अवसरवादको उकालो र विचारको ओरालो यात्रा

परिघटनाले वैचारिक निष्ठाभन्दा तत्कालीन राजनीतिक अवसर र व्यक्तिगत महत्वाकांक्षा बढी निर्णायक बनेको त होइन भन्ने गम्भीर नैतिक प्रश्न उब्जाएको छ । निर्वाचनको ठिक अगाडि र चुनावी सरगर्मी बढेपछि रास्वपामा प्रवेश गरेका धेरै नेताहरूको पृष्ठभूमि केलाउँदा पनि यही अवसरवादी प्रवृत्तिको पुनरावृत्ति देखिन्छ ।

नेपालको समसामयिक राजनीतिमा अहिले एउटा नयाँ र चिन्ताजनक प्रवृत्ति तीव्र रूपमा संस्थागत भइरहेको छ । त्यो हो, राजनीतिक विचारधारा, सिद्धान्त, संगठन र ऐतिहासिक आन्दोलनप्रतिको निष्ठाभन्दा व्यक्तिगत हित, पद, प्रतिष्ठा र तत्कालीन अवसरलाई सर्वोपरि ठान्ने चरित्र । समाज रूपान्तरणका लागि राजनीतिक दल परिवर्तन हुनु, समय अनुकूल नयाँ वैचारिक दृष्टिकोण तय गरिनु वा वैकल्पिक राजनीतिक यात्राको आरम्भ हुनु आफैँमा अस्वाभाविक परिघटना भने पक्कै होइनन् । तर, जब राजनीतिक आस्था र निष्ठा कुनै गम्भीर वैचारिक वा दार्शनिक निष्कर्षको परिणाम नभई केवल क्षणिक सत्ता र स्वार्थको जोडघटाउमा आधारित हुन थाल्छ, तब सिंगो व्यवस्थामाथि नै प्रश्न उठ्छ । यस्तो प्रवृत्तिले लोकतान्त्रिक संस्कृतिको आधारभूत चरित्र र मूल्य–मान्यतामाथि सिधै प्रहार गरिरहेको हुन्छ ।

मूलतः राजनीतिक दलहरू समाज परिवर्तन र अग्रगामी रूपान्तरणका लागि भरपर्दो वैचारिक औजार हुन् । त्यसकारण पनि लोकतान्त्रिक व्यवस्थाको दिगोपन, यसको स्थायित्व र जनविश्वास राजनीतिक दलहरूको नीतिगत स्पष्टता, संगठनात्मक अनुशासन र कार्यकर्ताहरूको निष्ठापूर्ण प्रतिबद्धतामा मात्र निर्भर रहन्छ । कुनै पनि दल सिद्धान्तहीन हुँदा त्यो केवल भिडमा परिणत हुन्छ, जसले देशलाई स्पष्ट दिशा दिन सक्दैन । तर, विडम्बना नै भन्नुपर्छ, नेपाली राजनीतिमा अचेल दल र देशप्रतिको वैचारिक उत्तरदायित्व दिनानुदिन कमजोर बन्दै गइरहेको छ । अर्कातर्फ, मूल्य मान्यताको राजनीतिलाई किनारा लगाउँदै जसरी भए पनि व्यक्तिगत अवसर र सत्ताको निकट पुग्ने आत्मकेन्द्रित सोच झन्झन् बलियो बन्दै गइरहेको प्रस्ट देखिन्छ ।

यस प्रकारको वैचारिक स्खलनले समग्र मुलुकको शासन व्यवस्था र दलीय प्रणालीलाई नै ठुलो संकटतर्फ धकेलिरहेको छ । देशको राजनीति नीति र विचारको स्वस्थ प्रतिस्पर्धाबाट च्युत हुँदै केवल सीमित व्यक्तिहरूको असीमित महत्वाकांक्षा र स्वार्थको द्वन्द्वमा रूपान्तरण हुने खतरा पैदा भएको छ । यो प्रवृत्ति कायम रहेमा यसले राजनीतिक स्थिरतालाई मात्र भत्काउँदैन, बरु आमजनतामा लोकतन्त्र र यसका हिमायतीहरूप्रति नै गम्भीर निराशा र चरम अविश्वास पैदा गराउँछ । तसर्थ, विचारको ओरालो यात्रालाई रोकेर निष्ठाको राजनीति स्थापित गर्नु आजको सबैभन्दा ठुलो चुनौती र आवश्यकता दुवै हो ।

