शनिबार र आइतबार बिदा के का लागि ?

नागरिकले सामान्य सेवाका लागि पटक–पटक कार्यालय धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ । त्यसैगरी जबाफदेहिताको संस्कृति विकास गर्न आवश्यक छ । प्रत्येक कर्मचारी, प्रत्येक शाखा र प्रत्येक कार्यालयको स्पष्ट जिम्मेवारी हुनुपर्छ ।

सुजन के सी

शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने विषय उठ्दा समाजमा मिश्रित प्रतिक्रिया देखिन्छ । केही मानिसहरू भन्छन्, ‘हामीजस्तो विकासोन्मुख देशमा अझ धेरै काम गर्नुपर्ने बेला बिदा थपेर कसरी विकास हुन्छ ?’ केहीको तर्क हुन्छ, ‘कामको गुणस्तर महŒवपूर्ण हो, दिनको संख्या होइन ।’ यी दुवै तर्कमा आ–आफ्नो सत्यता छ तर वास्तविक प्रश्न बिदा दिने वा नदिने मात्र होइन । वास्तविक प्रश्न हो, के नेपाल अब पुरानो कार्यशैलीबाट बाहिर निस्केर परिणाममुखी कार्य संस्कृतितर्फ जान तयार छ ?

नेपालमा स्थानीय, प्रदेश र संघीय गरी ३ तहका सरकार छन् । नागरिकको दैनिक जीवनसँग जोडिएका धेरैजसो सेवाहरू वडा कार्यालय, नगरपालिका र गाउँपालिकाबाट प्रवाह हुन्छन् । नागरिकता सिफारिस, जन्मदर्ता, सामाजिक सुरक्षा, योजना सञ्चालन, कर व्यवस्थापन, सडक निर्माणदेखि लिएर स्थानीय विकासका धेरै काम स्थानीय तहबाटै हुने गरेका छन् तर हामी सबैले स्वीकार्नुपर्नेमा एउटा यथार्थ छ ।

समस्या कार्यालय कति दिन खुल्यो भन्ने होइन, खुला दिनमा कति प्रभावकारी काम भयो भन्ने हो । नागरिक कतिपयले सामान्य सिफारिस लिन पनि २–३ पटक कार्यालय धाउनु परेको अनुभव सुनाउँछन् । कतै कर्मचारी नभेटिने, कतै फाइल अड्किने, कतै निर्णय प्रक्रियामा अनावश्यक ढिलाइ हुने समस्या अझै पनि देखिन्छ । यस्तो अवस्थामा ६ दिन कार्यालय खुल्दै मा सेवा प्रभावकारी हुन्छ भन्ने ग्यारेन्टी हुँदैन ।

यही कारणले शनिबार र आइतबार बिदाको बहसलाई केवल बिदाको विषयमा सीमित राख्न हुँदैन । यसलाई कार्यक्षमता, सुशासन र उत्तरदायित्वसँग जोडेर हेर्नुपर्छ । २ दिनको नियमित बिदाले कर्मचारी र जनप्रतिनिधिहरूलाई पनि मानवीय जीवन जिउने अवसर दिन्छ । स्थानीय तहका कर्मचारीहरू आफ्ना परिवारसँग समय बिताउन सक्छन् । अध्ययन, तालिम, नयाँ सीप सिक्ने तथा मानसिक रूपमा विश्राम लिन सक्छन् ।
प्रदेश र संघीय सरकारका कर्मचारीहरूका लागि पनि यही कुरा लागू हुन्छ । हामीले कहिलेकाहीँ बिर्सने गर्छौं कि कर्मचारी पनि आखिर नागरिक नै हुन् । उनीहरूका पनि परिवार छन्, सामाजिक जिम्मेवारी छन् र व्यक्तिगत जीवन छ । मानसिक रूपमा थकित र निरुत्साहित कर्मचारीबाट उत्कृष्ट सेवा अपेक्षा गर्न गाह्रो हुन्छ, बरु उत्साहित, स्वस्थ र ऊर्जावान कर्मचारीले राम्रो सेवा दिन सक्छ तर यसले एउटा महŒवपूर्ण प्रश्न पनि उठाउँछ । यदि २ दिन बिदा दिने हो भने बाँकी ५ दिनको काम कस्तो हुनुपर्छ ? यहीँबाट सुशासनको बहस सुरु हुन्छ ।

नेपालमा अब कार्यालयमा बस्ने समयभन्दा कामको परिणामलाई महŒव दिनुपर्ने आवश्यकता छ । नागरिकले कर्मचारी कति बजे कार्यालय पुगे भनेर होइन, आफ्नो काम कति छिटो भयो भनेर राज्यको मूल्यांकन गर्छन् । एउटा वृद्ध नागरिकले सामाजिक सुरक्षा भत्ता समयमै पाए कि पाएनन्, एउटा विद्यार्थीले आवश्यक सिफारिस समयमा पायो कि पाएन, एउटा व्यवसायीले आफ्नो दर्ता प्रक्रिया सजिलै पूरा गर्न सक्यो कि सकेन ? यी नै वास्तविक मापनका आधार हुन् ।

