आलोचनाको जबाफसहित रोनाल्डोको कीर्तिमान, बने ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले पिफा विश्वकपमा आफ्नो गोलको खाता खोल्दै टोलीलाई प्रभावशाली जित दिलाएका छन् । उज्बेकिस्तानविरुद्धको खेलमा दुई गोल गर्दै उनले पोर्चुगललाई ५–० को फराकिलो जित दिलाए । यस प्रदर्शनसँगै उनले पछिल्लो केही दिनदेखि आफू र टोलीमाथि भइरहेको आलोचनालाई जबाफ दिएका छन् । विश्वकपको पहिलो खेलमा पोर्चुगलले डेमोक्रेटिक रिपब्लिक अफ कंगोसँग १–१ को निराशाजनक बराबरी खेलेको थियो । त्यसपछि टोलीको प्रदर्शनलाई लिएर व्यापक आलोचना भएको थियो । त्यही दबाबका बीच मैदान उत्रिएका रोनाल्डोले पहिलो हाफमै २ गोल गर्दै आफ्नो उत्कृष्ट फर्म पुनः प्रमाणित गरे । उनले फेरि एकपटक आफू अझै पनि विपक्षीको गोलपोस्ट नजिक घातक खेलाडी रहेको सन्देश दिएका छन् ।

यसअघि प्रतियोगितामा अर्जेन्टिनाका लियोनेल मेसी, नर्वेका एर्लिङ हालान्ड र फ्रान्सका किलियन एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गर्दै गोल गरेका थिए । रोनाल्डो भने गोलविहीन रहँदा विभिन्न टिप्पणीहरू भएका थिए । तर उज्बेकिस्तानविरुद्धको खेलमा २ गोल गरेपछि उनले इतिहास रचेका छन् । उनी विश्वकपका ६ वटै संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । साथै, उनले विश्वकपमा पोर्चुगलका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् । यसअघि यो कीर्तिमान पोर्चुगलका महान् खेलाडी युसेबियोको नाममा थियो । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले रोनाल्डो र मेसीबीचको प्रतिस्पर्धाले विश्व फुटबललाई नयाँ उचाइमा पु¥याएको बताएका छन् । उनका अनुसार दुवै खेलाडीले एकअर्कालाई प्रेरणा दिँदै आफ्नो स्तर अझ उकासेका छन् । उनले रोनाल्डोलाई राष्ट्रिय टोलीको प्रेरणादायी व्यक्तित्व र आदर्श खेलाडीको रूपमा वर्णन गरे ।

मार्टिनेजले भने, ‘रोनाल्डो केवल गोल गर्ने खेलाडी मात्र होइनन् । उनले टोलीका लागि अवसर सिर्जना गर्छन्, उत्कृष्ट पास दिन्छन् र मैदान तथा ड्रेसिङ रुम दुवैमा सकारात्मक भूमिका खेल्छन् । उनी युवा खेलाडीहरूका लागि अनुकरणीय उदाहरण हुन् ।’ २ गोल गरेपछि मैदान छाड्ने क्रममा रोनाल्डोले टेलिभिजन क्यामेरातर्फ हेर्दै ‘म फर्किएको छु’ भन्ने संकेत गरेको देखिएको थियो । यद्यपि प्रशिक्षक मार्टिनेजले रोनाल्डोले कहिल्यै आफ्नो क्षमतामाथि शंका नगरेको बताए । उनका अनुसार रोनाल्डो कठिन परिस्थितिमा पनि निरन्तर मिहिनेत गर्ने खेलाडी हुन् । उज्बेकिस्तानका प्रशिक्षक तथा सन् २००६ मा इटालीलाई विश्वकप जिताएका पूर्वकप्तान फाबियो कानाभारोले पनि रोनाल्डोको प्रशंसा गरे । उनले रोनाल्डोजस्ता खेलाडीलाई रोक्न अत्यन्त कठिन हुने बताए । ‘यदि तपाईंले उनलाई एक सेन्टिमिटर मात्र खाली स्थान दिनुभयो भने पनि उनले गोल गर्न सक्छन्,’ कानाभारोले भने ।

उनले थपे, ‘पोर्चुगलका खेलाडीहरूले उनलाई विश्वास गर्छन् र बल उपलब्ध गराउँछन् । एक डिफेन्डरका रूपमा उनलाई नियन्त्रण गर्न निकै बुद्धिमानी आवश्यक पर्छ । उनी अत्यन्तै व्यावसायिक खेलाडी हुन् र अझै केही वर्ष उच्च स्तरमा फुटबल खेल्न सक्ने क्षमता राख्छन् ।’ यसैबीच, फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले पनि रोनाल्डोलाई ऐतिहासिक उपलब्धिका लागि बधाई दिएका छन् । उनले विश्वकपको बाँकी यात्राका लागि शुभकामना दिँदै रोनाल्डोको उपलब्धिलाई फुटबल इतिहासकै एक महझवपूर्ण क्षणको रूपमा वर्णन गरेका छन् ।

कोलम्बिया नकआउट चरणमा, घानाको सम्भावना मजबुत

विश्वकपअन्तर्गत बुधबार बिहान भएको खेलमा पूर्वविजेता इंग्ल्यान्डलाई र घानाले बराबरीमा रोकेको छ । समूह ‘एल’अन्तर्गतको आफ्नो दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । समूह चरणको आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई ४–२ गोलअन्तर र घानाले पानामालाई १–० गोलले पराजित गरेका थिए । यस बराबरीले घानाको नकआउट सम्भावना बजबुत बनेको छ भने इंग्ल्यान्डले अन्ति–३२ प्रवेशका लागि अर्को खेल कुर्नुपर्ने भएको छ । बुधबार बिहान नै भएको यसै समूहको अर्को खेलमा क्रोएसियाले पनामालाई १–० ले हरायो । यस जितसँगै क्रोएसियाले नकआउट सम्भावना जीवितै राखेको छ भने पनामा प्रतियोगिताबाट बाहिरिएको छ । पोर्चुगल रहेको समूह ‘के’को अर्को खेलमा कोलम्बियाले डिआर कंगोलाई १–० ले हराएको छ । यससँगै कोलम्बिया नकआउट चरणमा प्रवेश गरेको छ । कंगोले भने नकआउटमा पुग्न अर्को खेल जित्नुपर्ने अवस्था आएको छ ।

प्रतिक्रिया