काठमाडौं, ९ वैशाख । चण्डेश्वरी युवा क्लब रामेछापको आयोजनामा तेस्रो चण्डेश्वरी रनिङ कप खुला महिला भलिबल प्रतियोगिता १५ वैशाखदेखि हुने भएको छ ।
आयोजकले मंगलबार पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार उपाधि विजेता टिमले ५१ हजार पाँच सय र उपविजयी टोलीले २५ हजार पाँच सय, तेस्रो हुने टिमले १५ हजार पाँच सय र चौथोले आठ हजार पाँच सय प्राप्त गर्ने संयोजक जगत सुनुवारले बताए । प्रतियोगिताको उत्कृष्ट खेलाडीले तीन हजार र विधागत ६ उत्कृष्ट खेलाडीले एक हजार रुपैयाँ प्राप्त गरे ।
रामेछापको रस्नालुस्थित गोकुल गंगा उमाविमा हुने प्रतियोगिताको कुल बजेट तीन लाख रहेको छ । १८ वैशाखसम्म सञ्चालन हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक सुनुवारले बताए । लिगकम नकाउटका आधारमा सञ्चालन हुने प्रतियोगिताका सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ ।
चण्डेश्वरी युवा क्लब, रामेछाप काठमाडौं सम्पर्क समितिको आयोजनामा हुने प्रतियोगिताको गोकुल गंगा उमावि र ग्रामीण सेवा युवा परिषद्ले मुख्य प्रायोजन गरेको आयोजकका कोषाध्यक्ष प्रेमबहादुर सुनुवारले जनाए । उनले स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नका लागि विकट ठाउँमा यस प्रकारको प्रतियोगिता आयोजना गरेको जनाए । दोस्रो संस्करणको विजेता न्यु डायमन्ड एकेडेमी हो ।
प्रतिक्रिया