स्थानीय सरकारका लागि यो अवसर झन् महŒवपूर्ण हुन सक्छ । वडाध्यक्ष, नगरप्रमुख वा जनप्रतिनिधिको काम केवल कार्यालयभित्र बस्नु मात्र होइन । उनीहरू समुदायमा पुग्नुपर्छ, जनताका गुनासा सुन्नुपर्छ, विकास योजनाको अनुगमन गर्नुपर्छ । २ दिनको बिदालाई जनप्रतिनिधिहरूले नागरिकसँग प्रत्यक्ष संवादको अवसरका रूपमा पनि प्रयोग गर्न सक्छन् । प्रदेश सरकारका लागि यो नीति–निर्माणको गुणस्तर सुधार्ने अवसर बन्न सक्छ । प्रदेशहरू अझै पनि आफ्नो भूमिका प्रभावकारी रूपमा स्थापित गर्ने प्रयासमा छन् भने स्थानीय संस्कृति र पर्यटन संस्कृतितर्फ उन्मुख अध्ययन, अनुसन्धान र क्षमता विकासका लागि पर्याप्त समय आवश्यक हुन्छ ।
संघीय सरकारका लागि पनि यो एउटा अवसर हो । मन्त्रालय र विभागहरूमा परिणाममुखी प्रशासनको अभ्यास सुरु गर्न सकिन्छ । अब मन्त्रालयको सफलता बैठकको संख्याले होइन, नागरिकले महसुस गरेको परिवर्तनले मापन हुनुपर्छ । २ दिनको बिदालाई सफल बनाउन सबैभन्दा आवश्यक कुरा भनेको डिजिटल सेवा विस्तार हो । आजको संसारमा धेरै सेवाहरू अनलाइनबाट उपलब्ध भइरहेको छ र नेपालले पनि स्थानीय तहदेखि संघीय सरकारसम्म डिजिटल प्रणालीलाई प्राथमिकता दिनुपर्छ ।

नागरिकले सामान्य सेवाका लागि पटक–पटक कार्यालय धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ । त्यसैगरी जबाफदेहिताको संस्कृति विकास गर्न आवश्यक छ । प्रत्येक कर्मचारी, प्रत्येक शाखा र प्रत्येक कार्यालयको स्पष्ट जिम्मेवारी हुनुपर्छ । कसले कति काम गर्ने, कति समयभित्र र नागरिक कति सन्तुष्ट भए भन्ने कुराको नियमित मूल्यांकन हुनुपर्छ ।

मेरिटोक्रेसी अर्थात् योग्यता र कार्यसम्पादनलाई सम्मान गर्ने संस्कृतिको विकास पनि त्यत्तिकै आवश्यक छ । नेपालमा राम्रो काम गर्नेले अवसर पाउनुपर्छ, नव प्रवर्तन गर्नेले सम्मान पाउनुपर्छ र परिणाम दिनेले नेतृत्वको अवसर पाउनुपर्छ । यही संस्कृतिले संस्थाहरूलाई बलियो बनाउँछ र नेपालको विकासको बाटो केवल धेरै घण्टा काम गर्नुमा छन् भने अन्य विकासको बाटो सही प्रणाली निर्माण गर्नुमा छ । दक्ष कर्मचारी, स्पष्ट जिम्मेवारी, डिजिटल सेवा, पारदर्शी निर्णय प्रक्रिया र परिणाममुखी कार्यशैलीले मात्र नागरिकको जीवनमा वास्तविक परिवर्तन ल्याउन सक्छ ।

अन्ततः शनिबार र आइतबार बिदा दिने वा नदिने विषयभन्दा ठुलो कुरा नेपालको कार्य संस्कृति कस्तो बनाउने भन्ने हो र यदि हामीले यो अवसरलाई सुशासन, जबाफदेहिता, मेरिटोक्रेसी र नागरिक मैत्री सेवासँग जोड्न सक्यौँ भने २ दिनको बिदा केवल आरामको विषय रहने छैन भने त्यो सुनौलो अवसर प्राप्त हुने आधुनिक, उत्तरदायी र समृद्ध नेपालको आधार बन्न सक्छ । नेपाललाई धेरै दिन काम गर्ने प्रणालीभन्दा राम्रो परिणाम दिने प्रणालीको आवश्यकता छ तर अब समय कार्यालयमा बिताएको घण्टा मात्र गन्ने होइन, नागरिकको जीवनमा आएको सकारात्मक परिवर्तन मापन गर्ने हो ।

प्रतिक्रिया