
काठमाडौँ । लुम्बिनी प्रदेश सरकार पुनर्गठनको तयारीका बीच नेकपा एमालेबाट सरकारमा सहभागी चार जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् । बुधबार भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेमबहादुर सारू तथा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री सीता शर्मा चौधरीले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष राजीनामा बुझाएका हुन् । मुख्यमन्त्री आचार्यले मन्त्रीहरूको कार्यकालको प्रशंसा गर्दै उनीहरूलाई धन्यवाद ज्ञापन गरेका छन् भने राजीनामा स्वीकृत समेत गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर ८ मा सीमित गर्ने निर्णय गरिसकेको छ । मन्त्रालयको संरचना पुनर्गठन गर्ने नीति तथा कार्यक्रमअनुसार सरकार पुनर्गठनको प्रक्रिया अघि बढाइएको बताइएको छ । सत्ता साझेदार दलहरूबीच सरकार पुनर्गठनबारे छलफल चलिरहेका बेला एमालेले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्य भने यथावत् रहनेछन । एमाले स्रोतका अनुसार नयाँ मन्त्री नियुक्तिका लागि गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रूपन्देहीका तुलसीप्रसाद चौधरी तथा बाँकेका रत्न खत्रीको नाम सिफारिस गरिएको छ ।
रत्न खत्री यसअघि सामाजिक विकासमन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेता हुन् भने भुसाल, घिमिरे र चौधरी मन्त्रीका लागि नयाँ अनुहार मानिएका छन् । दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएर पनि मन्त्री बन्ने अवसर नपाएका सांसदलाई प्राथमिकतामा राख्ने एमालेको रणनीतिअनुसार घिमिरे र चौधरीको नाम अगाडि आएको बताइएको छ । यद्यपि बजेट कार्यान्वयनको सुरुआती चरणमै मन्त्री फेरबदल हुँदा सरकारको कामकारबाही र विकास योजनाको प्रभावकारी कार्यान्वयनमा केही चुनौती थपिन सक्ने आकलन गरिएको छ ।
प्रतिक्रिया