बजारको आधारभूत चरित्र नै ‘मनोविज्ञान’ र ‘विश्वास’ मा अडेको हुन्छ । जब सरकार, राजनीतिक नेतृत्व वा स्वघोषित विज्ञ विश्लेषकहरूबाटै बजारप्रति नकारात्मक र संशयपूर्ण अभिव्यक्तिहरू सार्वजनिक हुन्छन्, तब बजारमा सिधा पहिरो जाने गरेको छ ।

निर्वाचन सम्पन्न भई मुलुकले नयाँ राजनीतिक नेतृत्व पाएपछि खुला भएको सेयर बजारको पहिलो दिन लगानीकर्ताहरूमा एउटा अभूतपूर्व उत्साह देखिएको थियो । नयाँ सरकार गठनको सग्बगाहट र राजनीतिक स्थिरताको आशामा बजारमा सकारात्मक सर्किटसमेत लाग्यो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ प्रतिशत अर्थात् १६२ अंक भन्दा बढीले बढेर बन्द हुँदा पुँजी बजारमा नयाँ तरंग आएको थियो ।
आमलगानीकर्ताहरूले यसलाई एउटा ठुलो र सुखद् संकेतका रूपमा लिएका थिए । तर, त्यो उत्साह धेरै दिन टिक्न सकेन । त्यसपछिका दिनहरूमा बजारको व्यवहार हेर्दा ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भनेझैँ भयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ सरकारलाई सेयर बजारले पत्याएन भन्दा अब खासै फरक पर्दैन । रास्वपा सरकार बनेदेखि सेयर बजार लगातार ओरालो लागिरहेको छ । यहाँ नेप्से परिसूचक मात्र घटेको छैन, बरु दैनिक कारोबार रकममा समेत भारी गिरावट आइरहेको छ, जसले बजारमा तीव्र निराशा छाएको पुष्टि गर्छ ।
चुनावअघि र निर्वाचनको परिणाम आउँदै गर्दा बजारमा एउटा बलियो चर्चा थियो, रास्वपाको एकल बहुमतको सरकार आउने भयो र अब नीतिगत स्थिरता कायम हुनेछ । यही मनोविज्ञानका कारण बजारले सुरुमा ठुलो छलाङ मारेको थियो । तर, वास्तविकता ठ्याक्कै उल्टो भइदियो । प्रश्न उठ्छ, रास्वपाको झन्डै दुई–तिहाइ नजिकको एकल र शक्तिशाली सरकार बन्दा पनि सेयर बजारले यसलाई किन हार्दिकतापूर्वक स्वीकार गरेन ? स्थिर र बलियो सरकार हुँदाहुँदै पनि लगानीकर्ताहरू किन सशंकित छन् ? यी प्रश्नहरूले अहिले पुँजी बजारका खेलाडी र आमसर्वसाधारण दुवैलाई रनभुल्लमा पारेका छन् ।
सेयर बजारका लगानीकर्ताहरूले सधैँ एउटै माग दोहोर्याउँदै आएका छन्, बजारको दिगो विकास र गतिका लागि देशमा एउटा स्थायी र नीतिगत रूपमा स्थिर सरकार चाहिन्छ । विगतमा राजनीतिक खिचातानी, अस्थिर सरकार र छिटो–छिटो परिवर्तन भइरहने मन्त्रिपरिषद्का कारण पुँजी बजारले आफ्नो लय समात्न सकेको थिएन । जेनजी आन्दोलन र त्यसपछिको संक्रमणकालीन अवस्थामा बनेको अन्तरिम सरकार (जुन मूलतः निर्वाचन गराउने चुनावी सरकार थियो) को कार्यकालमा पनि राजनीतिक अन्योलका कारण बजारले गति लिन सकेन । राजनीतिक दाउपेच र अस्थिरताले सधैँ लगानीकर्ताको मनोबल गिराउने काम मात्र गरिरह्यो । त्यसैले, निर्वाचनपछि बन्ने नयाँ सरकार पूर्ण रूपमा पुँजी बजारमैत्री हुनेछ र यसले पुराना गाँठागाँठी फुकाउनेछ भन्ने ठूलो आशा लगानीकर्ताहरूमा थियो । तर, त्यो आशा अहिले घोर निराशामा परिणत भएको छ ।
