काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आइतबारबाट राजधानीमा तीन दिने ‘राष्ट्रिय नाट्य महोत्सव २०७२’ सुरु भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको महोत्सवको उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले नाटकको संवाद वाचन गर्दै शुभारम्भ गरे ।
मन्त्री गौतमले आफू नाटक र फिल्म दुवैको दर्शक भएकाले कथाको भावनाअनुसार आफू पनि बग्ने गरेको जनाए । ‘राष्ट्रिय नाटक महोत्सव फेरि सुरु भएको छ ।
यसले नेपाली नाटकको विकासमा मद्दत पुर्याउने विश्वास मैले लिएको छु,’उनले भने,‘कविता र गीत सिर्जना गर्दा मलाई पनि एक किसिमको आनन्द आउने गर्छ, तर अहिले समय अभावका कारण साहित्य सिर्जना गर्न सकिरहेको छैन ।’
प्रतिष्ठानका कुलपति सरुभक्तले ०६२ सालपछि रोकिएको नाटक महोत्सवलाई आफूहरूले पुन सुरु गरेको दाबी गरे ।
०३५ सालमा पोखराबाट काठमाडौं आएर आफूले तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा पहिलोपटक नाटक ‘एउटा घरको कथा होइन’ मञ्चन गरेको अनुभव सुनाउँदै उनले राष्ट्रिय नाटक महोत्सवमा आफ्नो नाटक मञ्चन गर्न पाउनुलाई रंगकर्मीले त्यतिबेला आफ्नो ठूलो सफलता ठान्ने गरेको खुलाए ।
‘त्यसकारण राजधानीदेखि मोफसलसम्मका रंगकर्मीलाई जोडेर फेिर त्यस्तै उत्साह र रौनकता ल्याउन एक दशकपछि नै भए पनि हामीले पुनः राष्ट्रिय नाटक महोत्सव सुरु गरेका हौँ,’ उनले भने ।
प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँसकोटाले बहुजाति, बहुभाषी र बहुसंस्कृतिलाई रंगमञ्च, गीतसंगीत र नृत्यको माध्यमबाट संरक्षण गर्ने कार्यमा आफूहरू लागि परेको बताए ।
‘नेपाली नाटकको विकासमा यो महोत्सवको महत्वपूर्ण भूमिका रहनेछ,’ बाँस्कोटाले भने । प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले महोत्सवमा सहभागी नाटकहरू राम्रा भएको दाबी गर्दै आइतबारबाट मंगलबारसम्म तीन दिन चल्ने यो महोत्सवमा प्रवेश निःशुल्क भएकाले दर्शकलाई महोत्सवमा आउन आग्रह गरे । महोत्सवका संयोजक रमेशरञ्जन झाले ढिलै भए पनि प्रतिष्ठानले राष्ट्रिय नाटक महोत्सव सुरु गरेको बताउँदै यसलाई अब निरन्तरता दिने प्रतिबद्धता जाहेर गरे ।
महोत्सवको पहिलो दिन नारायणी कला मन्दिरको ‘सकस’ र झोराहाट नाट्य समूह, मोरङको ‘धुपेनको धुइयाँ’ मञ्चन गरियो । पुष्प आचार्यले लेखेको तथा निर्देशन रहेको ‘सकस’ नाटकले वृद्ध अवस्थाका अभिभावकलाई आफ्ना छोराछोरीले बेवास्ता गर्ने प्रसंगलाई उठाईएको छ । नाटकमा ऋद्धिचरण श्रेष्ठ, प्रेम श्रेष्ठ, शान्ति शर्मा, गायत्री श्रेष्ठ, प्रेमविनोद, नन्दनप्रसाद श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, सूर्यबहादुर मास्के सहितको अभिनय रहेको थियो ।
