काठमाडौं । राप्ती अञ्चलमा त्यतिखेर माओवादीको नामोनिशान थिएन । द्वन्द्वको प्रभाव नरहे पनि दैनिक गुजाराका लागि विभिन्न मुलुकमा रोजगारीमा जाने परम्परा भने थियो ।
यस्तैमा ०४९ सालमा कलकलाउँदो उमेरमा रुकुम जिल्ला महत गाविसको गुनाम गाउँका इखमान पुनमगर ब्रिटिस सेनामा भर्ती भए । उनले १९ वर्ष गोर्खा सैनिकमा नै बिताए । आफ्नो १९ वर्षको यात्राका क्रममा उनलाई सधैँ गाउँ र देशको मायाले सताइरह्यो । झन्डै १२ घन्टा बन्दुक बोकेर ड्युटी गर्नुपर्ने उनको बाध्यता थियो ।
ड्युटी सकेर बचेको समयमा इखमानले शब्द कोरिहाल्थे । उनका शब्दमा देशभक्ति र वियोगान्त लुकेका छन् । जागिरको अवधि सकेर बसेका इखमानलाई आफ्ना शब्दलाई एउटा आकार दिने इच्छा जाग्यो र उनले रेकर्डको तयारी गरे ।
उनलाई संगीतकार सन्तोष श्रेष्ठ, गीतकार भावेश भुमरीलगायतकाले सहयोग पनि गरे । उनीहरूकै सहयोगमा इखमानले ‘परदेशीको मन’ एल्बम रेकर्ड गराए । एल्बममा उनले आठ वटा गीत समावेश गरेका छन् । रेकर्ड भएका गीतमध्ये इखमानलाई ‘जहाँ बसुँ म, नेपाल नाम लिन सकुँ …’ बोलको राष्ट्रिय गीत औधी मनपर्छ ।
गीतका शब्द राष्ट्रिय भावनाले ओतप्रोत छन् । अरू गीत वियोगान्तमा आधारित रहेको इखमानको भनाइ छ । उनले एल्बम निकाल्ने क्रममा परिवारमा खासै सल्लाह गरेका थिएनन् । तैपनि घरपरिवार उनको सांगीतिक यात्राबाट खुसी छ ।
‘झन्डै सात लाख खर्चेर एल्बम तयार पारेँ’, इखमानले भने, ‘एउटा भिडियो पनि बनाएको छु ।’ एल्बम तयार पार्दा अलि धेरै खर्च भएको उनको बुझाइ छ । ‘गीत बनाउँदा गायक, संगीतकार, रेकर्डिङ स्टुडियो कुनै पनि विषयमा सम्झौता गरिनँ । त्यही भएर होला अलि धेरै खर्च भयो ।’ उनले प्रष्ट्याए ।
इखमानले ब्रिटिस सैनिकमा जागिर खाँदा कोरेका शब्दलाई किताबको आकार दिने पक्षमा पनि छन् । थुप्रै कविता, गीत, गजल र अन्य साहित्यिक विषय लेखेका उनले सबैलाई समेटेर किताब बनाउने सोच बनाएका हुन् । ‘किताब, गीत र गजल संग्रह राखेर कम्तिमा एउटा किताव निकाल्ने योजनामा छु’, इखमानले भने ।
प्रतिक्रिया