पर्यटन विभागका अनुसार यस वसन्त ऋतुमा सगरमाथा आरोहणको सलामी अर्थात् रोयल्टी दस्तुरबापत मात्रै नेपाल सरकारले १ अर्ब ७ करोड नेपाली रुपैयाँभन्दा बढी विदेशी मुद्रा प्राप्त गरेको छ । वर्तमान शिथिल आर्थिक परिदृश्यमा यो रकम नेपाली अर्थतन्त्रका लागि निकै ठुलो र महत्वपूर्ण ऊर्जा सावित हुने देखिन्छ ।

नेपाल मात्रै एउटा यस्तो देश हो, जहाँ हरेक क्षेत्रमा अद्भूत विविधता पाइन्छ । जातजाति, भाषाभाषी, धर्म, वेषभूषा, भूगोल र वातावरण यसका अकाट्य उदाहरण हुन् । भूगोलकै कुरा गर्ने हो भने यहाँ हिमाल, पहाड, भित्री मधेस र विशाल समथर मैदान (मधेस) समेटिएका छन् । हिमाली क्षेत्रतर्फ नियाल्दा स–साना चुचुरादेखि विश्वकै सर्वोच्च शिखरहरू यहीँ अवस्थित छन् । अझ नेपालमा रहेका होचा भनिएका हिमालहरू नै ५ हजार मिटरभन्दा अग्ला छन् । जबकि, संसारका कतिपय देशका सबैभन्दा अग्ला डाँडा वा टाकुरा बढीमा १ हजार २०० देखि ४ हजार ५०० मिटरसम्मका मात्रै हुन्छन् ।
यसरी हेर्दा संख्या र उचाइ दुवै हिसाबले नेपाल हिमालको मामलामा संसारकै सबैभन्दा धनी मुलुक देखिन्छ । ८ हजार मिटरभन्दा माथिका विश्वका कुल १४ वटा स्थापित हिमालमध्ये ८ वटा त नेपालमै छन् । अझै ६ वटा चुचुराले ८ हजार मिटरभन्दा अग्लो हिमालको अन्तर्राष्ट्रिय मान्यता पाउन बाँकी छ, जुन संयोगले सबै नेपालभित्रै पर्दछन् । विश्वका तिनै ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये पनि समुद्र सतहदेखि नाप्दा संसारकै सर्वोच्च शिखर मानिएको ‘चोमोलुङ्मा–सगरमाथा–एभरेस्ट (८ हजार ८४८.८६ मिटर)’ आरोहण गर्न यस वर्ष अर्थात् सन् २०२६ को वसन्त ऋतुमा इतिहासकै धेरै पर्वतारोहीहरू आएका छन् ।
विगतका वर्षहरूको तुलनामा यो वर्ष सगरमाथा चढ्न विदेशी पर्वतारोहीहरूको आकर्षण किन यसरी बढ्यो ? अनि विश्वका कुन–कुन देशबाट कति संख्यामा आरोहीहरू आए ? यस लेखमा सोही विषयमा संक्षिप्त विश्लेषण गर्ने प्रयास गरिएको छ ।
पर्यटन विभाग, पर्वतारोहण शाखाको मे ४, २०२६ सम्मको तथ्यांकअनुसार यस वर्षको वसन्त ऋतुमा मात्रै सगरमाथा आरोहणका लागि विश्वका ५५ देशका ४९२ जना पर्वतारोहीहरूले नेपाल सरकारबाट अनुमतिपत्र (परमिट) लिएका छन् । ती ५५ देशमध्ये १७ वटा राष्ट्रबाट एकल (१–१ जना) पर्वतारोहीको सहभागिता छ भने, ८ वटा देशबाट २–२ जनाले अनुमति लिएका छन् । साथै, ७ वटा देशका ३–३ जना र २ वटा देशका ४–४ जना पर्वतारोही यो अभियानमा सामेल छन् । एवं प्रकारले १ वटा देशबाट ५ जना, २ वटा देशबाट ६–६ जना र अर्को १ वटा देशबाट ७ जना पर्वतारोही सर्वोच्च शिखर चढ्न आएका छन् ।
