्त टोलीले ७६.५३ अंक जोड्यो । त्यसै स्पर्धाको पुरुषमा अमित शाही, छिरिङ तामाङ र सुबोध खड्का सम्मिलित काभ्रे टोली नै पहिलो स्थानमा रह्यो । उनीहरूले ७५.१६ अंक बटुले ।
प्रतियोगिताको नेकपा एमालेका महासचिव इश्वर पोखरेलले एक कार्यक्रमबीच
उद्घाटन गरे । प्रतियोगिता शनिबारसम्म चल्नेछ । (सौस)

प्रतिक्रिया