काठमाडौं । पोखरास्थित नमस्ते सामुदायिक प्रतिष्ठान नेपालको आयोजनामा बुधबारदेखि मालेपाटन खेल मैदानमा मनकामना केवलकार सेभेन–ए–साइड च्याम्पियनसिप ट्रफी–२०१५ सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सयपत्री क्लब ‘बी’ले हिमालयन चाइल्ड केयर होमलाई ५–१ गोलले पराजित गर्यो ।
पोखरालाई बालमैत्री सहरको रूपमा स्थापित गर्ने उद्देश्यले सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै महिला तथा बालबालिका कार्यालय कास्कीका प्रमुख लक्ष्मी जिसीले वर्तमान अवस्थामा राष्ट्र र समाज संक्रमणकालबाट गुज्रिरहेको बताइन् ।
उनले यस प्रतियोगिताले समाज परिवर्तन तथा मानवियता बढाउन सार्थक तुल्याउने विश्वास व्यक्त गरिन् ।
प्रतियोगिता संयोजक उत्सव गुरुङले प्रतिष्ठानले आउँदो अक्टोबर महिनामा सञ्चालन गर्न लागेको ‘वाक फर चिल्ड्रेन’ कार्यक्रमको सहयोगार्थ यो प्रतियोगिता आयोजना गरेको जानकारी दिए । प्रतिष्ठानका संस्थापक अध्यक्ष भीष्मराज पौडेलले प्रतियोगिता सफल पार्न विभिन्न संघसंस्थाले १० लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेको बताए । प्रतियोगिताबाट बचेको रकमको २० प्रतिशत रकम वात्सायन वृद्धाश्रमलाई सहयोग गरिने पनि पौडेलले बताए ।
प्रतियोगिताको मुख्य प्रायोजक मनकामना दर्शन प्रालिले प्रतियोगिताको लागि एक लाख सहयोग गरेको छ । ४२ टिमले भाग लिएको प्रतियोगिताको विजेताले उपाधिसहित एक लाख रुपैयाँ पाउने छ । उपविजेताले ५० हजार तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट हुने खेलाडीले जनही पाँच हजार रुपैयाँ पाउनेछन् । (सौस)
प्रतिक्रिया