मार्क्सवादको ठेली र सामन्ती व्यवहार : कम्युनिस्ट नेतृत्वमा जडता

नेपालका कम्युनिस्टहरू मार्क्सवादका ठेली पल्टाएर पढ्दछन्, तर व्यवहार सामन्ती व्यवस्थाको गर्दछन् । पटक–पटक सत्तामा पुग्दा पनि जनतालाई सामाजिक न्याय र समाज रूपान्तरण गर्न चासो देखाउँदैनन् । अब पुरानै ढाँचामा बग्दै जाने हो भने कम्युनिस्ट पार्टी जनतालाई किन चाहियो ?

राममणि पोखरेल

२१ फागुनको निर्वाचनपछि संयोगले राजधानी पुगेको थिएँ । सिंहदरबार छिर्ने काम थियो । कसैले छिरेर फर्कंदै गर्दा एक जना पुराना मित्र, नेकपा एमालेका नेतासँग गेटमा भेट भयो । हात मिलाएर सामान्य कुराकानी भयो । मैले हात मिलाउँदै गर्दा उनलाई भनेँ, ‘घाम पार्टीको हालखबर के छ ?’

उनी हाँसे । ‘तिमीले छोडेर हिँड्यौँ । के भन्दछौ केपी ओलीको शासन छ । उनी कतै चकमकाउँदैनन् (चटपटाउँदैनन्), दल त कमजोर नै भयो । आगामी दिनमा पनि कम्युनिस्ट आन्दोलन त कमजोर नै हुने भयो ।’ ‘हामी आफूलाई अब कम्युनिस्ट नभनौँ, उदीयमान मध्यम वर्गको जमातभन्दा हुन्छ । सबै कम्युनिस्ट भनिएका नेता र कार्यकर्ता आर्थिक रूपमा भ्रष्ट र नैतिकता गुमाएका व्यक्ति भए,’ मैले हाँस्दै भनेँ ।

‘हाम्रो दल त अब नेपाल कम्युनिस्ट पार्टीको नाममा पुष्पकमल दाहालको काखमा गयो । चित्त बुझ्दछ, यहीँ बस, नभए अन्यत्र बाटो लाग । तर्क र सुझावको कुनै गुन्जायस छैन । मतदाताहरू भनौँ, नेकपा पूर्वमाओवादी आजको नेपाल कम्युनिस्ट पार्टीलाई मतदान गर्न इच्छुक व्यक्ति ५० प्रतिशत केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला कमिटीका सदस्य भन्दछन् । जनता स्वतन्त्र देखिन्छन्, त्यसको प्रमाण २५ घटक जोडेर बनेको २ हजार ५०० जनाको केन्द्रीय सदस्य भएको कमिटी र प्राप्त मतलाई लिन सकिन्छ । तपाईंहरूको जिल्ला कमिटी र प्रदेश कमिटीमा बस्ने ३० प्रतिशत सदस्यले कति वैचारिक काम गरे त ? यसको लेखाजोखा कसले र कसरी गर्ने ?’

हाम्रो कुराकानी चल्दै गर्दा चिया आयो र चुस्की लिँदै वार्ता अघि बढायौँ । जेनजी (जेएलएफ÷जेपी) आन्दोलनपछि सेनाको सुरक्षामा गएर ज्यान बचाउन बाध्य भएका पूर्वप्रधानमन्त्री ओलीलाई पदबाट हटाउनु या उनले सहज तरिकाले राजीनामा दिनु उचित हुन्थ्यो । तर पार्टीका उनका भरौटे, आउरे–बाउरेले सिधै भने, ‘नेतृत्वमा संकट आएको समयमा नेता–कार्यकर्ता मिलेर नेतृत्व बचाउनु कर्तव्य हुन जान्छ ।’

नेपाली कांग्रेसलाई सामेल गरेर बनेको सरकारको नेतृत्व गरेका केपी ओलीले त्यस अवधिमा गरेका गलत कामको उचित मूल्यांकन पद्धति अपनाइएन । त्यसबेला उनी सर्वमान्य झैँ बनाइए, ‘केपीबिनाको नेकपा एमाले हुनै सक्दैन’ भन्ने भाष्य प्रचारमा ल्याइयो । विद्या भण्डारीको पार्टी सदस्यमा नवीकरण गर्न दिइएन । पार्टीकै हैसियतले भण्डारीलाई पार्टीले राष्ट्रपतिमा सिफारिस गर्यो, सरकारी अवधि समाप्त भएपछि पुनः फर्केर आफ्नो पार्टीको सदस्यता नवीकरण गरेर प्रत्यक्ष वा अप्रत्यक्ष पार्टी र जनतालाई सहयोग गर्छु भन्न नपाउनु ? यो कुन देशको र पार्टीको नियमावली हो त ? नेकपा एमाले के एक छात्र खड्गप्रसाद ओलीकै जिम्मेवारीमा चल्ने दल हो त ?


