
काठमाडौँ । २१ फागुनको प्रतिनिधिसभा चुनावपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखापरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारप्रति विषवमन गर्दै पार्टी नेतृत्वबाट कसै गरे नहट्ने हठ प्रस्तुत गरेका छन् । बुधबार पार्टीको संगठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक २ दिने राष्ट्रिय कार्यशाला उद्घाटन गर्दै उनले पार्टी नेता, कार्यकर्ता तथा आमअपेक्षाविपरीत अभिव्यक्ति दिए । ओलीले जेनजी आन्दोलन हुँदै प्रतिनिधिसभा चुनावको परिणामको विषयमा नकारात्मक टिप्पणीमात्रै गरेनन्, राज्य संयन्त्रमाथि नै धावा बोले ।
पार्टीभित्र जेनजी आन्दोलन र चुनावी परिणामलाई हेर्ने दृष्टिकोणको सम्बन्धमा व्यापक छलफल भइरहेको छ । यी दुवै घटनामा पार्टीको मूल नेतृत्व जिम्मेवार भएको आवाज पार्टीभित्र बलियो बन्दै गइरहेको छ । चुनावी हार, जेनजी आन्दोलन जाँचबुझ आयोग र मानवअधिकार आयोगको प्रतिवेदनमा दोषी ठहर, सोही प्रकरणमा प्रहरी हिरासत, बिरामी शरीर र पार्टी पंक्तिबाट आइरहेको नेतृत्व छाड्न तीव्र दबाबका बीच ओली सहजै नेतृत्व हस्तान्तरणका लागि तयार हुने अपेक्षाका बीच उनले आक्रामक शैलीमा प्रस्तुत हुँदै नेतृत्व नछाड्ने बताए । उल्टै नेतृत्वबारे प्रश्न उठाउनेहरूलाई अनुशासनको कुरा सुनाउँदै कारबाहीको डन्डा बर्साउने संकेत गरे ।
‘आयोग मान्दिनँ, सम्पत्ति विवरण चाहिए खरानी उठाएर लैजा’
अध्यक्ष ओलीले सरकारप्रति विषवमन गरेका छन् । उनले सरकार गठन प्रक्रियामाथि नै प्रश्न उठाउँदै सरकारले गरेका कामकारबाही मान्य नहुने बताए । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई अस्वीकार गर्ने भन्दै उनले सम्पत्ति विवरण नभर्ने घोषणा गरे । सरकारले २०६२÷०६३ सालपछिका उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक व्यक्तित्वहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेर काम थालिसकेको छ । आयोगले उच्च पदस्थलाई आयोगमा सम्पत्ति विवरण बुझाउन र उनीहरूउपर उजुरी दिन आमनागरिकलाई आह्वानसमेत गरेको छ । यसै सन्दर्भमा अध्यक्ष ओलीले आयोगलाई मान्यता नदिने बताएका हुन् । उनले देशद्रोही क्रियाकलापबाट बनेको सरकारले बनाएको आयोगलाई सम्पत्ति विवरण नबुझाउने चुनौती दिएका हुन् ।
‘यो राज्य राज्य होइन, यो पूर्वाग्रहको पोको हो । प्रतिशोधको पोको हो । देशद्रोही क्रियाकलाप गर्ने प्रायोजित भवितव्यले बनेको चिज हो,’ उनले भने, ‘यसले विपक्षीलाई फसाउन यस्ता क्रियाकलाप गरेको छ । यस्ता आयोगलाई हामी मान्यता दिदैनौँ । अरू कसैले बयान दिए पनि मचाहिँ बयान दिन्नँ । सम्पत्ति विवरण भरेर पठाउँदिनँ । जे–जे गर्न सक्छ, गरोस् ।’ उनले आफ्नो सम्पत्ति जेनजी आन्दोलनमा जलाएर खरानी बनाइएको भन्दै सरकारलाई त्यही खरानी नै उठाएर लैजान भने । ‘आगो लगाएर पुगेन, सम्पत्ति विवरण चाहियो ?,’ उनले भने, ‘खरानी छ, उठाएर लैजा… सरकार ।’ उनले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा भएको घटनाको जाँचबुझ आयोगमा समेत आफूले बयान नदिएको जिकिर गर्दै आयोगले आफ्नो इज्जत राख्न प्रतिवेदनमा ‘बयान दिएको’ उल्लेख गरिएको बताए ।
‘चुनाव केवल तमासा थियो’