यसैगरी २ वटा देशबाट ८–८ जना, १ वटा देशबाट १० जना र अर्को १ वटा देशबाट ११ जना पर्वतारोहीले अनुमति लिएका छन् । त्यस्तै, ३ वटा देशबाट १२–१२ जना, १ वटा देशबाट १४ जना, अर्को १ वटा देशबाट १५ जना र अर्को १ वटा राष्ट्रबाट १८ जना पर्वतारोही यो सूचीमा अटाएका छन् । उता ३२ जना र ६१ जना पर्वतारोही पठाउने देशहरू पनि १–१ वटा नै रहेका छन् ।
यस वर्ष भारतपछि धेरै पर्वतारोही आउने देशको सूचीमा भौगोलिक रूपमा नेपालभन्दा निकै टाढा रहेको संयुक्त राज्य अमेरिका पर्दछ, जहाँबाट ७६ जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि सबैभन्दा अग्रपंक्तिमा भने नेपालको उत्तरी छिमेकी मुलुक चीन रहेको छ । चीनबाट मात्रै यो वर्षको वसन्त ऋतुमा १०९ जना पर्वतारोहीले अनुमति लिएका छन् ।
हुन त सगरमाथा आरोहणका लागि अनुमतिपत्र लिनेहरूमध्ये हरेक वर्ष औसतमा ५६ देखि ७३ प्रतिशतसम्मले मात्रै सफल आरोहण गर्ने गर्दछन् । यस वर्ष अनुकूल मौसमको समय (विन्डो) ढिलो गरी मात्र खुलेकाले पर्वतारोहीहरूले निकै पछिसम्म मौसमको चुनौती सामना गर्नु परिरहेको छ । यद्यपि, मे २५, २०२६ सम्ममा करिब ४०० जनाभन्दा बढी स्वदेशी (सरदार एवं क्लाइम्बिङ शेर्पा) तथा विदेशी पर्वतारोहीहरू सगरमाथाको चुचुरोमा पुग्न सफल भइसकेका छन् । हाल पनि आरोहणको क्रम धमाधम जारी रहेकाले अन्तिम विवरण केही दिनमा सार्वजनिक हुने नै छ ।
यस वर्षको वसन्त ऋतु आरोहणको इतिहासमा मात्र होइन, कीर्तिमानका हिसाबले पनि स्वर्ण वर्ष बनेको छ । यसै सिजनमा ४ वटा नयाँ ऐतिहासिक विश्वकीर्तिमानहरू कायम भएका छन् । कीर्तिमानी आरोही कामीरिता शेर्पाले ३२औँ पटक, पासाङ दावा शेर्पाले ३१औँ पटक र लाक्पा शेर्पाले ११औँ पटक सगरमाथाको सफल आरोहण गरी आ–आफ्नो कीर्तिमान नवीकरण गरेका छन् । त्यस्तै, विदेशी आरोहीतर्फ बेलायती नागरिक केन्टन कुलले २०औँ पटक सगरमाथाको चुचुरोमा पाइला टेकेर नयाँ विश्वकीर्तिमान कायम गरेका छन् ।
पर्वतारोहीहरूको यो बाक्लो उपस्थितिले नेपाल सरकारको राजस्व संकलनमा पनि ठुलो योगदान पु¥याएको छ । पर्यटन विभागका अनुसार यस वसन्त ऋतुमा सगरमाथा आरोहणको सलामी अर्थात् रोयल्टी दस्तुरबापत मात्रै नेपाल सरकारले १ अर्ब ७ करोड नेपाली रुपैयाँभन्दा बढी विदेशी मुद्रा प्राप्त गरेको छ । वर्तमान शिथिल आर्थिक परिदृश्यमा यो रकम नेपाली अर्थतन्त्रका लागि निकै ठुलो र महत्वपूर्ण ऊर्जा सावित हुने देखिन्छ ।