अवसरवादको इतिहास

नेपाली राजनीतिमा अवसरवाद कुनै नौलो विषय नभएर निकै पुरानो र जकडिएको रोग हो । इतिहासका विभिन्न कालखण्डमा व्यक्तिगत महत्वाकांक्षा, आन्तरिक शक्ति संघर्ष वा तत्कालीन लाभका लागि आफ्नो मूल राजनीतिक धारलाई तिलाञ्जली दिने नेताहरू नजिरका रूपमा रहेकै छन् । मातृकाप्रसाद कोइरालाले आफ्नै दलसँगको टकरावपछि छुट्टै राजनीतिक बाटो रोजेका थिए भने डा.केशरजंग रायमाझीले कम्युनिस्ट आन्दोलनको एउटा धारलाई राजतन्त्रको सेवामा बुझाउने प्रयास गरे । पञ्चायतविरोधी कडा वाम आन्दोलनबाट उदाएका राधाकृष्ण मैनाली पछि राजाको प्रत्यक्ष शासनकालमा मन्त्री बन्न पुगे भने विश्वबन्धु थापा र परशुनारायण चौधरीजस्ता पात्रहरू पनि आफ्नो स्थापित वैचारिक स्थानबाट विचलित भएका ऐतिहासिक दृष्टान्त हुन् ।

विगतका त्यस्ता घटनाहरू पूर्ण रूपमा अपवाद नभए पनि निकै सानो स्तरमा मात्र देखा पर्ने गर्थे । तत्कालीन समयमा एउटा सिंगो पुस्ताले दशकौँसम्म एउटै विचार, आन्दोलन र संगठनमा रहेर अविचलित रूपमा संघर्ष गर्नुलाई नै आफ्नो जीवनको सबैभन्दा ठुलो गर्व र आदर्श मान्ने गर्दथ्यो । नेपालका लोकतान्त्रिक तथा कम्युनिस्ट आन्दोलनका अग्रणी नेताहरूले कठोर जेल, लामो निर्वासन र शासकहरूको बर्बर दमन सहँदै पनि आफ्नो वैचारिक निष्ठालाई कहिल्यै परित्याग गरेनन् । उनीहरूका लागि राजनीति सत्ता प्राप्ति र स्वार्थको माध्यम मात्र नभएर एउटा पवित्र जीवनदर्शन र समाज रूपान्तरणको महाअभियान थियो, जसमा निष्ठाको मूल्य उच्च हुन्थ्यो ।

तर, आजको नेपाली राजनीतिको दृश्यपटल भने हिजोको तुलनामा बिल्कुलै भिन्न र उल्टो दिशातर्फ बगिरहेको देखिन्छ । समसामयिक राजनीतिमा दल परिवर्तन अब कुनै असाधारण परिघटना रहेन, बरु यसलाई एउटा सामान्य अभ्यास र एक प्रकारको सुरक्षित पेसाजस्तै बनाइँदै छ । आफ्नो दल थोरै कमजोर हुनासाथ अर्को दलमा जाने, चुनावमा टिकट नपाए तुरुन्तै नयाँ पार्टी रोज्ने र व्यक्तिगत लाभ देखिनासाथ रातारात गठबन्धन बदल्ने प्रवृत्ति व्यापक बनेको छ । राजनीतिशास्त्रको भाषामा यसै चरित्रलाई ‘क्याच–अल पोलिटिक्स’ वा दलहरूको सिन्डिकेट खडा गर्ने ‘कार्टेलाइजेसन अफ पार्टिज’ भनेर चिनिन्छ, जसले लोकतन्त्रको प्राण मानिने निष्ठालाई समाप्त पार्दै छ ।

