काठमाडौं । आगामी जेठ १ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘चंखे शंखे पंखे’ ले देशका लागि योगदान गर्न सक्ने तीन युवा नेतृत्व छान्ने भएको छ । फिल्मका निर्देशक सुदर्शन थापाका अनुसार देशमा युवा नेतृत्वको आवश्यकता औँल्याउँदै फिल्म युनिटले देशका विभिन्न स्थानमा अडिसन लिई युवाको छनौट गर्नेछ ।
निर्देशक थापाले ‘पब्लिक स्पिकर नेपाल, आजको वक्तृत्व, भोलिको नेतृत्व’ थिमका साथ राजधानीसहित मोफसलका आठ सहरमा अन्तर स्कुल कलेज प्रतियोगिता गरी उत्कृष्ट १० युवा छानिने बताए । ‘हाम्रो फिल्म पनि युवाकै विषयमा केन्द्रित रहेर बनेको छ, त्यसकारण पनि हामीले युवा वर्गलाई प्राथमिकतामा राखेका हौं,’ राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अभिनेतासमेत रहेका सुदर्शनले भने, ‘हामी बिहीबारबाट कार्यक्रमका लागि देश दौडाहामा निस्कनेछौं ।’ सुदर्शनका अनुसार मोफसलका धनगढी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा, दमक, धरान र विराटनगरमा प्रतियोगिता हुनेछ ।
वैशाख २९ गते राजधानीमा हुने ग्रान्ड फिनालेमा मोफसलका प्रत्येक स्थानबाट छनौट भएका एक प्रतियोगी र राजधानीबाट छनौट भएका दुई प्रतियोगी गरी जम्मा १० प्रतियोगीबीच निर्णायक प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा कक्षा ९ देखि स्नातकसम्म अध्ययनरत जोकोही विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् ।
‘प्रतियोगितामा सहभागी हुने सबै प्रतियोगीका लागि शीर्षक एउटै राखिएकाले कक्षा ९ र १० का विद्यार्थीलाई आयोजकले ३० अंक पहिले नै दिएर सहभागी गराउनेछ,’ फिल्म युनिटले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कक्षा ११ र १२ का विद्यार्थीलाई २० अंक र स्नातक तहका विद्यार्थीलाई १० अंक दिएर सहभागी गराइनेछ ।’
प्रतियोगिताको आयोजना एक्रेटिभ मिडिया प्रालिले गर्नेछ भने बीआर डीसी र ह्वाइट हाउस कलेज पावर पार्टनरको रूपमा रहनेछ । एक्रेटिभ मिडियाले महानायक राजेश हमालद्वारा सञ्चालित चर्चित टेलिभिजन कार्यक्रम ‘क्वीज मेनिया सिजन ४’ को आयोजना गरिसकेको छ । पत्रकार सम्मेलनमा ह्वाइटहाउस कलेजका अध्यक्ष युवराज शर्माले युवाहरूले नै देशलाई सकारात्मक दिशातर्फ लैजाने भएकाले देशमा युवा नेतृत्वका लागि फिल्मले चालेको अभियानलाई आफूहरूले सहयोग गरेको खुलाए ।
आयोजकका अनुसार करिब पाँच हजार विद्यार्थीको सहभागिता हुने लक्ष्य राखिएको कार्यक्रमका लागि वैशाख ११ देखि धनगढीबाट अडिसन सुरु हुनेछ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया