काठमाडौ, ९ वैशाख । नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह नेपालको खेलकुद राजनीतिमा खासै चासो राख्दैनन् । यस्तै, अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापा शक्ति केन्द्रमा कस्को निकट भन्ने अनुमान पनि कमैले गर्छन् । नेपाली खेल राजनीतिमा अहिले तीन शक्ति केन्द्र रहेका छन् । थुप्रै संघ अध्यक्ष भने दिनदिनै गणितीय आँकडा बुन्दै कित्ता परिवर्तन गर्ने गरेका छन् । परिषद् सदस्यसचिव पद आफैँमा शक्ति केन्द्र हो भने नेपाल ओलम्पिक कमिटीमा पनि अप्रत्यक्ष दुई शक्ति छन् । नेपालका प्रायः संघ अध्यक्ष कुनै एउटा शक्ति केन्द्रको नजिक हुने र टाढा हुने क्रम निरन्तर चलिरहेको छ ।
अखिल नेपाल फुटबल संघका अध्यक्ष थापा सधैँ शक्तिको नजिकको व्यक्तिका रूपमा रहने गरेका छन् । उनी आफैँ ओलम्पिक कमिटीमा प्रवेश गरेका छैनन् । एन्फाको प्रतिनिधित्व गर्ने धीरेन्द्र प्रधान प्रायः मौन रहने गरेका छन् । पछिल्लो समय साधारण सभामा सदस्य सचिव युवराज लामाको आश्चर्यजनक ढंगले भक्तिभाव गाएका थापा पछिल्लो समय आफू अप्ठेरोमा परेका कारण यी विषयमा मौन रहने गरेका छन् ।
फुटबलपछिको प्रभावकारी संघ नेपाल क्रिकेट संघका अध्यक्ष दीपक कोइराला भने सदस्य सचिव लामा निकट हुन् । टंक आङबुहाङ भ्रष्टाचारको आरोपमा परेपछि कार्यबाहक अध्यक्ष बनाइएका टिबी शाहको पनि निधन भएपछि कोइराला अध्यक्ष भएका हुन् । एथलेटिक्स संघका अध्यक्ष शाहलाई संघ निर्वाचनमा ओलम्पिक कमिटी महासचिव जीवनराम श्रेष्ठको पनि साथ थियो । लामा पक्षबाट नीलेन्द्रराज श्रेष्ठ उम्मेदवार थिए । यस्तै द्वैध अस्तित्व भएको करातेका डब्लुकेएफ मान्यताप्रप्त संघका अध्यक्ष लाखे ओलम्पिक कमिटीका महासचिव श्रेष्ठ निकट हुन् ।
तेक्वान्दो संघको भूमिका पनि कहिले निश्चित हुने गरेको छैन । समाचार स्रोतअनुसार तेक्वान्दो संघ अहिले श्रेष्ठ निकट रहेको छ । परिषद् सदस्य सचिव लामासँग ठूलो दूरी रहे पछि तेक्वान्दो संघको नेतृत्व श्रेष्ठ निकट रहेको हो । बक्सिङ संघको अध्यक्ष राजीव श्रेष्ठ निर्वाचनमा ओलम्पिक महासचिव श्रेष्ठ निकट मानिन्थे । तर, उनको भूमिका अहिले भने अनिश्चित नै रहेको छ । धेरैले राजीव श्रेष्ठ समूहबाट टाढिएर लामा निकट भएको तथा अहिले प्रधान निकट भएको बताए पनि राजीव आफैँले भने कतै पनि नलागेको बताउँछन् । ओलम्पिकका उपमहासचिव तथा बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पा महासचिव श्रेष्ठ निकट हुन् ।
त्यसो त सबैभन्दा आश्चर्यजनक भूमिका सुटिङ संघका अध्यक्ष पुष्पदास प्रधानको रहेको छ । उनी पनि ओलम्पिक कमिटीको समीकरणमा कहिले प्रधान त कहिले श्रेष्ठ समूहसँग निकट मानिन्छन् । सबैभन्दा आश्चर्यजनक व्यक्तित्व भने भलिबल संघका अध्यक्ष दानबहादुर तामाङ रहेका छन् ।
पूर्वअध्यक्ष थापा ओलम्पिक कमिटीमा श्रेष्ठ निकट रहेका छन् । तामाङ पनि थापाको उत्तराधीकारीका रूपमा भलिबलमा प्रवेश गरेका थिए । २०६४ मा भएको साधारण सभामा आफूलाई जिताउन महत्वपूर्ण भूमिका निभाएका गजेन्द्र ताम्लीलाई छाडेर थापाले तामाङलाई नजिक राखेका थिए । तामाङ हाल सदस्य सचिव लामाका सबैभन्दा प्रियपात्र मानिन्छन् । यसैगरी, ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङ पनि सदस्य सचिव लामा निकट मानिन्छन् ।
प्रतिक्रिया