त्यस्तै, भरत गुरागाईंद्वारा लिखित तथा निर्देशित नाटक ‘धुपेनको धुइयाँ’ले वैदेशिक रोजगारीको प्रसंगसँगै घरेलु समस्याको कथालाई प्रस्तुत गरेको थियो । नाटकमा निर्देशक गुरागार्इंसहित सागर ऋषिदेव, सुदीप कार्की, मनीषा बराल, रमा दाहाल, राजेन्द्र मुर्मु सतार, सावित्री मुर्मु सतार, आरती यादव, अनु श्रेष्ठले अभिनय गरेका थिए ।
सोमबार चेतना नाट्य समूह, इलामको ‘पाथिभरा देवीको उत्पत्ति,’ तरंग सांस्कृतिक परिषद हेटौंडाको ‘मान्छे बन्ने रहर’ र सुम्निमा थिएटर एकेडेमी ललितपुरको ‘सुम्निमा’ मञ्चन हुनेछन् । डा. देवी क्षत्री दुलालको लेखन र रोशन मेहताको निर्देशनमा बनेको नाटक ‘पाथिभरा देवीको उत्पत्ति’ले पाथिभरा देवीको उत्पत्तिको कथा र यसको ऐतिहासिक तथा धार्मिक महत्वलाई प्रस्तुत गर्नेछ । नाटकमा सुवास लुइँटेल, मिलन खत्री, सरिता तामाङ, सिर्जना राई, अञ्जना कार्की, राम आचार्य, अञ्जना लुइँटेल, अन्वेश राई थुलुङ, चन्द्रकला लुइँटेल र पूजा भण्डारीको अभिनय रहनेछ ।
त्यस्तै आरसी रिजालको लेखन र उज्जवल शर्मा भण्डारीको निर्देशनमा बनेको नाटक ‘मान्छे बन्ने रहर’ले देशमा सक्रिय संस्थामध्ये केही संस्थाहरूको गैरजिम्मेवारीपन र नेपालको दुर्गम स्थानहरूमा बस्ने समुदायको भोगाईलाई प्रस्तुत गर्नेछ । नाटकमा कुमार शाह, प्रलय चौलागाई, रामबहादुर थोकर, लक्ष्मण थोकर, दिपज्योति थापा, दीपमाला, परियार, साजन कुमार, विनोद बानियाँ, लालबहादुर पौडेल, आशाकाजी श्रेष्ठ, भोलाराज सापकोटा र उमंग भण्डारीको अभिनय रहनेछ ।
प्रवीण पुमाको लेखन र निर्देशनमा बनेको नाटक ‘सुम्मिना’मा धार्मिक विषयलाई प्रस्तुत गरिनेछ । नाटकमा प्रवीण पुमा, समीर राई, पूर्णिमा राई, सीता राई, कला राई, मोहन राई, निशान राई, पुर्खाजित राई, युमा लिम्बू, दीपक वान्तवा, सुमन बराल, रोशन ढकाल, रामेश्वर पौडेल र परशुराम राईको अभिनय रहनेछ ।
आरोहरण विराटनगरले महोत्सवको अन्तिम दिन देखाउन लागेको नाटक ‘आब कोना चलब’ले पहाड र तराई समुदायका दुई पात्रबीचको सम्बन्ध र अन्तद्र्वन्द्वलाई प्रस्तुत गर्नेछ । राम भजन कामतको लेखन र निर्देशन रहने नाटकमा राम भजन कामत, मिलन नेपाली, सुनीता घिमिरे, कौशिला कामत, प्रयाग न्यौपाने, रोशन कुमार मेहता, मन्तोष यादव, राजेश ठाकुर, सागर विश्वास, सुनील चौधरी, सुजान कार्की, भरत कार्की, गीता कोइराला, विकास पराजुली, अशोक गौतमको अभिनय रहनेछ ।
यसैदिन मिथिला नाट्यकला परिषद् जनकपुरले मञ्चन गर्ने नाटक ‘छुतहा चैल’ले मिथिलाको प्राचीन कथा देखाउनेछ । महेन्द्र मलंगियाको लेखन र परमेश झाको निर्देशनमा तयार भएको नाटकमा दिगम्बर झा, रामनारायण ठाकुर, गंगाकान्त झा, विष्णुकान्त मिश्र, मदन ठाकुर, परमेश झा, गंगाकान्त, सन्दिप शाह, धीरज ठाकुर, मुकेश झा, अनिता रानी मण्डल र सपनाको अभिनय रहनेछ । (सौस)
प्रतिक्रिया