छिमेकी मुलुक बंगलादेशमा निर्वाचनपछि सेयर बजारमा ठूलो उछाल आएको उदाहरण हाम्रासामु छ । नेपालमा पनि नयाँ सरकार गठनपछि बजारले नयाँ उचाइ समात्ने आमलगानीकर्ताको बुझाइ थियो । ‘जबसम्म देशमा राजनीतिक स्थिरता र स्थायी सरकार हुँदैन, तबसम्म सेयर बजारले गति लिन गाह्रो हुन्छ’ भन्दै वकालत गर्ने विश्लेषकहरूलाई यो स्थिर सरकारको निराशाजनक सुरुआतले जिल्ल पारिदिएको छ । बलियो र स्थायी सरकार आउँदा पनि बजार घट्नुले के संकेत गर्छ भने, लगानीकर्ताहरू केवल अनुहार वा बहुमतको संख्या मात्र हेर्दैनन्, बरु सरकारको आर्थिक दृष्टिकोण र पुँजी बजारप्रतिको स्पष्ट नीति पर्खिरहेका छन् ।
आजको दिनमा नेपालको सेयर बजारमा झन्डै ७५ लाखभन्दा बढी लगानीकर्ताहरू आबद्ध भइसकेका छन् । यस बजारबाट सरकारले लाभकर र अन्य शुल्कबापत बर्सेनि अर्बौं रुपैयाँ राजस्व संकलन गर्दै आएको छ । यति ठुलो जनसहभागिता र राज्यकोषको बलियो स्रोत रहेको बजारलाई सरकारले उपेक्षा गर्न मिल्दैन । सरकारले तत्कालै लगानीकर्ताहरूको विश्वास जगाउने, नीतिगत स्पष्टता ल्याउने र बजारमैत्री वातावरण निर्माण गर्ने दिशामा कदम चाल्नै पर्छ । विगतमा राजनीतिक दलहरूको भागबन्डा र अदूरदर्शी नीतिका कारण देशको अर्थतन्त्रले धेरै ठुलो मूल्य चुकाउनुपरेको छ । इतिहास साक्षी छ, राजनीतिक खिचातानी र गलत आर्थिक नीतिको सबैभन्दा बढी मार र पीडा कसैले भोग्नुपरेको छ भने, ती सोझा र सर्वसाधारण सेयर लगानीकर्ताहरू नै हुन् ।
राजनीतिक खिचातानी, शृंखलाबद्ध आन्दोलन, हठात् हुने सरकार परिवर्तन र सत्ता समीकरणको हेरफेरले मात्र नेपालको सेयर बजारलाई प्रभावित पारेको छैन । राजनीतिक अस्थिरताभन्दा पनि घातक पक्ष त बेलाबेलामा राजनीतिक दलका शीर्ष नेताहरू, सांसदहरू र मन्त्रीहरूबाट आउने गैरजिम्मेवार एवं नकारात्मक अभिव्यक्ति बन्ने गरेका छन् ।
नीति निर्माणको तहमा बसेका उच्च व्यक्तित्वहरूको एउटा ओजनदार भनाइले बजारलाई तरंगित बनाउन सक्छ, तर हाम्रा नेताहरू पुँजी बजारप्रति कति जानकार र संवेदनशील छन् भन्ने कुरा उनीहरूका विगतका टिप्पणीहरूले प्रस्ट पार्छन् । बजारको आधारभूत चरित्र नै ‘मनोविज्ञान’ र ‘विश्वास’ मा अडेको हुन्छ । जब सरकार, राजनीतिक नेतृत्व वा स्वघोषित विज्ञ विश्लेषकहरूबाटै बजारप्रति नकारात्मक र संशयपूर्ण अभिव्यक्तिहरू सार्वजनिक हुन्छन्, तब बजारमा सीधा पहिरो जाने गरेको छ ।
विगतको इतिहासलाई हेर्ने हो भने, अर्थमन्त्री बनेका डा.युवराज खतिवडाले सेयर बजारलाई ‘अनुत्पादक क्षेत्र’ भनिदिँदा बजारमा ठुलो गिरावट आएको थियो । नीतिगत ज्ञान भएका भनिएका अर्थशास्त्रीबाटै यस्तो टिप्पणी आउँदा लगानीकर्ताको मनोबल यसरी खस्कियो कि बजारले लामो समयसम्म आफ्नो लय समात्नै सकेन । त्यसै गरी, माओवादी द्वन्द्वका क्रममा र त्यसपछिका विभिन्न कालखण्डमा पनि नीतिगत अस्पष्टताका कारण पुँजी बजार ध्वस्त हुने संकेतहरू देखिएका थिए । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक सन्दर्भमा सेयर बजारलाई ‘साम्राज्यवादको विकसित रूप’ र ‘सट्टाबजार’ भनी टिप्पणी गर्दा नेप्सेमा ठुलो पहिरो गएको थियो ।
