पाठक पत्र : कालोधन लुकाउने माध्यम बन्दै विलासी क्षेत्र

केही महिनाअघि सुन प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो, जसमा गहना बनाउने ज्याला मात्र ४० हजार रुपैयाँ छ । चाँदीको मूल्य तोलाको ८ हजार ६७० रुपैयाँ पुगेको थियो भने ज्यालासहित १० हजार रुपैयाँ पुग्यो ।
तोलाकै ४ लाख रुपैयाँ हाराहारीमा सुन किनबेच हुँदासमेत राज्यले केही पाउँदैन । चाँदीबाट पनि राज्यलाई खासै फाइदा छैन । सरकारले सुनचाँदी बजारलाई खुला छोडिदिएको छ । अर्थात्, यसमा लगानी गरेबापत कर तिर्नु पर्दैन । यही नीतिको फाइदा उठाउँदै भ्रष्टाचार गरिएको, राजस्व छलिएको र गैरकानुनी रूपमा आर्जित रकमबाट सुन किनेर थुपार्ने क्रम जारी छ । सरकारले यसको कुनै नियमन गर्दैन ।

अहिले कोसँग कति सुन छ र त्यो कुन पैसाले किनिएको हो भन्नेबारे सरकारले खोजतलास नगर्दा सुन कालोधनलाई सेतो बनाउने (सम्पत्ति शुद्धीकरण गर्ने) राम्रो माध्यम बनिरहेको छ । २०२२ सालसम्म सुन प्रतितोला ८० रुपैयाँ रहेको र त्यतिबेला चाँदी बिक्री नै नहुने बूढापाकाहरू बताउँछन् । तर, अहिले हरेकसँग सुनचाँदी छ । यस्तै अवस्था घरजग्गा र गाडीमा पनि छ ।

पहिले रोपनीको १० हजारमा समेत नबिक्ने खेतीयोग्य जमिनमा डोजर चलाई टुक्राटुक्रा पारेर आनाकै २५ लाखदेखि करोडौँमा बेचियो । सरकारी, गुठी, ऐलानी, हदबन्दीभन्दा बढी, वनजंगल, तालपोखरी, इनार, मठमन्दिर, पाटीपौवा, ढुंगेधारा, कुवा, कुलो, खोलानाला र राजपरिवार लगायतका जग्गासमेत व्यक्तिको नाममा लगियो ।

अर्कोतर्फ, गाडी फलाम, प्लास्टिक, रबर, कपडा, फर्म लगायतका वस्तुबाट बन्छ, जसलाई कवाडले दुई रुपैयाँ किलोमा लैजान्छन् । तर हाम्रा छिमेकी देश भारत र चीनले यिनै वस्तुबाट गाडी बनाएर नेपाललाई लाखौँ–करोडौँ रुपैयाँमा बेच्छन् । अहिले यी क्षेत्रमा सोचरिचार नगरी दलालको लहैलहैमा लागेर लगानी गर्नेहरू नराम्ररी डुबेका छन् ।

जिन्दगीभरको कमाइ बालुवामा पानी भएपछि कतिपयले आत्महत्या गरिरहेका छन् भने कतिपयले पत्नी र छोराछोरीसमेत मारेका छन् । कोही देश छोडेर भागेका छन् भने कतिपय जेल जीवन काटिरहेका छन् । यस्तो भयावह अवस्था आउनुमा राज्य पनि उत्तिकै जिम्मेवार छ । कानुनमा स्पष्ट रूपमा घरजग्गा, गाडी, सेयर र सुनलाई विलासिताका वस्तु भनिएको छ ।

यद्यपि, सरकारले यसमा लगानी गर्न कडाइ गर्नुको साटो उल्टै प्रोत्साहन ग¥यो । दलालहरूले कृत्रिम मूल्य बढाएर सर्वसाधारणलाई लगानी गर्न उक्साए । मानिसहरूले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर लगानी गरे । अहिले धितोको मूल्य स्वाट्टै घट्दा र बैंकको सावाँ–ब्याज बढ्दा मानिसहरू निकै तनावमा छन् । ऋणीहरूले बैंकलाई धितो लिलाम गर त भनिसके ।

तर, बैंकले तीन पुस्तासम्म कालोसूचीमा राखिदिन्छ । कालोसूचीमा पर्नेबित्तिकै बद्नाम हुनुका साथै छोराछोरीको भविष्यसमेत अन्योलमा पर्छ । अनि कुनै बाटो नदेखेपछि ऋणीले आफ्नो वंश मास्नुका साथै आत्महत्या गर्छन् । घरजग्गा, गाडी र सेयरका कारण दलालहरू त मालामाल भए तर धेरै जनता डुबे । अब भने सरकारको पनि यसतर्फ ध्यान जाओस् । यी क्षेत्रमा लगानी गर्न कडाइ गरियोस् र जनता पनि आफैँ होसियार बनौँ ।

रुषा थापा

भक्तपुर

प्रतिक्रिया