यो वैचारिक बहसको केन्द्रमा अहिले उदाउँदो शक्तिका रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देखा परेको छ । यस पार्टीको आकस्मिक उदय मूलतः नेपाली जनतामा स्थापित पुराना राजनीतिक दलहरूप्रति बढ्दो व्यापक असन्तुष्टि र भरपर्दो वैकल्पिक शक्तिको खोजीको स्वाभाविक परिणाम थियो । विद्यमान व्यवस्थाभित्र मौलाएको भ्रष्टाचार, नीतिगत अकर्मण्यता, कुशासन र पुराना दलहरूको परम्परागत गुटबन्दीपूर्ण कार्यशैलीप्रति जनतामा रहेको गम्भीर निराशालाई रास्वपाले आफ्नो मुख्य राजनीतिक पुँजीका रूपमा कुशलतापूर्वक उपयोग गर्न सफल भयो । तर, यसको संगठनात्मक संरचना र नेतृत्व तहलाई नजिकबाट नियाल्दा कतिपय विरोधाभासपूर्ण चित्रहरू बाहिर आउने गरेका छन् ।

विशेष गरी, रास्वपाका धेरै प्रभावशाली अनुहारहरू लामो समयदेखि यसको वैचारिक निर्माण प्रक्रिया वा भुइँतहको संघर्षमा सहभागी भएका ‘अर्गानिक’ कार्यकर्ता नभएर अन्य दल, राज्य संयन्त्र, निजी क्षेत्र वा फरक पेसागत पृष्ठभूमिबाट भित्रिएका व्यक्तिहरू हुन् । उदाहरणका लागि, अर्थमन्त्री स्वर्णिम वाग्ले लामो समयसम्म नेपाली कांग्रेसको नीतिगत तहमा क्रियाशील रहेका र उनको सामाजिक–राजनीतिक प्रतिष्ठा निर्माणमा सोही दलको ठुलो योगदान थियो । तर, संसदीय निर्वाचनमा उम्मेदवारी पाउने निश्चित नभएपछि उनले कांग्रेस परित्याग गरी रास्वपाको यात्रा तय गरे । यस परिघटनाले वैचारिक निष्ठाभन्दा तत्कालीन राजनीतिक अवसर र व्यक्तिगत महत्वाकांक्षा बढी निर्णायक बनेको त होइन भन्ने गम्भीर नैतिक प्रश्न उब्जाएको छ ।

निर्वाचनको ठीक अगाडि र चुनावी सरगर्मी बढेपछि रास्वपामा प्रवेश गरेका धेरै नेताहरूको पृष्ठभूमि केलाउँदा पनि यही अवसरवादी प्रवृत्तिको पुनरावृत्ति देखिन्छ । यदि ती पात्रहरू वास्तवमै रास्वपाको मार्गदर्शक सिद्धान्त र राजनीतिक दर्शनप्रति पूर्ण प्रतिबद्ध थिए भने पार्टी स्थापनाको प्रारम्भिक तथा संघर्षपूर्ण कालखण्डमा उनीहरू किन जोडिएनन् भन्ने प्रश्न अनुत्तरित नै छ । नेपाली समाजमा प्रचलित उखान ‘चैते बाली मौसम अनुकूल हुँदा मात्र फल्छ’ भनेझैँ, यो नव–प्रवेशी जमात केवल अनुकूलताको यात्री मात्र बन्ने खतरा रहन्छ । भोलिका दिनमा राजनीतिक प्रतिकूलता र संकट सुरु भएपछि यस्तो वैचारिक धरातल नभएको नेतृत्व पंक्ति सजिलै छिन्नभिन्न हुन सक्ने प्रबल सम्भावनालाई नकार्न सकिँदैन ।

