
काठमाडौँ । ५ दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भेटका क्रममा उनीहरूबीच नेपाल–भारत सम्बन्ध, रास्वपा र भारतीय जनता पार्टीबीचको सम्बन्ध, २ देशबीचको आपसी हितका साथै विविध पक्षमा छलफल भएको थियो । लामिछानेसँगको भेटपछि प्रधानमन्त्री मोदीले दुवै देशको साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने प्रतिबद्धता जनाउँदै भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन उक्त भेट महत्वपूर्ण भएको जानकारी दिएका छन् । फेसबुकमा भेटको तस्बिर सेयर गर्दै मोदीले सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुसी लागेको उल्लेख गर्दै लामिछानेसँग साझा समृद्ध भविष्यका लागि नजिकबाट सहकार्य गर्ने र नेपालको चाहनालाई स्वागत र पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गरेका छन् ।
प्रधानमन्त्री मोदीले ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल मुख्य साझेदार राष्ट्र भएको र दुवै देशबीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पु¥याउन नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको बताएका छन् । ‘हाम्रो छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पु¥याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ,’ सामाजिक सञ्जालमा मोदीले लेखेका छन् ।
मोदीसँगको भेटपछि रवि लामिछानेले १ घन्टा लामो भेटवार्ता अत्यन्त उपयोगी र फलदायी रहेको जनाउँदै नेपाल र भारतले विगतका सीमितता र बाधाहरूलाई पार गर्दै ‘विकास कूटनीति’को नयाँ युगमा प्रवेश गर्ने विषयमा दुई पक्षबीच संवाद गरेको बताए । ‘नेपाल र भारतले विगतका सीमितता र बाधाहरूलाई पार गर्दै विकास–कूटनीतिको नयाँ युगमा प्रवेश गर्ने कुरा समावेश छ,’ लामिछानेले भनेका छन्, ‘साझा सभ्यतागत सम्बन्ध, डिजिटल करिडोरहरू र सहज कनेक्टिभिटीमा केन्द्रित भएर हामीले वास्तवमै प्रगति र आपसी विश्वासमा आधारित साझेदारी निर्माण गर्न सक्छौँ ।’
उक्त भेटका क्रममा भारतीय पक्षबाट विदेशमन्त्री डा. एस जयशंकर, प्रधानमन्त्री मोदीका प्रमुख सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशसचिव विक्रम मिसरीलगायतको उपस्थिति थियो भने भने नेपालका तर्फबाट लामिछाने पत्नी निकिता पौडेल, रास्वपाका नेताद्वय विपिन आचार्य र दीपक बोहरा तथा नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उच्च अधिकारीको सहभागिता थियो । यसअघि मंगलबार भारतका गृहमन्त्री अमित शाह, विदेशमन्त्री डा. जयशंकर, भाजपाका अध्यक्ष नीतिन नवीनलगायत उच्च पदाधिकारीसँग लामिछानेको भेटवार्ता भएको थियो । उक्त भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हितका मुद्दाहरू, लोकतान्त्रिक अभ्यासहरू, सुरक्षा सहयोग र २ देशका राजनीतिक दलबीचको संवाद र सहयोगका विषयमा छलफल भएको थियो । भाजपा अध्यक्ष नवीनको निमन्त्रणामा भारतको ५ दिने भ्रमणका लागि सोमबार नयाँ दिल्ली पुगेको सभापति लमिछानेको टोली भोलि शुक्रबार नेपाल फर्किने कार्यतालिका छ ।
प्रतिक्रिया