नेपाल–भारत धार्मिक पर्यटन : जनस्तरको सम्बन्ध र समृद्धिको बलियो आधार

जसरी नेपालीहरू भारतका प्रसिद्ध तीर्थस्थलहरू, चारधाम, वाराणसी, अयोध्या, कामाख्या माताको मन्दिर, मथुरा, वृन्दावन, तिरुपति, १२ ज्योतिर्लिंग, कोलकाता, गंगासागर, वैष्णोदेवी, गंगोत्री र हरिद्वार श्रद्धापूर्वक जाने गर्छन्, ठिक त्यसरी नै भारतीय धार्मिक पर्यटकहरू पनि मुक्तिनाथ, पशुपतिनाथ र जनकपुरधामको दर्शन पाउनुलाई आफ्नो जीवनकै एउटा सुखद् र महत्वपूर्ण उपलब्धि मान्छन् ।

श्रीमन नारायण

स्थल र हवाई दुवै मार्गलाई जोडेर हेर्ने हो भने, भारतबाट मात्रै वर्षमा १० देखि १५ लाखको हाराहारीमा धार्मिक पर्यटक तथा तीर्थयात्रीहरू नेपाल आउने अनुमान गरिन्छ । शिवरात्रि, साउन महिनाको बोलबम र विवाह पञ्चमी जस्ता विशेष पर्वहरूमा यो चाप अझ उच्च हुन्छ ।

यसैगरी नेपाली नागरिकहरूका लागि पनि भारतका प्रमुख धार्मिक स्थलहरू ‘चार धाम’ लगायतका क्षेत्रहरू आस्थाको केन्द्र हुन् । नेपालबाट भारततर्फ जाने धार्मिक पर्यटकको संख्या पनि निकै ठुलो छ । नेपालीहरू मुख्य गरी वाराणसी (काशी), गया (पिण्डदानका लागि), बद्रीनाथ, केदारनाथ, जगन्नाथ पुरी, रामेश्वरम, द्वारका, हरिद्वार, ऋषिकेश र तिरुपति बालाजी जस्ता क्षेत्रमा तीर्थयात्राका लागि जान्छन् । नेपाली बौद्ध धर्मावलम्बीहरू भारतको बोधगया, सारनाथ र कुशीनगर जस्ता पवित्र स्थलहरूको भ्रमणमा जाने गर्छन् । पर्यटन मन्त्रालयको विवरण तथा सीमा नाकाहरूको चहलपहल अनुसार, वर्षमा झन्डै ५ देखि ७ लाख नेपाली नागरिकहरू विशुद्ध धार्मिक तथा तीर्थयात्राको उद्देश्यले भारत जाने गरेको पाइन्छ ।

यो तथ्यले पनि के देखाउँछ भने, नेपाल–भारत मैत्री सम्बन्धका कतिपय अपरिहार्य तत्वमध्ये सांस्कृतिक समानतालाई प्रमुख घटकको रूपमा लिन सकिन्छ । सरकारहरूको सञ्चालन आफ्नै तरिका र परिस्थितिहरूको बाध्यात्मक अवस्थाबाट भइरहेको हुन्छ तर २ देशबीचको सांस्कृतिक समानताका कारण जनस्तरमा स्थापित सम्बन्ध र बन्धुत्व कहिल्यै कमजोर भएन । नेपाल र भारतबीच सांस्कृतिक सम्बन्ध यति बढी प्रगाढ एवं अद्वितीय छ कि यसको बराबरी विश्वका अन्य कुनै पनि देश बीचको सम्बन्धले गर्न सक्दैन । नेपाल र भारत एक–अर्कासित आध्यात्मिक, धार्मिक एवं सांस्कृतिक रूपमा अनन्य भावले जोडिएका छन् । हाम्रा सम्बन्ध अतुल्य छन् ।

