
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भेटमा दुई पक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।
भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा तस्विर सार्वजनिक गर्दै छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल एक प्राथमिकता साझेदार भएको र दुई देशहबीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर रहेको बताएका छन् ।
उनले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका अध्यक्ष श्री रवि लामिछानेलाई भेट्न पाउँदा खुसी लाग्यो, साझा र समृद्ध भविष्यको लागि मिलेर काम गर्ने उहाँको इच्छालाई म स्वागत गर्दछु र पूर्ण रूपमा साझा गर्दछु, हाम्रो छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल एक प्राथमिकता साझेदार हो र हामी हाम्रा दुई देशहरू बीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौँ ।’

सोमबार भारत भ्रमणमा गएका रास्वपा सभापति लामिछानेलाई हिजो भाजपा कार्यालयमा भव्य स्वागत गरिएको थियो । सरकारको नेतृत्व गरेको भाजपाका अध्यक्ष नितिन नवीनले रास्वपा सभापति रविलाई स्वागत गरेका थिए ।
मंगलबार नै भारतीय विदेशमन्त्री एस। जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि लामिछानेले भेटघाट गरेका थिए । सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भाजपाको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि जेठ १८ गते प्रस्थान गरेको थियो ।
सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, रास्वपाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य रहेका छन् ।
प्रतिक्रिया