चुनावमा एमालेको लज्जास्पद हारको जिम्मेवारी लिन उनलाई पार्टीमा दबाब बढेको छ । हालसम्म पार्टीको समीक्षा प्रतिवेदन आइसकेको छैन । बरु समीक्षासहित पुनर्गठनको प्रतिवेदन ल्याउने भनेर समिति बनाइएको छ । तर, अध्यक्ष ओलीले भने २१ फागुनको चुनावलाई नाटक र तमासाको रूपमा टिप्पणी गरे । उनले परिणाम पूर्वनिर्धारित भएको बताए । ‘चुनाव नाटक तमासा हो । हामीले पहिलोपल्ट होइन । धेरै पटक चुनाव लडेका छौँ,’ उनले भने, ‘उम्मेदवारले अधिकांश मतदाता चिनेका छन् । खारेज भएको उम्मेदवारको मत डबल आउने भनेको पूर्वनिर्धारित योजनाअन्तर्गत हो ।’ यता, सरकारको स्पिरिटमा चलिरहेका राज्य संयन्त्रमाथि पनि उनले धावा बोलेका छन् । उनले समय एकैनासको नहुने भन्दै उत्ताउलिएर धेरै अघि नबढ्न चेतावनीसमेत दिए । ‘राज्य संयन्त्रमा रहेका संस्था र व्यक्तिहरूलाई म भन्न चाहन्छु— समय र परिस्थिति एकैनासको रहँदैन । उत्ताउलिएर धेरै अगाडि नबढ्नुहोला,’ चेतावनी दिँदै उनले भने, ‘राणाशासन ढले, पञ्चायती तानाशाही ढले, राजतन्त्र ढले । यो अराजकतन्त्र कति समयको पाहुना हो । यो अराजकतन्त्र धेरै चल्न सक्दैन ।’
०००
‘कसै गरे नेतृत्व छाड्दिनँ’
पार्टी पुनर्गठनको आवाज रोक्न नसकेर गत सचिवालय बैठकमा पार्टी पुनर्गठनका लागि आवश्यक छलफल गरी प्रतिवेदन पेस गर्न भन्दै उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वमा समिति बनाएका ओलीले पार्टीको नेतृत्व भने नछाड्ने स्पष्ट अडान राखेका छन् । बरु पुनर्गठन भन्नेहरूउपर कारबाहीको डन्डा चलाउने संकेत गरे । ‘मैले बीचैमा झोला फ्याँकेर अलपत्र छाडेर हिँड्ने हो कि ? त्यो आशंका मनमा नलिनुहोला,’ उनले भने, ‘म अप्ठयारो परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाएर पार्टीलाई सफलतामा पु¥याएर विधिविधान, प्रक्रियामा मैले विश्राम लिने अवस्था बन्छ ।’
उनले पार्टी पुनर्गठन पक्षधरले विरोधीले गरेको हमला नबुझी आफूउपर हमला गरेका बताए । उनीहरूले शिर काटेर टेबुलमा राख्दियो भने पार्टी मज्जाले अघि बढ्छ भन्ने भ्रम पालेको उल्लेख गरे । ‘म व्यक्तिगत तवरमा पनि ढल्न सक्छु, पछारिन सक्छु । तर, घुँडा टेक्नेवाला छैन । मेरो शिर काटिन सक्छ, तर शिर झुक्नेवाला छैन । म हात उठाउनेवाला छैन,’ उनले भने । उनले पुनर्गठनको माग गर्नेहरूलाई पार्टी विधि, पद्धति र अनुशासनका कुरा गरेर तर्साउन खोजेका छन् । ओलीको यस अभिव्यक्तिले पुनर्गठन हुने आशामा रहेको पार्टी पंक्ति पुनः झस्किएको छ । उनको अभिव्यक्तिको पार्टीका नेता कार्यकर्ताले सामाजिक सञ्जालमार्फत् सांकेतिक रूपमा विरोध गरिरहेका छन् ।
ओलीलाई विष्णुको काउन्टर : पार्टी पुनर्गठन गर्छौं

सोही कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष ओलीलाई काउन्टर दिएका छन् । उनले यही ढंगले पार्टी चल्न नसक्ने भन्दै पुनर्गठन गर्नुपर्ने बताए । उनले पार्टी पुनर्गठन प्रस्ताव तयार गर्न कार्यदल बनेको उल्लेख गर्दै सोही आधारमा पुनर्गठन गर्ने बताए । ‘हाम्रो पार्टीमा अहिले हामीले जसरी काम गर्दै र्छौँ, यही रूपमा, यस्तै ढंगले हाम्रो पार्टी अगाडि बढ्न सक्दैन,’ उनले भने, ‘पार्टीको संगठनात्मक जीवनलाई पनि पुनर्गठन गर्नेछौँ ।’ उनले आगामी केन्द्रीय कमिटी बैठकले पार्टी पुनर्गठनबारे निर्णय गर्ने बताए ।
प्रतिक्रिया