नेपाल एवं भारतबीचको सांस्कृतिक सम्बन्धलाई हामी कुनै निश्चित समयको परिधिभित्र बाँध्न सक्दैनौँ । किनभने वैदिक ज्ञानको दृष्टिले हामीले आँखा खोलेदेखि नै नेपाल–भारत सांस्कृतिक सम्बन्धको अस्तित्वलाई हामी आफूसँगै सुन्दै र बुझ्दै आएका छौँ । धर्म, अध्यात्म र संस्कृतिको एकताले भारतलाई नेपालसित आन्तरिक रूपमा यसरी बाँधिदिएको छ कि दुवै देश पृथक भएर अभिन्न छन् । नेपालसित भारतको सम्बन्ध त्यति नै प्राचीन छ, जति प्राचीन यसको सांस्कृतिक चेतना छ । नेपाल, भारत दुवै देश एउटै सांस्कृतिक चेतनाका साझेदार र संवाहक छन् । हिमालय हामी दुवैको निम्ति आत्म साधनाको स्थल रहिआएको छ । अनन्तकालदेखि नै हिमालयका महान–शिखरहरूले हामी दुवैलाई आध्यात्मिक शक्ति प्रदान गर्दै आएको छ ।

नेपालमा पञ्चायती शासनको अवसान र देशमा बहुदलीय शासनको पुनःस्थापना पश्चात गठित अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले आफनो भारत भ्रमणमा २ देशबीचको सम्बन्धलाई परिभाषित गर्दै भनेका थिए ।

‘अस्त्युत्तरस्यां दिशि देवतात्मा हिमालयो नाम नगाधिराज : ।

पूर्वोपरौ तोयनिधी वगाह्य स्थितः पृथिव्या इव मानदण्डः ।।’ (मेघदूतम)


देवताहरूको आत्मा, ऋषिमुनिहरूको तपोभूमि, गंगा, यमुना, कोसी, गण्डकी, कर्णालीको उद्गमस्थल, विदेशीहरूको आकर्षणको केन्द्र मनोहर हिमालय यस पृथ्वीको मापन यन्त्र हो । यसको पूर्वी तथा पश्चिमी क्षेत्र महासागरबाट स्नेह प्राप्त गर्दै अनादिकालदेखि स्थित छ, यो रमणीय हिमालय नेपाल र भारतका प्रत्येक व्यक्तिको आस्था एवं श्रद्धाको केन्द्रविन्दु रहिआएको छ । यस हिमालयको दक्षिणी क्षेत्रमा नेपाल तथा भारत अवस्थित छन् । जगतका माता–पिता पार्वती र शंकर हाम्रा आदिदेव हुन् । उनको निवास स्थान कैलाश पर्वत मानिन्छ, जुनकी नेपाल र भारत दुवै देशका श्रद्धालुहरूको पवित्र तीर्थस्थल हो । दुवै देश हिन्दु बाहुल्य भएर पनि धर्मनिरपेक्षतालाई स्वीकार गरेका छन् । यहाँका नागरिक जुन धर्म एवं पन्थका अनुयायी भए पनि आपसमा मिलेर बस्छन् । यहाँ धार्मिक उदारता सहिष्णुता पनि उच्च कोटीको पाइन्छ ।

मोदीको त्यो अधुरो उद्घोष

करिब १२ वर्षअघि नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आराध्यदेव भगवान् पशुपतिनाथको दर्शन र विशेष पूजा अर्चना गरेपछि एउटा मार्मिक विचार राखेका थिए । उनले नेपालका पशुपतिनाथ र भारतका केदारनाथ दुवै एउटै शिवका २ वटा नाम र एउटै ईश्वरीय शक्तिका २ वटा रूप भएको बताएका थिए । भौगोलिक रूपमा २ भिन्न देश र स्थानमा अवस्थित भए तापनि यी २ पवित्र धामहरूमा कुनै तात्विक अन्तर छैन । ठिक त्यसरी नै, नेपाल र भारतको समग्र सांस्कृतिक परिवेश पनि एउटै जगमा उभिएको छ ।