सरकारमा बसेर अपराधपूर्ण काम गर्ने दल र जनतालाई गलत दिशाबोध गर्ने, अनि आफ्ना आउरे–बाउरेबाट भनाउने, ‘नेतृत्व संकटमा छ, बचाउनु पर्दछ ।’ नेतृत्व संकटमा पार्यो कसले त ? यसको सूक्ष्म मूल्यांकन हुनुपर्यो नि, कार्यकर्ता र नेतामा त्यो हिम्मत छ त ?

नेपाली कांग्रेस र नेकपा एमालेको मिलिजुली सरकार बनेपछि प्रस्तुत भएका बजेटमा २ वटा टाउकेको जिल्लामा बजेटको ५–५ रकम पठाइयो । खड्गप्रसाद ओली र शेरबहादुर देउवाहरू रमाए । देशका अन्य भागका जनता भाँडमा जाऊन्, अँध्यारोमा बसून् । ५ किलो युरिया मलका लागि तातो घाममा किसानहरू लाइन लागून् । तर कम्युनिस्ट र कांग्रेसको नामबाट चिनिएका नेताहरू हिजोको त्याग बिर्सेर सुनको व्यापारमा तल्लीन देखिए । यो यथार्थ कसले बुझ्ने त ?

तिनै झापाका जनता जो २०४८ सालदेखि खड्गप्रसाद ओलीका पछि लाग्दै आएका थिए र छन्, २ सालको राष्ट्रिय बजेटको ५–५ प्रतिशत त्यही झापाले पायो । टावरजस्तो चिहान बन्यो । हाई हाई केपीका नारा गुन्जिए । आँखामा पट्टी टाँसिएकै हो त ? जेनजी आन्दोलनपछि बनेको कार्की आयोगमा बयान दिनुपूर्व प्रधानमन्त्री जानु हुँदैन भन्ने तिनै कार्यकर्ता हुन् । बयान दिन जानु केपीको प्रतिष्ठामा धक्का लाग्दछ भनियो । यो तर्क कुन कानुनी धरातलमा उभिएर भनिएको थियो त ? दासताको परिभाषा के ? यही हो त ?

झापाका तिनै जनता, तिनै कार्यकर्ता, तिनै संघ–संस्था आदिले किन नेकपा एमालेलाई मतदान गरेनन् त ? कम्युनिस्ट आन्दोलनको उर्वरभूमि भनिएको झापामा तीनपल्ट प्रधानमन्त्री भएका ओली र अन्य क्षेत्रका कार्यकर्ता र जनताले किन अर्को विकल्प खोजे त ? नेकपा एमाले शून्य किन भयो ? ५० हजार मतले पराजित भएका खड्गप्रसाद ओलीले किन पार्टी अध्यक्षबाट चुनावको नतिजा प्रकाशनपछि राजीनामा दिन सकेनन् । उनले पढेको मार्क्सवाद, नैतिक आचरण, सांस्कृतिक चेतनामा उनी कहाँ चुके त ? अझै उनी राजीनामा गर्ने पक्षमा छैनन्, कारण के ? जड मानसिकता ।
नेकपा एमालेको ठुलो जमात ओलीलाई पार्टी अध्यक्षबाट हटाउने प्रयत्नमा छ । तर निर्वाचनको २ महिना बितिसक्दा पनि केन्द्रीय कमिटीको बैठक बस्न सकिरहेको छैन, किन ? ओलीको अनुहारको आतंकले कि नेकपा एमाले सिद्धान्त, विचार, नैतिकताविहीन कार्यकर्ताको भिड भएकोले हो त ? पुष्पलाल, मनमोहन र मदन भण्डारीको आदर्शबाट विचलित भएर कुवामा बस्ने भ्यागुतो या पाहामा परिणत भएको हो भने त देशका ५ लाख पार्टी सदस्यको मूल्यांकन गर्यौँ त ?

