
काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–४ को गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा सडकबाट टेम्पो भिरमा खसालिएको घटनामा सोधपुछका लागि प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले ६ जना र इलाका प्रहरी कार्यालय मालाखेतीले चार जना गरेर १० जनालाई नियन्त्रणमा लिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले वन कर्मचारीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिए ।
उनका अनुसार गाईबाँधेमा महिलाले खुद्रा सामान बिक्रि गर्न प्रयोग गर्दै आएको टेम्पो भीरबाट खसाल्ने कार्यमा संलग्न भएका कर्मचारीको पहिचान गर्ने काम भइरहेको छ ।
भीमदत्त राजमार्ग क्षेत्रको वन अतिक्रमण हटाउने क्रममा शुक्रबार गाईबाँधेमा धनादेवी धामीले खुद्रा पसलका लागि प्रयोग गर्ने गरेको टेम्पो वन कर्मचारी र वन रक्षकले भीरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
डिभिजन वन कार्यालय धनगढीले आइतबार बिहान पत्रकार सम्मेलन गर्दै उक्त टेम्पो कवाड भइसकेको र छाप्रोका रुपमा प्रयोग गरेर सडक छेउमा राखिएको जनाएको छ ।
प्रतिक्रिया