समयको परिवर्तन, राजनीतिक सिमाना र स्थानीय चालचलनका कारण बाहिरी रूपमा केही भिन्नता देखिए पनि त्यसले २ देशबीचको आन्तरिक सांस्कृतिक सामीप्यतालाई रतिभर कमजोर बनाएको छैन । भगवान् पशुपतिनाथको नगरी काठमाडौँ र काशी विश्वनाथको नगरी वाराणसी (काशी) बीच शताब्दीऔँदेखि खुला आवतजावत र जनस्तरको गहिरो सम्बन्ध रहिआएको छ । यसै ऐतिहासिक कडीलाई बुझेर भारतीय प्रधानमन्त्री मोदीले काठमाडौँ र वाराणसीबीचको यात्रालाई थप सहज, सुलभ र चौडा बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए, जसले गर्दा दुवै देशका आमनागरिकले सहजै धार्मिक यात्रा गर्न सकून् ।

सांस्कृतिक कूटनीतिको दायरालाई अझ फराकिलो बनाउँदै भारतीय प्रधानमन्त्री मोदीले जगज्जननी माता जानकीको पवित्र भूमि जनकपुरधाम र मर्यादा पुरुषोत्तम श्रीरामको जन्मभूमि अयोध्याबीच सीधा र भरपर्दो यातायात सञ्जाल हुनुपर्ने कुरामा जोड दिए । यसै सोचबाट जन्मिएको हो, रामायण सर्किट । त्रेतायुगमा माता सीता जनकपुरबाट अयोध्या जाँदा विश्राम गरेका ऐतिहासिक स्थलहरू, प्रभु श्रीरामले वनवासका क्रममा बिताएका महत्वपूर्ण ठाउँहरू र श्रीलंकाका केही धार्मिक क्षेत्रहरूलाई समेत समेटेर एउटै पर्यटकीय मार्ग बनाउने यो अवधारणा विशुद्ध रूपमा मोदीकै सोचको उपज हो ।

यो रामायण सर्किट कागजमा मात्रै सीमित रहने परियोजना होइन; यसले त नेपाल र भारतबीचको युगौँ पुरानो पारिवारिक र वैवाहिक सम्बन्धलाई आधुनिक युगमा फेरि ब्युँताउने काम गर्छ । यस्तो ऐतिहासिक योजनालाई सफल बनाउन नेपाल सरकारले पनि आफ्नातर्फबाट गर्न सक्ने हरसंभव सहयोग र सक्रिय भूमिका निर्वाह गर्नु निकै जरुरी देखिन्छ । नेपालभित्र रहेका रामायणकालीन ऐतिहासिक स्थलहरूको संरक्षण र सडक पूर्वाधार सुधार्न सके हाम्रो पर्यटनले ठुलो फड्को मार्ने निश्चित छ । मोदीको पशुपतिनाथ र जनकपुर भ्रमणपछि यसको प्रत्यक्ष प्रभाव देखिएको छ, अहिले दैनिक रूपमा हजारौँको संख्यामा भारतीय धार्मिक पर्यटक र तीर्थयात्रीहरू नेपाल भित्रिरहेका छन् ।

धार्मिक कूटनीतिको यो सकारात्मक तरंग काठमाडौँ र जनकपुरमा मात्रै सीमित रहेन । भारतीय प्रधानमन्त्री मोदीले हिमाली काखमा रहेको पवित्र मुक्तिनाथ धाम र भगवान् गौतम बुद्धको जन्मभूमि लुम्बिनीको भ्रमण गरेपछि यी क्षेत्रहरूमा पनि भारतीय भक्तजनहरूको आकर्षण ह्वात्तै बढेको छ । उनले मुक्तिनाथ पुगेर गरेको दर्शन र लुम्बिनीमा देखाएको श्रद्धाका कारण भारतका विभिन्न राज्यबाट नेपाल आउने पर्यटकहरूको वर्षैभरि घुइँचो लाग्न थालेको हो । यस दृष्टिकोणबाट हेर्दा, भारतीय प्रधानमन्त्रीले नेपालको धार्मिक पर्यटनलाई विश्वमाझ चिनाउन र यसको प्रवद्र्धनका लागि निकै उपलब्धिमूलक काम गरेको कुरालाई कसैले पनि नकार्न सक्दैन । यसले नेपालको पर्यटन व्यवसायमा एउटा नयाँ ऊर्जा थपेको छ ।

