पुँजी बजारलाई बजेट कति सकारात्मक ?

पिएचडी होल्डरहरू अर्थमन्त्री हुँदा सेयर बजार राम्रो नभएको इतिहास छ । पिएचडी होल्डर डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा सेयर बजार लगभग ध्वस्त नै भएको थियो । त्यस्तै डा. युवराज खतिवडाको कार्यकालमा पनि बजारले गति लिन सकेन । वर्तमान अवस्थामा डा. स्वर्णिम वाग्ले अर्थमन्त्री हुँदा पनि सेयर बजार त झन् घटिरहेको छ ।

नरेन्द्रमान श्रेष्ठ

आर्थिक वर्ष २०८३/०८४ को बजेट धितोपत्र बजारका लागि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तै भएको छ । बालेन नेतृत्वको रास्वपाको एकल सरकार बनेदेखि नै सेयर बजारको अवस्था निराशाजनक भइरहेको थियो । कतिपय लगानीकर्ताहरू आर्थिक वर्ष २०८३÷०८४ को बजेट भाषण यसै आशामा पर्खिरहेका थिए कि बजेटले सेयर बजारका लागि केही सकारात्मक नीतिहरू ल्याउनेछ । तर, लगानीकर्ताहरूले अपेक्षा गरे अनुरूपको बजेट आएन । रास्वपाका विद्वान् अर्थमन्त्रीको नेतृत्वमा तयार पारिएको बजेट विगतकै नीतिहरूको निरन्तरता जस्तो मात्र देखिएको छ ।

यद्यपि, यसपालिको बजेटले पुँजी बजारका लागि केही सकारात्मक कुराहरू पनि ल्याएको छ । बजेटले पुँजीगत लाभकरलाई नै अन्तिम करका रूपमा मान्यता दिने व्यवस्था गरेको छ, जुन सकारात्मक कदम हो । तर, अर्कोतर्फ पुँजीगत लाभकरको दर भने बढाइएको छ, साविकमा ५ प्रतिशत लाग्दै आएको करलाई ७.५ प्रतिशत र ७.५ प्रतिशत लाग्दै आएको दरलाई १० प्रतिशत पु¥याइएको छ । त्यसै गरी गैरआवासीय नेपाली (एनआरएन) हरूलाई सेयर बजारमा भित्र्याउने घोषणा गरिएको छ । यो विषय विगतका सरकारहरू र बजेटमा पनि निरन्तर भन्दै आएका हुनाले यसमा कुनै नयाँपन देखिँदैन ।

यसपालिको बजेटमा सेयर बजारभित्र सोही दिन गरिने सेयर खरिद–बिक्री (एकाधिन कारोबार), आफूसँग नभएको सेयर बेचेर पछि सस्तिएको बेला किन्ने सुविधा (बिनाधितो बिक्री) र वित्तीय व्युत्पन्न उपकरण (डेरिभेटिभ्स) जस्ता अन्तर्राष्ट्रिय अभ्यासहरू थालिने उल्लेख छ । यस्ता आधुनिक उपकरणहरूले नेपाली सेयर बजारको दायरा फराकिलो बनाउने, कारोबार रकम बढाउने र बजारमा तरलताको अभाव हुन नदिने तर्क सरोकारवालाहरूले गर्दै आएका छन् ।

यसैगरी, नेपाल टेलिकममा सरकारको स्वामित्व ६६ प्रतिशत कायम राखेर बाँकी ३४ प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने नीति बजेटमा समेटिएको छ । यसले बजारमा सेयरको आपूर्ति अत्यधिक बढाउनेछ । सेयरको आपूर्ति यसरी बढेमा बजारले त्यसलाई धान्न नसक्ने र यसले समग्र बजारमा नकारात्मक असर पार्ने देखिन्छ । राष्ट्रिय बिमा संस्थानको सेयर पनि सर्वसाधारणमा जारी गर्ने घोषणा गरिएको छ । त्यसो त विगतमा बैंक तथा वित्तीय संस्थाहरू एकआपसमा गाभिने (मर्जर) प्रक्रियाले गर्दा बजारमा सेयरको आपूर्ति पहिले नै उच्च भई बजारले गति हुन नसकिरहेको अवस्था छ । यस कारणले पनि नेपाल टेलिकम र राष्ट्रिय बिमा संस्थानको थप सेयर जारी भएपछि बजारले त्यसको चाप धान्न सक्ला त ? भन्ने गम्भीर प्रश्न खडा भएको छ ।

झन्डै दुईतिहाइ बहुमत नजिकको एकल बलियो र स्थायी सरकार हुँदाहुँदै पनि सेयर बजार किन बढ्न सकिरहेको छैन त ? भन्ने आमलगानीकर्ताहरूको भनाइ रहेको छ । कतिपय विश्लेषकहरू बैंकको ब्याजदरले सेयर बजारमा प्रभाव पार्ने बताउँछन् । बैंकको ब्याजदर र धितोपत्र बजारबिच विपरीत सम्बन्ध रहने आममान्यता छ । अर्थात्, बैंकको ब्याजदर बढेमा सेयर बजार घट्ने र ब्याजदर घटेमा सेयर बजार बढ्ने गर्दछ । यदि त्यसो हो भने, अहिले बैंकहरूको ब्याजदर निरन्तर घटिरहँदा पनि नेप्से परिसूचक र कारोबार रकम दुवै बढ्न नसक्नु विरोधाभासपूर्ण छ । कतिपय बैंकहरूले त आफ्नो ब्याजदर एकल अंकमा समेत झारिसकेका छन् ।