राजनीतिक संस्कृतिको संकट

यो अवसरवादी प्रवृत्ति केवल रास्वपामा मात्र सीमित नभएर समग्र नेपाली राजनीतिको मूलधारमै व्याप्त महारोगका रूपमा देखा परेको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)देखि मधेस केन्द्रित दलहरूसम्म सबैमा यसखालको आत्मकेन्द्रित चरित्र प्रस्ट रूपमा देख्न पाइन्छ । निर्वाचनका बेला आफ्नै दलबाट टिकट नपाएका नेताहरू तत्काल अर्को दलमा प्रवेश गर्ने, सरकारमा मन्त्री बन्न नपाएकाहरूले पार्टीभित्रै विद्रोह गर्ने र वैचारिक मतभेदका आधारमा नभई नितान्त व्यक्तिगत असन्तुष्टिका कारण पार्टी नै फुटाउनेसम्मका अमर्यादित क्रियाकलाप जताततै भइरहेका छन् । विगतमा माओवादी, जसपा, एमाले र कांग्रेस जस्ता पुराना एवं स्थापित दलहरू पटक–पटक फुट्नुको पछाडि पनि वैचारिक मतभिन्नता भन्दा यस्तै शक्ति र पदको लुछाचुँडी मुख्य कारक रहेको थियो ।

विश्वका प्रख्यात राजनीतिक सिद्धान्तकारहरूले संस्थागत र सुदृढ राजनीतिक दलहरूलाई नै सुशासित लोकतन्त्रको मुख्य मेरुदण्ड मानेका छन् । उनीहरूको विश्लेषण अनुसार यदि राजनीतिक दलहरूभित्र वैचारिक निष्ठा, न्यूनतम नैतिक मूल्य र संगठनात्मक अनुशासन कमजोर भयो भने त्यसले समग्र लोकतान्त्रिक प्रणालीलाई नै धराशायी बनाउँछ । नेपालको वर्तमान राजनीतिक अवस्था पनि ठ्याक्कै यही संकटपूर्ण मोडमा आएर खडा भएको छ, जहाँ दलहरू सिद्धान्तहीन भिड जस्ता देखिन थालेका छन् । जब राजनीतिक विचार र दर्शनको धार भुत्ते हुँदै जान्छ, तब राजनीति पूर्ण रूपमा नीतिगत नभएर व्यक्तिकेन्द्रित बन्न पुग्छ, जसले अन्ततः विकृति मात्र निम्त्याउँछ ।

यसरी विचारहीनताको जगमा उभिएको व्यक्तिकेन्द्रित राजनीति अन्ततः क्षणिक लोकप्रियता, सस्तो सञ्चार स्टन्ट, व्यक्तिगत करिश्मा र प्रचारबाजीमा मात्र निर्भर हुन पुग्छ । तर, इतिहास साक्षी छ कि केवल सस्तो लोकप्रियता र सतही करिश्माको भरमा देश हाँक्ने स्थायी राजनीतिक संस्थाहरू कहिल्यै निर्माण हुन सक्दैनन् । लोकतान्त्रिक प्रणालीलाई दीर्घकालीन र जीवन्त बनाउनका लागि त विचारद्वारा सञ्चालित बलियो संस्थागत संरचना र त्यागी कार्यकर्ताको पंक्ति आवश्यक पर्छ । तसर्थ, वर्तमान वैचारिक संकटलाई चिर्दै राजनीतिक दलहरूले आफ्नो हराउँदै गएको सांस्कृतिक र नैतिक धरातललाई पुनः प्राप्त गर्नु आजको अनिवार्य सर्त बनेको छ ।

सम्भावना र चुनौती

रास्वपाको वर्तमान नेतृत्व तहमा युवा वर्गको उपस्थिति निकै बाक्लो देखिन्छ, जुन सकारात्मक पक्ष हो । तर, केवल युवाहरू नेतृत्वमा आउँदैमा राजनीतिक परिवर्तन, नीतिगत स्थायित्व र सुदृढ लोकतन्त्रको स्वतः ग्यारेन्टी हुन सक्दैन । हामी केवल युवा हौँ भनेर मात्र राजनीतिक प्रणालीलाई सही दिशामा डोर्याउन असम्भव हुन्छ; यसका लागि ऊर्जासँगै स्पष्ट दूरदृष्टि र वैचारिक परिपक्वता उत्तिकै आवश्यक पर्छ ।