हाम्रो समाज र सरकारी नीतिमा पर्यटनलाई अलि फरक र संकुचित नजरले हेर्ने चलन छ । महँगा र सुविधायुक्त तारे होटलमा बस्ने, क्यासिनोमा पैसा उडाउने वा ऐस–आराम र मनोरन्जनका लागि आउने विदेशीहरू मात्रै वास्तविक पर्यटक हुन् भन्ने सोच राख्नु हुँदैन । पवित्र मनले र धार्मिक आस्थाका साथ हाम्रा विभिन्न तीर्थस्थलहरूको दर्शन गर्न आउने तीर्थालुहरू पनि उत्तिकै सम्मानित अतिथि हुन् भन्ने कुरा राज्य र पर्यटन व्यवसायी सबैले राम्ररी बुझ्न आवश्यक छ ।

धार्मिक पर्यटकहरू आउँदा देशमा विदेशी मुद्रा मात्र आउँदैन, उनीहरूले स्थानीय संस्कृति र सभ्यताप्रति अगाध श्रद्धा पनि लिएर आउँछन् । उनीहरूको आगमनले गाडी चालक, साना होटल व्यवसायी, फूल–प्रसाद बेच्नेहरू र स्थानीय समुदायले प्रत्यक्ष रूपमा रोजगारी र आर्थिक लाभ पाउँछन् ।

भगवान् गौतम बुद्धको जन्मभूमि लुम्बिनी, उनले ज्ञान प्राप्त गरेको भूमि बोधगया, पहिलो उपदेश दिएको ठाउँ सारनाथ र महापरिनिर्वाण भएको कुशीनगरलाई जोडेर बुद्ध सर्किट बनाउने काम पनि अगाडि बढिरहेको छ । रामायण र बुद्ध सर्किटजस्ता ठुला पूर्वाधारहरू पूर्ण रूपमा तयार हुँदा यातायात निकै सुगम हुनेछ । यसबाट भारतीय धार्मिक पर्यटकहरू मात्र होइन, विश्वभरका बौद्ध धर्मावलम्बीहरू ठुलो संख्यामा नेपाल आउने बाटो खुल्नेछ भने नेपालीहरूलाई पनि भारतका तीर्थस्थलहरू जान निकै सजिलो हुनेछ ।

नेपाल र भारतबीचको यो धार्मिक यात्रा सधैँ दुईतर्फी रहँदै आएको छ । जसरी नेपालीहरू भारतका प्रसिद्ध तीर्थस्थलहरू, चारधाम, वाराणसी, अयोध्या, कामाख्या माताको मन्दिर, मथुरा, वृन्दावन, तिरुपति, १२ ज्योतिर्लिंग, कोलकाता, गंगासागर, वैष्णोदेवी, गंगोत्री र हरिद्वार श्रद्धापूर्वक जाने गर्छन्, ठिक त्यसरी नै भारतीय धार्मिक पर्यटकहरू पनि मुक्तिनाथ, पशुपतिनाथ र जनकपुरधामको दर्शन पाउनुलाई आफ्नो जीवनकै एउटा सुखद् र महत्वपूर्ण उपलब्धि मान्छन् । यी साझा सांस्कृतिक धरोहरहरूलाई जोगाउँदै र धार्मिक मार्गहरूलाई अझ सुगम बनाउँदै लैजानसके दुवै देशको जनस्तरको सम्बन्ध झन् प्रगाढ हुनेछ र नेपालले यसबाट ठुलो आर्थिक लाभ लिन सक्नेछ ।

नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध त अद्वितीय छ नै, सामाजिक संरचना पनि एक समान छ । रीतिरिवाज खान–पान, वेषभूषा, बोलचालको भाषा करिब–करिब एक जस्तै पाइन्छ । भारत र नेपालका जनता धार्मिक उद्धार र सहिष्णु छन् । सायद त्यही भएर एउटा भारतीयको निम्ति नेपाल र नेपालीको निम्ति भारतमा अपनत्वको अनुभूति हुन्छ ।

‘सर्वे भवन्तु सुखिन : सर्वे सन्तु निरामया ।

सर्वे भद्राणी पश्यन्तु मा कश्चित, दुःख भाग भवेत ।।’

यो कल्याणमयी भावना यी २ देशको सामाजिक व्यवस्थामा ओतप्रोत रहेको पाइन्छ । ४ वेद, १८ पुराण, रामायण, गीता, ऋषिका स्मृतिहरू हाम्रा एउटै हुन । नेपाल र भारतका सनातनीहरूबीच अन्तर रहेको पाइँदैन । ३ देवता (ब्रम्हा, विष्णु र महेश) र ३ शक्तिहरू (महाकाली, महालक्ष्मी र महासरस्वती)लाई हामी समान रूपले पूजा गर्छौं । यस्तै पञ्चदेवता, विष्णु, पञ्चभौतिक, १० दिक्पाल एवं नवग्रहादि देवताहरूको एक समान पूजा गरिन्छ । पशुपक्षी, जड–जंगम सबैमा ईश्वरको अंश हेर्ने हाम्रो मान्यता रही आएको छ । ‘अहिंसा परमोधर्म’ को भावना हामी दुवै देशका जनतामा समान रूपले पाइन्छ । गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्म लिए तर उनले ज्ञान प्राप्ति बिहारको बोधगया तथा निर्वाण प्राप्ति कुशीनगरमा गरे । जसरी भगवान् राम र सीताको उच्चारण जय सीताराम वा जयश्रीरामको रूपमा गर्दछौँ । त्यसरी नै नेपाल र भारत पनि सीताराम जस्तै अभिन्न छन् ।

भारतको संविधानको आठौँ अनुसूचीमा नेपाली भाषालाई सरकारी मान्यता प्रदान गरिएको छ । नेपाली भाषा नेपालको राष्ट्रभाषा भएकै कारण मात्र भारतको संविधानमा राखिएको होइन । यो मान्यता पाउनुको मुख्य र वास्तविक कारण भारतकै रैथाने नागरिकहरूको आफ्नै पहिचानको लामो संघर्ष र योगदान हो । भारतको दार्जिलिङ, सिक्किम, असम, मेघालय, देहरादून, मणिपुर र नागाल्यान्ड लगायतका क्षेत्रमा परापूर्वकालदेखि नै लाखौँको संख्यामा नेपालीभाषी (गोर्खा) भारतीय नागरिकहरू बसोबास गर्दै आएका छन् ।

भारतको पश्चिम बंगाल, सिक्कम, असम, उत्तराखण्डलगायत विभिन्न राज्यका नेपाली भाषी विद्वानहरूले नेपाली भाषा, साहित्य, कला, संगीत र मनोरन्जनको क्षेत्रमा धेरै योगदान गरेका छन् । नेपालका पूर्वप्रधानमन्त्रीहरू मात्रिकाप्रसाद कोइराला, बिपीप्रसाद कोइराला र लोकेन्द्रबहादुर चन्दले पनि हिन्दीमा लेखेका छन् । नेपालमा पनि हिन्दी भाषाका अनेकौँ लेखक र विद्वानहरू छन् । कतिपय नेपालीहरू बलिउडमा अभिनय, गायन, निर्देशन र संगीतमार्फत सेवा दिएका छन् भने भारतीय गायकहरूले पनि नेपाली फिल्ममा गायन गरेका छन् । नेपाल–भारत बीचको सांस्कृतिक र सामाजिक सम्बन्ध सुदृढ रहनु आवश्यक छ ।

प्रतिक्रिया