काठमाडौं । खाडी मुलुकमा रोजगारीका लागि जाने युवाहरूले भोग्ने समस्यालाई प्रस्तुत गरिएको फिल्म ‘राहदानी’ आगामी जेठ २९ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । फिल्मका प्रस्तुतकर्ता लक्ष्मीप्रसाद ढकालका अनुसार फिल्मलाई काठमाडौंमा पपकर्न र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ ।
सञ्चारकर्मी डब्बु क्षेत्रीको डेब्यु निर्देशन रहेको फिल्मका लेखक पनि उनी नै हुन् । ‘खाडी मुलुकमा वैदेशिक रोजगारीमा रहेको नेपाली युवाले पठाएको रेमिट्यान्सले मुलुकको कुल ग्राहस्थको २५ प्रतिशत सघाउ पु¥याएको छ । तर, उनीहरूले भोगिरहेको कयौँ समस्याप्रति सरकारको बेवास्ता छ,’ निर्देशक क्षेत्रीले भने, ‘वैदेशिक रोजगारका यस्ता कयौँ समस्यालाई यो फिल्ममा समेटिएको छ । वैदेशिक रोजगारमा जाँदा घरदेखि विदेशसम्म नेपाली कामदारले भोग्न समस्यामा फिल्म केन्द्रित छ ।’
फिल्मले काठमाडौं र मोफसलमा गरेर डेढ दर्जनबढी स्थानमा विभिन्न संघसंस्थाको सहयोगार्थ च्यारिटी सो गरिसकेको छ । निर्देशक क्षेत्रीले च्यारिटी सोमा सहभागी दर्शकबाट आपूmहरूले फिल्मको बारेमा निकै राम्रो प्रतिक्रिया पाएको दाबी गरे ।
फिल्ममा चण्डिप्रसाद श्रेष्ठ, कृष्णचन्द्र झा, रियाना पात्रबंशीको लगानी रहेको छ । दयाहाङ राई, रुपा खनाल, अशोक रिजाल, नविन लम्साल, सृजना सुब्बा, मोनिका दाहाल, फुपुतेन्जिङ शेर्पा, विकाश जोशी, दिनेश दुलाल, अस्मिता बस्नेत, विधा कार्की, लक्ष्मण बिक्रम बस्नेत र विनिता घिमिरेलगायतको अभिनय रहेको फिल्ममा रिमा विश्वकर्माको आइटम डान्स रहेको छ ।
फिल्ममा राजु शाहको नृत्य, वसन्त सापकोटा, चेतन सापकोटा, जुगल डंगोल र गैरे सुरेशको संगीत, बनिश शाहको सम्पादन, रामशरण उप्रेतीको छायांकन रहेको छ । (सौस)
प्रतिक्रिया