त्यसै गरी, पूर्वप्रधानमन्त्री एवं अर्थमन्त्री डा. बाबुराम भट्टराईले त सेयर बजारलाई सोझै ‘जुवाघर’ को संज्ञा दिएका थिए । देशको आर्थिक बागडोर सम्हालेका वा सम्हालिसकेका शीर्ष नेताहरूबाटै यस प्रकारका गैरजिम्मेवार अभिव्यक्ति आउँदा सिंगो पुँजी बजार मानौँ ‘आइसियु’मा पुगेझैँ शिथिल बन्न पुग्यो । यस्ता भनाइहरूले आमलगानीकर्ताको अर्बौं रुपैयाँको लगानीलाई एकै झट्कामा जोखिममा पार्ने काम गरे ।
वास्तविकता के हो भने, सेयर बजार न त जुवा हो, न त कुनै सट्टाबाजी मात्र । यो त आधुनिक अर्थतन्त्रको एउटा अपरिहार्य र संवेदनशील अंग हो । धेरै अर्थशास्त्रीहरूले सेयर बजारलाई ‘अर्थतन्त्रको ऐना’ का रूपमा परिभाषित गर्छन्, जसले देशको आर्थिक स्वास्थ्य कस्तो छ भन्ने कुरा झल्काउँछ । यस बजारले देशको विकासका लागि आवश्यक पर्ने दीर्घकालीन पुँजी परिचालन र संकलनमा अग्रणी भूमिका खेल्दै आएको छ ।
नागरिकहरूमा छरिएर रहेको स–सानो बचत र पुँजीलाई एकीकृत गरी उद्योगधन्दा, र उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने काम सेयर बजारले नै गर्छ । आज देशमा सञ्चालित ठुला उद्योग, उद्योग कलकारखाना, जलविद्युत् (हाइड्रोपावर) कम्पनीहरू, वाणिज्य बैंक, वित्तीय संस्था, बिमा कम्पनी र पाँचतारे होटलहरूमा सर्वसाधारण नागरिकहरूको १० प्रतिशतदेखि ४९ प्रतिशतसम्म सेयर लगानी रहेको छ । यसरी आमजनतालाई राष्ट्रिय अर्थतन्त्रको हिस्सेदार बनाउने माध्यम नै पुँजी बजार हो ।
तर, यति महत्वपूर्ण क्षेत्र आजभोलि राजनीतिक टिप्पणी मात्र होइन, ‘हल्ला’ को भरमा पनि मरिहत्ते गरी ओरालो लाग्ने र उकालो लाग्ने रोगबाट ग्रसित छ । सूचना प्रविधिको यो आधुनिक जमानामा सामाजिक सञ्जाल (फेसबुक, टिकटक, भाइबर र क्लबहाउस आदि) को प्रभाव अत्यधिक छ । पछिल्लो समय सामाजिक सञ्जालहरूमा सेयर बजारका बारेमा फैलाइने नकारात्मक, तथ्यहीन र भ्रमपूर्ण पोष्टहरूका कारण पनि बजारमा अस्वाभाविक उतारचढाव आउने गरेको छ । साना र नयाँ लगानीकर्ताहरू यस्ता हल्ला र दुष्प्रचारको पछि लाग्दा ठुलो वित्तीय संकटमा फस्ने गरेका छन् ।
हो, सेयर बजारभित्र सबै कुरा ठिक छ र यो दूधले धोएको छ भन्न खोजिएको भने पक्कै होइन । बजारभित्र ‘इन्साइडर ट्रेडिङ’ (भित्री कारोबार), कर्नरिङ र बजारलाई अस्वाभाविक रूपमा तोडमरोड गर्ने जस्ता बेथिति र विसंगतिहरू विद्यमान छन्, जसलाई नियामक निकायले बेलैमा नियन्त्रण गर्नुपर्छ । पुँजी बजारमा रहेका यस्ता विकृतिहरूलाई जरैदेखि उखेलेर सफा बनाउन सरकार, नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज र स्वयं सचेत लगानीकर्ताहरू मिलेर ठोस पहलकदमी चाल्नु आजको अपरिहार्य आवश्यकता हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चौबीसै घण्टा वा सधैँभरि एकनासले माथि मात्र गइरहँदैन र सधैँ ओरालो मात्र पनि लाग्दैन । बजारमा आउने उतारचढाव र विभिन्न चर्चा परिचर्चाहरू यसका स्वाभाविक प्रक्रिया हुन् । वास्तवमा, नेप्से कहिले घट्नु त कहिले बढ्नु, घटिसकेपछि पुनः अघिल्लो रेकर्ड तोड्दै माथि उक्लिनु र बढेपछि फेरि सुध्रिनु नै सेयर बजारको असली सुन्दरता हो । यदि बजारमा उतारचढाव नै भएन र यो एउटै रेखामा स्थिर रह्यो भने त्यहाँ न त कारोबार सम्भव हुन्छ, न त लगानीकर्ताले नाफा कमाउने अवसर नै पाउँछन् । जोखिम र प्रतिफलको यही लुकामारी नै पुँजी बजारको आधारभूत चरित्र हो ।