यसरी ब्याजदर सस्तो हुँदा पनि नेप्से परिसूचक २ हजार ७०० देखि २ हजार ८०० अंकको लाइनमा घुमिरहेको छ र यसले २ हजार ९०० अंकको विन्दु पार गर्न सकेको छैन । पछिल्लो समय सेयर बजारका लागि अनुकूल वातावरण बनिरहेको छ । बैंकमा पर्याप्त तरलता रहेको र रकमको कुनै अभाव नरहेको सरोकारवालाहरू बताउँछन् । देशमा एकल दुई–तिहाइ नजिकको स्थिर सरकार छ, तर पनि सेयर बजारले गति लिन सकिरहेको छैन । के बालेन सरकारलाई सेयर बजारले नपत्याएको हो ? के बजारले विद्यावारिधि (पिएचडी) गरेका, विदेशमा पढेका स्थापित अर्थशास्त्री अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई नपत्याएको हो ? कतिपय लगानीकर्ताहरूले त व्यंग्य गर्दै सेयर बजार सुधारका लागि पुनः विष्णु पौडेल नै अर्थमन्त्री हुनुपर्ने हो कि भन्नेसम्मका टिप्पणी गर्न थालेका छन् । विगतमा विष्णु पौडेल अर्थमन्त्री रहँदा सेयर बजार झकास नै थियो ।

पिएचडी होल्डरहरू अर्थमन्त्री हुँदा सेयर बजार राम्रो नभएको इतिहास छ । पिएचडी होल्डर डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा सेयर बजार लगभग ध्वस्त नै भएको थियो । त्यस्तै डा. युवराज खतिवडाको कार्यकालमा पनि बजारले गति लिन सकेन । वर्तमान अवस्थामा डा. स्वर्णिम वाग्ले अर्थमन्त्री हुँदा पनि सेयर बजार त झन् घटिरहेको छ । पछिल्लो समय नेप्से मात्र होइन, कारोबार रकममा समेत गिरावट आइरहेको छ । जानकारहरूका अनुसार सेयर बजार राम्रो हुनका लागि सरकार, अर्थ मन्त्रालय र केन्द्रीय बैंकको गभर्नर पनि सेयर बजारप्रति सकारात्मक हुन पर्दछ र सरकार सेयर बजार मैत्री हुनुपर्छ ।

नेप्से कहिले बढ्छ त कहिले घट्छ, यो सधैँ एकैनासको रहँदैन । सेयर बजार भनेको विष्णु भगवान्को चक्र जस्तै हो भनेर पनि भन्ने गरिन्छ । यो घुमिरहन्छ, कहिले मन्दी (बियरिस) मा त कहिले तेजी (बुलिस) ट्रेन्डमा । सेयर बजार घटबढ नहुँदा लगानीकर्ताहरूले कसरी लाभ लिने त ? यस कारणले पनि सेयर बजारमा उतारचढाव भइरहने प्रक्रियालाई सामान्य रूपमा लिनुपर्ने हुन्छ । यो बजारको सुन्दरता (ब्युटिनेस) नै हो भन्दा पनि फरक नपर्ला । नेप्से ३ हजार २०० अंकसम्म पुगेको पनि थियो भने १ हजार ८०० अंकमा ओर्लेको पनि थियो । शायद नेप्से ३ हजार २०० अंक पुगेको नेपालको सेयर बजारको इतिहासमा पहिलो नै हो भन्दा फरक नपर्ला ।

कतिपयको बुझाइमा नेप्से धेरै बढेपछि नेपाल राष्ट्र बैंकले विभिन्न नीतिगत कडाइ (ब्रेक) लगाउँछ । नेप्से ३ हजार २०० अंक पार गर्दा धेरै नयाँ लगानीकर्ताहरू सेयर बजारमा छिरेका थिए । तिनीहरूका लागि ‘चोक्टा खान गएकी बुढी झोलैमा डुबेर मरी’ भन्ने उखान जस्तै भयो । ३ हजार २०० अंक हुँदा बजार छिरेका लगानीकर्ताहरूले अहिलेसम्म पनि आफ्नो लगानी विन्यास (पोर्टफोलियो) को सही व्यवस्थापन गर्न सकिरहेका छैनन् ।

सरकार सेयर बजार मैत्री हुनुपर्छ । सरकार, अर्थमन्त्री र सेयर बजारका नियामक निकायहरू सेयर बजार प्रति सकारात्मक भए मात्र सेयर बजारले गति लिन सक्छ । त्यसो त कतिपय सेयर बजारका लगानीकर्ताहरू पनि सचेत नभएका हुन् कि भन्ने देखिन्छ । सेयर बजारका लगानीकर्ताहरू सेयर बजार प्रति जानकार, सचेत र धैर्य गर्न सक्ने हुनुपर्दछ ।

(लेखक सेयर लगानीकर्ता हुन् ।)

प्रतिक्रिया