शिवराम र भुवनको अग्रता

Gulf-nepalकाठमाडौ, १० वैशाख । गोकर्ण गल्फ क्लबमा भएको सूर्य नेपाल एनपिजिए गल्फ टुरअन्तर्गत तेस्रो चरणको खेलमा भुवन नगरकोटी र नेपाल नम्बर १ प्रोफेसनल खेलाडी शिवराम श्रेष्ठले संयुक्त रूपमा अग्रता लिएका छन् ।

गोकर्ण गल्फ क्लबमा भएको पार ७२ को खेलमा भुवनले तीन ओभर ७५ स्कोर र शिवरामले एक ओभर ७१ स्कोर गर्दै कुल सात अन्डर २०९ स्कोर कार्ड बनाए । तेस्रो स्थानमा उक्लेका विष्णु शर्माले एक ओभर ७३ स्कोर गर्दै कुल २१० स्कोर कार्ड जोडे । एक ओभर ७३ स्कोर गरेका सूर्यप्रसाद शर्माले कुल तीन अन्डर २१३ स्कोर कार्ड गर्दै चौथो स्थानमा रहे ।
धरानका बलभद्र राई इभन पार ७२ कार्ड बनाउँदै दीपक थापासँग पाँचौँ स्थानमा रहे । आजको खेलमा चार अन्डर ६८ स्कोर गर्दै कुल एक अन्डर २१५ स्कोर गरे ।
इभन पार २१६ स्कोर गरेका रमेश अधिकारी (७३), सन्जय लामा (७३) र रामे मगर (७२) स्कोरका साथ समान रूपमा सातौँ स्थानमा रहे । इभन पार ७२ गर्दै उत्कृष्ट १० भित्र रहेका दिनेश प्रजापतीले कुल दुई ओभर २१८ स्कोर कार्ड बनाए ।
एमेच्योरतर्पmको खेलमा पहिलो स्थानमा रहेका बिकास बोगटीले सात ओभर ७९ स्कोर गर्दै कुल आठ ओभर २२४ स्कोर कार्ड जोडे । पहिलो स्थानमा रहेका बिकासले टंकबहादुर कार्कीमाथि चार स्ट्रोकको अग्रता कायम गरे । दोस्रो स्थानमा रहेका टंकबहादुर कार्कीले ७६ स्कोर गर्दै कुल २२८ स्कोर बनाए । भुवनले फ्रन्ट नाइनमा एक ओभर ३७ र ब्याक नाइनमा दुई ओभर ३८ स्कोर गरे । दोस्रो, चौथो र छैठौँ होलमा बोगी गरेका भुवनले तेस्रो र सातौँ होलमा बर्डिज प्रहार गरे ।
ब्याक नाइनको ११औँ होलमा बर्डिज गरेको भुवनले १२औँ, १४औँ र १६औँ होलमा बोगी खेपे । शिवरामले फ्रन्ट नाइनमा एक अन्डर ३५ र ब्याक नाइनमा इभन पार ३६ स्कोर कार्ड जोडे । उनले ब्याक नाइनको १५औँ होलमा बर्डिज र १७औँ होलमा बोगी खेपे । विष्णुले फ्रन्ट नाइनमा इभन पार ३६ र ब्याक नाइनमा ४ अन्डर ३२ स्कोर कार्ड जोडे । फ्रन्ट नाइनको पहिलो र दोस्रो होलमा बोगी गरेका उनले तेस्रो र सातौँ होलमा होलमा बर्डिज प्रहार गरेका थिए ।
कुल ७२ होलको खेल बुधबारसम्म चल्नेछ । प्रतियोगितामा ३६ होलदेखि प्रो कट लागू हुनेछ भने त्यसपश्चात उत्कृष्ट २१ खेलाडी फाइनल राउन्डका लागि प्रतिस्पर्धा गर्नेछन् । बाँकी ३६ होलमा एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
कुल ३३ प्रोफेसनल र सात ऐमेच्योर गल्फरको सहभागिता रहने प्रतियोगिताको कुल बजेट पाँच लाख १५ हजार रहेको छ ।
प्रतियोगिता विजेताले ९५ हजार, उपविजेताले ६० हजार र तेस्रो हुनेले ४४ हजार पुरस्कार हात पार्नेछन् । उत्कृष्ट २१ खेलाडीमा परेर फाइनल राउन्ड खेल्ने प्रत्येक खेलाडीले पनि नगद पुरस्कार हात पार्नेछन् ।

प्रतिक्रिया