तर, यो सौन्दर्यलाई बुझ्न नसक्दा धेरै लगानीकर्ताहरू वित्तीय संकटमा पर्ने गरेका छन् । वर्तमान परिप्रेक्ष्यमा अधिकांश नेपाली लगानीकर्ताहरू बजारको प्राविधिक र वित्तीय अवस्थाबारे पूर्ण रूपमा सचेत र जानकार छैनन् । बजारमा कतिपय लगानीकर्ताहरू केवल अरूको देखासिखीमा, सामाजिक सञ्जालका हल्लाको पछि लागेर वा कसैको लहैलहैमा लागेर आफ्नो मिहिनेतको कमाइ खन्याइरहेका छन् । बजार बढ्दा अन्धाधुन्ध रूपमा सेयर किन्ने र घट्दा हतास भएर घाटामा बेच्ने प्रवृत्तिका कारण साना लगानीकर्ताहरू बढी मारमा परेका छन् ।
‘सेयर बजारमा लगानी कुन आधारमा गर्ने ?, किन गर्ने ? र के कुरालाई हेरेर गर्ने ?’ भन्ने सामान्य चेतनाको अभावमा धेरैले आफ्नो पुँजी गुमाएका छन् । बजारको ‘ट्रेन्ड’ वा परिसूचक बढेको बेला वित्तीय अवस्था नाजुक भएका र निरन्तर घाटामा रहेका कमजोर कम्पनीहरूको सेयर मूल्य पनि कृत्रिम रूपमा बढाइने गरिन्छ । यस्ता कम्पनीहरूको भित्री अवस्था नहेरी केवल बढेको दर मात्र हेरेर लगानी गर्दा आमलगानीकर्ताको लगानी डुब्ने र जोखिममा पर्ने सम्भावना अत्यधिक हुन्छ ।
कुनै पनि कम्पनीको सेयर खरिद गर्नुअघि त्यसको आधारभूत पक्ष केलाउनु अनिवार्य हुन्छ । कम्पनीको वित्तीय सूचकांक, प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, नेटवर्थ, विगतका वित्तीय तथ्यांकहरू, त्रैमासिक प्रतिवेदन र वासलातको गहिरो अध्ययन गरेर मात्र लगानीको निर्णय लिनुपर्छ । सेयर बजारलाई अल्पकालीन व्यापार का रूपमा लिनेहरूले केवल बजारको तत्कालीन उतारचढाव र प्राविधिक सूचक मात्र हेरेर जोखिम मोल्छन् ।
तर, जुनसुकै रणनीति अपनाए पनि सेयर बजारमा लगानी गर्नुको मुख्य उद्देश्य केही कमाउनु नै हो, गुमाउनु होइन । यो अकाट्य सत्यलाई प्रत्येक लगानीकर्ताले सधैँ मनन गर्नुपर्छ । सेयर बजारमा लगानी गर्ने सबैले कमाउँछन् नै भन्ने भ्रमबाट मुक्त भई जोखिम व्यवस्थापन गर्न सिक्नु आजको आवश्यकता हो ।
हाल नेपालमा डिम्याट खाता खोल्नेहरूको संख्या झन्डै ७५ लाखको हाराहारीमा पुगिसकेको सरोकारवालाहरू बताउँछन् । यसको अर्थ देशको कुल जनसंख्याको झन्डै २० प्रतिशतभन्दा बढी नागरिक प्रत्यक्ष वा परोक्ष रूपमा यस बजारसँग जोडिएका छन् । यति ठुलो जनसंख्या आबद्ध भएको बजारलाई राज्यले नजरअन्दाज गर्न किमार्थ मिल्दैन । अब बन्ने नयाँ सरकारको मुख्य प्राथमिकता नै पुँजी बजारमैत्री नीति नियमहरू तर्जुमा गर्नु हुनुपर्छ ।
अबका दिनमा सरकार, जिम्मेवार नेताहरू, सांसदहरू, मन्त्रीहरू, अर्थशास्त्रीहरू र बजारका सरोकारवाला निकायहरूले सेयर बजारका बारेमा नकारात्मक, अपरिपक्व र भ्रमपूर्ण अभिव्यक्ति दिन पूर्ण रूपमा बन्द गर्नुपर्छ । बरु, पुँजी बजारको संस्थागत विकास गर्न, साना लगानीकर्ताको हित संरक्षण गर्न र बजारलाई परिपक्व बनाई नयाँ उचाइमा पुर्याउन आवश्यक पर्ने नीतिगत सुधार, कानुनी स्पष्टता र प्रविधिमैत्री संरचना निर्माणका लागि ठोस पहलकदमी चाल्नुपर्छ । अब बन्ने नयाँ सरकारको मूल कार्यदिशा र आर्थिक एजेन्डा पनि यही नै हुनुपर्दछ ।
प्रतिक्रिया