काठमाडौं । चर्चित अभिनेत्री रेखा थापाले चितवनको रत्ननगर–१० स्थित मंगलपुरमा रहेको गामबेंसी चेपाङ संरक्षण केन्द्रमा रहेका बालबालिकालाई शैक्षिक सामाग्री एवं खाद्यान्न सहयोग गरेकी छन् । गत आइतबार त्यहाँ पुगेकी उनले चेपाङ बालबालिकासँग करिब एक घन्टा बिताइन् ।
रेखा थापा फाउन्डेसन स्थापना गरेर राउटे समुदायलाई सहयोग र राउटे बालबालिकालाई शैक्षिक सहयोग गरेकी रेखाले चेपाङ समुदायलाई पनि सहयोगको प्रतिबद्धता जनाइन् ।
‘तपाईंहरू पढेर असल व्यक्ति बन्नुहोस्, देश सम्हाल्ने तपाईंहरूले नै हो,’ केन्द्रमा अध्ययनरत चेपाङ बालबालिकासँग झुम्मिएकी रेखाले भनिन्, ‘पढ्न, लेख्न नपाएका अनाथ बालबालिकालाई आफूसँगै राखेर पढाउँदा अनेक थरी टिकाटिप्पणी हुँदा रहेछन् ।
त्यसैले उनीहरूलाई समुदायमै राखेर शिक्षामा सहयोग गर्ने निर्णय गरेको हुँ ।’ रेखाले आफ्नो संस्था रेखा थापा फाउन्डेसनमार्पmत गत वर्ष सुर्खेतको राउटे वस्तीबाट चार बालबालिकालाई राजधानी ल्याई आवासीय शिक्षा दिएर सुर्खेतकै सामुदायिक विद्यालयमै भर्नाको व्यवस्था मिलाएकी थिइन् ।
करिब दुई सय चेपाङ बालबालिकालाई संरक्षण दिइरहेको उक्त केन्द्रमा रेखाले खाजा र ब्याग दिइन् भने दुई सय लिटर खाने तेलको पनि व्यवस्था गरिदिइन् ।
त्यस्तै गैरआवसिय नेपाली (एनआरएन) कतारका सल्लाहकार आरके शर्माले आफ्नो तर्फबाट चेपाङ संरक्षण केन्द्रलाई २१ क्विन्टल चामल प्रदान गरेका थिए । रेखा हाल नयाँ प्रोजेक्ट ‘रामप्यारी’को काममा व्यस्त छिन् ।
प्रतिक्रिया