पर्वतारोही र राजस्वको यो बढ्दो तथ्यांकले उत्साह जगाए तापनि यसले नेपालको हिमाली पर्यटन व्यवस्थापनमा गम्भीर चुनौती थपेको छ । एउटै सिजनमा सयौँको संख्यामा आरोहीहरू आधार शिविर र माथिल्ला क्याम्पहरूमा जम्मा हुँदा ‘ट्राफिक जाम’को जोखिम उच्च हुन्छ । विगतका वर्षहरूमा प्रकृतिको यो प्रतिकूलता र भिडकै कारण कतिपय आरोहीले ज्यान गुमाउनु परेको तीतो यथार्थ हाम्रासामु छ । त्यसैले, सरकार र एजेन्सीहरूले अनुमतिपत्र वितरणमा मात्र ध्यान नदिई आरोहणको समय तालिका (विन्डो) र सुरक्षित आवतजावतको चुस्त व्यवस्थापनमा विशेष ध्यान दिनु अनिवार्य भइसकेको छ । यसका लागि प्रविधिको उच्चतम प्रयोग र मौसम पूर्वानुमानको भरपर्दो प्रणाली स्थापना गर्नु पर्दछ ।
सगरमाथामा आरोहीहरूको चाप बढ्दै जाँदा त्यहाँ सिर्जना हुने फोहोरमैला अर्को गम्भीर संकट बनेको छ । सर्वोच्च शिखरको स्वच्छता कायम राख्नु नेपालको मात्र नभई विश्वकै वातावरणीय दायित्व हो । हाल सेनाको अग्रसरता र विभिन्न संघसंस्थाहरू मार्फत ‘सफा हिमाल अभियान’ चलाएर प्रत्येक वर्ष टनका टन फोहोर र पुराना शवहरू संकलन गर्ने सराहनीय कार्य त भइरहेको छ, तर यो दीर्घकालीन समाधान होइन । प्रत्येक आरोही र तिनका सहयोगीले आफूले लगेका सामान अनिवार्य रूपमा फिर्ता ल्याउने नियमलाई कडाइका साथ लागू गरिनुपर्छ । रोयल्टीबापत उठ्ने ठुलो रकमको निश्चित हिस्सा हिमालकै वातावरणीय सन्तुलन र फोहोर व्यवस्थापनमा दीर्घकालीन रूपमा खर्च गरिनु आवश्यक देखिन्छ ।
हिमालबाट आर्जन हुने अर्बौंको राजस्व केवल राज्यको ढुकुटीमा मात्र सीमित नभई हिमाली क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्न उपयोग हुनुपर्छ । पर्वतारोहण पर्यटनको वास्तविक मेरुदण्ड भनेका स्थानीय गाइड, सरदार र क्लाइम्बिङ शेर्पाहरू हुन्, जसले आफ्नो ज्यान हत्केलामा राखेर विदेशीलाई चुचुरोमा पु¥याउँछन् । यो व्यवसायबाट गाइड र भरियाहरूले उचित पारिश्रमिक, उच्च स्तरको बिमा र सामाजिक सुरक्षा पाउनु उनीहरूको अधिकार हो । जोखिमपूर्ण श्रम गर्ने यी जनशक्तिको वृत्तिविकास र कल्याणका लागि सरकारले ठोस नीति ल्याउनुपर्छ । रोयल्टीको न्यायिक वितरणमार्फत सोही क्षेत्रको शिक्षा, स्वास्थ्य र पूर्वाधारमा लगानी बढाउँदा मात्र दिगो पर्यटनको जग बस्न सक्छ ।
सन् २०२६ को यो वसन्त ऋतुले नेपाली साहसिक पर्यटनको प्रचुर सम्भावनालाई पुनः विश्वमाझ प्रमाणित गरिदिएको छ । कीर्तिमान र राजस्वका ऐतिहासिक रेकर्डहरू देशका लागि गर्वका विषय हुन् । तर, हिमालको दिगोपन र साख जोगाउन अब संख्यात्मक वृद्धिको मोहबाट माथि उठेर गुणात्मक पर्यटनमा जोड दिनुपर्ने बेला आएको छ । नेपालले सगरमाथाको गरिमा, आरोहीहरूको सुरक्षा र हिमाली पर्यावरणको संरक्षणलाई सँगसँगै लैजान सके मात्र यो गौरव सधैँका लागि कायम रहनेछ । सरकार, पर्यटन व्यवसायी र सरोकारवाला निकायहरूले यस सिजनको अनुभवबाट पाठ सिक्दै आगामी दिनका लागि अझ परिष्कृत र जिम्मेवार पर्यटन रणनीतिको खाका कोर्नु नै आजको मुख्य आवश्यकता हो ।
प्रतिक्रिया