आजको डिजिटल युगमा सामाजिक सञ्जालमा हुने युवाहरूको राजनीतिक बहसलाई नियाल्दा रचनात्मक आलोचनाको ठाउँमा उपहास, स्वस्थ बहसको ठाउँमा गालीगलौज र ठोस तर्कको ठाउँमा केवल उत्तेजना हावी भइरहेको देखिन्छ । वास्तवमा लोकतन्त्र भनेको असहमतिको शिष्ट व्यवस्थापन गर्ने र ‘असहमत हुन सहमत हुने’ एक सुन्दर प्रणाली हो । तर, कतिपय नयाँ तन्नेरी सांसदहरूमा ‘हामीबाहेक संसारका सबै खराब’ भन्ने जुन अहंकार र डरलाग्दो संकीर्ण मानसिकता बढ्दै गएको छ, त्यो लोकतान्त्रिक संस्कार विपरीत छ ।

चरम आक्रोश र सस्तो प्रचारबाजीबाट प्रेरित राजनीतिक दलहरू प्रायः संस्थागत विकास र नीति निर्माणमा निकै कमजोर सावित हुन्छन् । समाजमा रूपान्तरणको चाहना राख्नु सह्रानीय हो, तर त्यो परिवर्तनलाई संस्थागत रूप दिन धैर्यता, बलियो संगठन र दीर्घकालीन नीतिको बढी खाँचो पर्छ । यदि यही अराजक र विचारहीन शैलीमा अघि बढ्ने हो भने, नेपालको राजनीतिमा युवा नेतृत्व स्थापित हुने कुरा फेरि पनि एकादेशको कथामा मात्र सीमित हुन जानेछ ।

अहिलेको समसामयिक नेपाली राजनीति विचारभन्दा पनि सामाजिक सञ्जालको सतही प्रभावबाट बढी नियन्त्रित र निर्देशित हुँदै गइरहेको छ । फेसबुक, टिकटक, युट्युब र एक्स (ट्विटर) जस्ता भर्चुअल माध्यमहरूमा धेरै लाइक, सेयर र भ्यूज कमाउने वा लोकप्रिय देखिने व्यक्तिलाई नै सक्षम नेता ठान्ने भ्रमपूर्ण प्रवृत्ति समाजमा बढेको छ । यस डिजिटल लहरले गम्भीर र गहन राजनीतिक बहसहरूलाई पूर्ण रूपमा सतही, क्षणभङ्गुर र संकीर्ण बनाइदिएको छ ।

कुनै पनि व्यक्तिलाई बिनाआधार छिनमै महानायक र छिनमै खलनायक बनाउने जुन काम सामाजिक सञ्जालका भिडहरूमार्फत भइरहेको छ, यसले स्थापित राजनीतिक विचार, नीति र संगठनलाई निकै कमजोर बनाएको छ । सञ्जालको यो उच्छृंखल शैलीले समाजमा रचनात्मक चेतना फैलाउनुको साटो केवल पूर्वाग्रह र भ्रम मात्र उत्पादन गरिरहेछ । फलतः देशको मूलधारको राजनीतिमा यतिबेला बौद्धिकता र विवेक हराउँदै गएको छ भने सस्तो उत्तेजनाले अग्रस्थान लिइरहेको छ ।

गहन अध्ययन, जनसेवा र लामो राजनीतिक संघर्षबाट स्थापित हुनुपर्ने नेतृत्व आजभोलि केवल सञ्चार स्टन्ट र प्रचारबाजीका भरमा स्थापित हुन खोज्दैछ । राष्ट्रिय मुद्दाहरूमा हुनुपर्ने नीतिगत विमर्शहरू सामाजिक सञ्जालका ‘ट्रेन्ड’ मा संकुचित हुनु राष्ट्रका लागि घातक सूचक हो । तसर्थ, भर्चुअल दुनियाँको यो कृत्रिम आवेग र उत्तेजनाबाट मुक्त भई विवेकपूर्ण राजनीतिक चेतना निर्माण गर्नु आजको नागरिक समाज र युवा पुस्ताको मुख्य दायित्व हो ।

