बन्ने भयो यो पागल मन

Yo-Pagal-Manकाठमाडौं । फिल्म ‘होमवर्क’ को पोष्ट प्रोडक्सन र फिल्म ‘ठमेल डटकम’ को सुटिङ अन्तिम चरणमा पुगिरहँदा फिल्म निर्माणमा चर्चित बनेको व्यानर गोपीकृष्ण मुभिजले अर्को नयाँ फिल्म ‘यो पागल मन’ को घोषणा गरेको छ । राजधानीमा मंगलबार आयोजित कार्यक्रममा फिल्मको मुहूर्त गरिएको छ ।
गोपीकृष्ण मुभिजका अध्यक्ष उद्धव पौडेलले सन् २०१५ भित्र आफ्नो व्यानरमा सातवटा फिल्म निर्माण गर्ने घोषणा गरेअनुरूप तेस्रो फिल्म बनाउन लागिएको जानकारी दिए । ‘यो फिल्म (यो पागल मन) म आफैं निर्देशन गर्छु भन्ने सोचेर दर्ता पनि गरेको थिएँ, तर व्यस्तताले गर्न पाइनँ,’ उद्धवले भने, ‘हामीले नेपाली फिल्मलाई अझ व्यावसायिकता दिन पनि फिल्म निर्माणको क्रमलाई निरन्तरता दिइरहेका छौं ।’ राजदेवी प्रोडक्सन इन्टरटेनमेन्टले गोपीकृष्ण मुभिजसँग सहकार्य गर्दै फिल्म बनाउन लागेको हो ।
यसै फिल्मबाट निर्देशकका रूपमा डेब्यु गर्न लागेका कैलाश अधिकारीले फिल्मले लभ, कमेडी र रोमान्सलाई प्राथमिकता दिने बताए । ‘आशा छ, फिल्मले आम दर्शकलाई हलसम्म डोहो¥याउने छ,’ फिल्म ‘होमवर्क’ मा मुख्य सहायक निर्देशकको अनुभव लिइसकेका अधिकारीले भने ।
वैशाख १५ गतेबाट सुटिङका लागि फ्लोरमा जाने फिल्ममा गौरी मल्ल, सगुन शाही, वर्षा शिवाकोटी, विनोद न्यौपाने, गीता अधिकारीलगायतका कलाकारको अभिनय रहनेछ । फिल्ममा अर्जुन पोखरेलको संगीत, दयाराम पाण्डेको गीत, कविराज गहतराजको नृत्य, राजेशपायल राई, स्वरूप राज आचार्य, अञ्जु पन्त, दुर्गा खरेल र भुवन प्यासीको स्वर तथा शम्भु सापकोटाको छायांकन रहनेछ । फिल्मको छायांकन चितवन, हेटौंडा र नारायणघाटमा हुनेछ । (सौस)

प्रतिक्रिया