पाठक पत्र : संकटतर्फ धकेलिँदै घरजग्गा, गाडी र सेयर बजार

हाम्रो अर्थतन्त्रको मेरुदण्ड मानिएका घरजग्गा, गाडी र सेयर बजार हाल गम्भीर संकटमा फसेका छन् । यसले सर्वसाधारण र बैंक तथा वित्तीय संस्थाहरूलाई समेत ठुलो जोखिममा पारेको छ । पूर्वअर्थमन्त्रीहरू डा.बाबुराम भट्टराई र युवराज खतिवडाले सार्वजनिक रूपमै ‘सेयरमा लगानी गर्नु जुवा खेल्नुसरह हो’ भनेका थिए, जुन कुरा अहिले पुष्टि हुँदै गएको देखिन्छ ।

सेयर बजार विशेषगरी ५०–५५ जना मुख्य खेलाडीहरूको कब्जामा छ । बैंक, वित्तीय संस्था, हाइड्रोपावर र इन्स्योरेन्स कम्पनीहरूले प्रतिइकाई १०० रुपैयाँमा निष्कासन गरेको सेयरको मूल्य तिनै खेलाडीहरूले बढाएर ३ हजार २०० देखि ३ हजार ५०० रुपैयाँसम्म पु¥याएका थिए । अहिले ८३ लाख ६७ हजार सर्वसाधारणको लगानी यस क्षेत्रमा छ । केही वर्षअघि ३ हजार २०० देखि ३ हजार ५०० मा किनिएको सेयर अहिले २ हजार ७०० मा झरिसकेको छ ।

बैंकहरूको मुख्य लगानी घरजग्गा, गाडी र सेयर बजार गरी तीन क्षेत्रमा केन्द्रित छ । सेयर धितो राखेर बैंकहरूले अर्बौँ–खर्बौँ कर्जा प्रवाह गरेका छन् । तर, अहिले मूल्य घट्दा बैंकहरू संकटमा परेका छन् । धितोको मूल्य निरन्तर घटेसँगै बैंकहरूले निक्षेपको ब्याजदर पनि ह्वात्तै घटाएका छन् । केही वर्षअघि ११ प्रतिशतभन्दा बढी ब्याज दिने बैंकहरूले अहिले बचतमा १ देखि बढीमा ३ प्रतिशत मात्र ब्याज दिइरहेका छन् । अर्कोतर्फ, कर्जा प्रवाह पूर्ण रूपमा ठप्प छ ।

बैंकहरूसँग पैसा त छ, तर ऋण माग्न कोही आउँदैनन् । ६ प्रतिशत ब्याजदरमा समेत कर्जा लगानी हुन सकेको छैन । यसरी पैसा थुप्रिँदा बैंकहरूलाई थप घाटा भइरहेको छ । कानुनमा स्पष्ट लेखिएको छ – हाइड्रोपावर कम्पनी दर्ता भएको मितिले ३० वर्ष पुगेपछि सरकारको स्वामित्वमा जान्छ ।

त्यसो त केही वर्षयता बाढी र डुबानका कारण संरचनाहरू बगाउँदा हाइड्रोपावर कम्पनीहरू खर्बौंको नोक्सानी सहेर घाटामा चलिरहेका छन् । गत भदौ २३ र २४ मा सरकारी र निजी दुवै क्षेत्रको खर्बौंको क्षति भयो । सरकारी सम्पत्तिको बिमा नगरिए पनि निजी क्षेत्रको गरिएको थियो । तर, बिमा कम्पनीहरूले खर्बौंको क्षतिपूर्ति रकम भुक्तानी गर्न सकेका छैनन् । रकम नपाएपछि बिमाप्रति मानिसहरूको विश्वास घट्न थालेको छ र धेरैले बिमा नवीकरणसमेत गरेका छैनन् ।

मुख्य कुरा, घरजग्गा, गाडी र सेयरमा लगानी हुँदा राज्यले के पायो त ? खासै केही छैन, बरु उल्टै कर छली भइरहेको छ । उदाहरणका लागि, अहिले प्रतिइकाई २ हजार ७५० रुपैयाँमा सेयर बेच्दा राज्यलाई मात्र ५० रुपैयाँ राजस्व आउँछ । तर, यही सेयर २ हजार ६९० रुपैयाँमा बेचियो भने राज्यलाई कर नै तिर्नु पर्दैन । यसरी हेर्दा सेयर बजार जुवा नै भएको पुष्टि हुन्छ । सेयर बजारमा बैंकहरूको मात्र १ खर्ब ६७ अर्ब लगानी छ भने सर्वसाधारणको खर्बौँ रुपैयाँ फसेको छ ।

३ हजार ५०० को सेयर २ हजार ७०० मा झरी सक्यो र यो अझै कति घट्ने हो निश्चित छैन । यसरी नै मूल्य घट्दै गए बैंक र वित्तीय संस्थाहरूको हालत के होला ? बैंक तथा वित्तीय संस्थाले नाफा कमाए मात्र सेयर लगानीकर्तालाई बोनस दिने हो । नाफा नै नभएपछि बोनस दिन सक्दैनन् र बोनस नपाएपछि लगानीकर्ताहरूले साथ छाड्नेछन् । तब बैंकहरूमा ठुलो वित्तीय संकट आउन सक्छ । यसतर्फ सरोकारवाला निकायको ध्यान बेलैमा जाओस् ।

रामबहादुर थापा

काठमाडौँ, नेपाल

प्रतिक्रिया