लोकतन्त्रका चुनौती

नेपालको लोकतन्त्र लामो संघर्ष र बलिदानपछि प्राप्त भए पनि अहिले पनि यो संस्थागत विकासको अत्यन्तै जटिल चरणबाट गुज्रिरहेको छ । संविधान निर्माण, संघीयताको कार्यान्वयन, समावेशीकरण र गणतन्त्रजस्ता ऐतिहासिक राजनीतिक उपलब्धिहरूलाई जगैदेखि स्थिर र दिगो बनाउन दूरदर्शी नीति र बलिया राजनीतिक संस्थाहरू अपरिहार्य हुन्छन् । तर, दलीय संस्थाकरण र विधिको शासन कमजोर बन्दै जाँदा यी महत्वपूर्ण उपलब्धिहरू नै संकटमा पर्ने र समग्र व्यवस्थाकै विकास अवरुद्ध हुने खतरा बढेको छ ।

वास्तवमा राजनीतिमा समय अनुकूल दल परिवर्तन हुनु वा नयाँ परिवेशमा विचार परिमार्जन गरिनु पूर्ण रूपमा गलत वा आपराधिक कुरा भने पक्कै होइन । तर, त्यस्तो वैचारिक रूपान्तरणको दार्शनिक आधार र सैद्धान्तिक निष्ठा आमजनताका सामु प्रस्ट हुनुपर्छ । कुनै व्यक्ति वा नेताले गम्भीर आत्मसमीक्षासहित आफ्नो पुरानो दृष्टिकोण त्रुटिपूर्ण रहेको निष्कर्ष निकालेर देश र समाजको हितका लागि नयाँ विचार अंगाल्छ भने त्यसलाई राजनीतिक चेतनाको विकास मान्न सकिन्छ ।

यसको विपरीत, यदि वैचारिक परिवर्तनको मुख्य आधार केवल आसन्न निर्वाचनको टिकट, आकर्षक सरकारी पद वा व्यक्तिगत लाभको अवसर मात्रै बन्छ भने त्यो विशुद्ध अवसरवाद हो । आजको नेपाली राजनीतिलाई यस्तै मूल्यहीन अवसरवाद र नीतिगत विचलनबाट जोगाउनु नै लोकतन्त्रका सामुन्ने रहेको सबैभन्दा ठुलो चुनौती हो । जबसम्म राजनीतिमा अवसर र स्वार्थको सट्टा निष्ठा र विधिको पुनरागमन हुँदैन, तबसम्म लोकतन्त्रको जरा बलियो हुन सक्दैन ।

नेपाली राजनीतिले सामना गरिरहेको प्रमुख चुनौती भ्रष्टाचारको अलावा वैचारिक क्षयीकरण पनि मुख्य हो । राजनीतिक मानिसहरू विचारको अनुयायी होइन कि अवसरका बजारका वस्तुमा रूपान्तरण हुन थालेका छन् । यो प्रवृत्ति हेर्दा आफूलाई नयाँ भन्नेहरू पुराना दलहरूको विकल्प बन्न सक्दैनन् भनेर सजिलै अनुमान गर्न सकिन्छ । राजनीतिक परिवर्तनको वास्तविक आधार व्यक्तिगत महत्वाकांक्षा होइन, सार्वजनिक हित, वैचारिक प्रतिबद्धता र संस्थागत विकासलाई बनाउनुपर्छ । लोकतन्त्रलाई बलियो बनाउने निष्ठापूर्वक काम गरेर हो, सिद्धान्तको रचनात्मक प्रयोग गरेर हो र त्यसको माध्यम व्यक्ति नभएर संस्था हुनुपर्छ ।

देशको राजनीतिक भविष्य पनि अन्ततः यही प्रश्नले निर्धारण गर्नेछ, ‘हामी अवसरको राजनीतितर्फ जाँदै छौँ कि विचारको राजनीतितर्फ ?’ यदि अवसरवाद नै राजनीतिक संस्कृतिको मूल आधार बन्यो भने दलहरू फेरिरहनेछन्, अनुहारहरू बदलिरहनेछन्, तर जनताको निराशा भने उस्तै रहनेछ र अस्थिरता पनि बढिरहनेछ । लोकतन्त्र तब मात्रै सफल हुन सक्नेछ जतिबेला राजनीतिक दलहरू व्यक्तिगत स्वार्थभन्दा माथि उठेर विचार, संगठन र सार्वजनिक उत्तरदायित्वको आधारमा खडा हुनेछन् ।

प्रतिक्रिया