प्रथम विश्वयुद्धपछि दोस्रो विश्वयुद्धसम्मको समय विश्वमा कम्युनिस्टहरूका लागि उर्वर रहेछ । तर दोस्रो युद्धपछि प्रारम्भ भएको शीतयुद्धले कम्युनिस्टहरूलाई कमजोर पार्यो भन्न सकिन्छ । शीतयुद्धको समयमा कुनै मुलुकमा हतियारद्वारा सत्ता कब्जा भएन, विश्वको सानो मुलुक क्युवालाई छाडेर । कम्युनिस्ट पार्टीको अगुवाइमा धेरै देशमा ठुला–ठुला आन्दोलन भए, जनताले साथ दिए । तर सफल हुन सकेनन् ।

शीतयुद्धको समाप्ति र सोभियत संघको विघटनपछि संसारका कम्युनिस्टहरूले हतियार बिसाएर मत माग्न थाले । मत माग्दा देशको परिस्थिति अनुकूल सफलता, असफलता दुवै भोग्दै आएका छन् । भारत जस्तो विशाल मुलुकको १० करोड जनसंख्या भएको पश्चिम बंगालका जनताले पटक–पटक आफ्नो अमूल्य मत दिएर कम्युनिस्ट पार्टीलाई सत्तामा पुर्याए । तर सत्तामा पुगेर लामो शासन गर्दा पनि सामाजिक न्याय, विकास निर्माण र समाजको रूढिवादी परम्परालाई उन्मूलन गर्न सकेनन् । पछिल्लो चरणमा पश्चिम बंगालबाट कम्युनिस्टहरू कमजोर भएर गए । अब पुनः पश्चिम बंगालको सत्तामा पुग्न उनीहरूलाई असम्भव नै छ ।

नेपालका कम्युनिस्टहरू मार्क्सवादका ठेली पल्टाएर पढ्दछन्, तर व्यवहार सामन्ती व्यवस्थाको गर्दछन् । उनीहरू भन्दछन्, ‘नेपाली ढाँचाको समाजवाद’, लाज नमानी भन्दछन् । तर पटक–पटक सत्तामा पुग्दा पनि जनतालाई सामाजिक न्याय दिन सक्दैनन् । समाज रूपान्तरण गर्नेतर्फ चासो देखाउन सक्दैनन् । यिनीहरू परम्परावादबाट सुध्रिनै सकेनन् ।

अन्य दलसँग प्रतिस्पर्धा गर्न कम्युनिस्टहरू चुनाव लड्दछन् । संयोग लाग्दा जित्ने गर्दछन् । दोस्रो पल्ट उनीहरू नराम्रो पराजित हुन्छन् । कम्युनिस्टको आदर्श के हो त ? तैपनि उनीहरू कपोलकल्पित नेपाली ढाँचाको समाजवादका लेख लेख्न छाड्दैनन् । उनीहरूको नेपाली ढाँचाको समाजवाद भनेको नेपालमा हालसम्म विद्यमान रहेको छुवाछुत प्रथा यथावत राख्नु, गरिब–धनीबीचको खाडल यथावत कायम गर्नु, वादी जातिका महिलालाई वेश्यावृत्ति गरेर पेट पाल, मत कम्युनिस्ट पार्टीलाई देऊ भन्नु, छाउपडी प्रथा यथावत राख्नु, २१–२२ वर्षका छोरीहरू छाउगोठमा गएर मृत्यु वरण गर आदि नै हो त ?

नेकाको विशेष महाधिवेशनबाट पार्टी सभापति भएका गगन थापा थोरै मतले निर्वाचन हार्दा सभापति पदबाट राजीनामा दिन तयार हुने । ५० हजार मतले हार्ने, पार्टी अध्यक्ष (नेकपा एमालेको) पदबाट राजीनामा दिन अस्वीकार गर्ने । प्रत्येक कम्युनिस्ट पार्टीका नेता जड हुन् ।

कोरियाका किम इल सुङले वंश परम्परा कायम गरे । रुमानियाका चाउचेस्कुको वंशनाश गराइयो । अब संसारमा पुरानै ढाँचामा बग्दै जाने हो भने कम्युनिस्ट पार्टी जनतालाई किन चाहियो ? कोरियन ढाँचा कायम गर्ने कि चाउचेस्कु जस्तो हुने कि पश्चिम बंगालको शून्यतामा परिणत हुने ? यो प्रश्न गम्भीर छ । प्रत्येक कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताले बुझ्न अति जरुरी छ ।

प्रतिक्रिया