
पर्वत । जन्मेदेखि नै पूर्ण अपांगताको जीवन बिताउँदै आएकी पर्वतको जलजला गाउँपालिका–४ फड्केढुंगाकी २४ वर्षीया सुनिता विकले घरमै नागरिकता पाएकी छन् ।
चौविसै घण्टा बिस्तारामै पल्टिरहने भएका कारण परिवारले सदरमुकाम कुश्मामा रहेको जिल्ला प्रशासन कार्यालयसम्म ल्याउन नसक्ने भएपछि आज घरमै लगेर नागरिकता वितरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलसहित कार्यालयका कर्मचारी, स्थानीय वडाध्यक्ष भरत जिसी लगायतको सहभागितामा नागरिकता हस्तान्तरण गरिएको हो ।
कार्यालयसम्म आएर सेवा लिन नसक्नेहरुलाई नागरिकता जस्तो महत्वपूर्ण कागजातबाट वञ्चित हुन नपरोस् भनेर घरमै ल्याएर वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । उनले अपांगताको प्रकृति हेर्दा अत्यन्तै दयनीय रहेकाले सदरमुकाममा बोलाने कुनै उपायसमेत नभएको बताए ।
नागरिकता पाएसँगै राज्यबाट पाउने सामाजिक सुरक्षा भत्ता लगायतका अन्य सहयोग प्राप्त गर्न सहज हुने प्रजिअ पौडेलको भनाइ छ । पीडित सुनिताका बाबु काला सुनारले पोलियो रोगका कारण छोरीको यस्तो अवस्था भएको बताए ।
जुनसुकै अस्पतालमा लैजाँदा पनि निको हुन नसकेको बताउँदै उनले पूर्ण रुपमा अपांगता हुँदा परिवार नै समस्यामा परेको बताए । खाना खुवाउने, सरसफाइ गरिदिन एक जना पूर्ण रुपमा खटिनुपर्दा परिवारको अन्य गुजारा चलाउन समस्या भएको सुनारले बताए ।
सुनिताका दुई दाजुको स्वास्थ्य अवस्था राम्रै छ । तेस्रो सन्तानको रुपमा जन्मिएकी उनी सुरुका आठ महिनासम्म ठीकठाकै भए पनि त्यसपछि स्वास्थ्य बिग्रिदै गएको र अपाङ्गताले थलिँदै गएको सुनारले बताउनुभयो । नागरिकता बनेसँगै अब नियमित वडा कार्यालवाट भत्ता दिइने जलजला–६ का वडाध्यक्ष भरत जिसीले जानकारी दिए ।
प्रतिक्रिया