हेटौँडामा जे एन्ड बी बारिस्टा एकेडेमी सञ्चालनमा

मकवानपुर । हेटौँडा–४ स्थित स्कुल रोडमा व्यावसायिक सीपमूलक तालिम प्रदान गर्ने उद्देश्यले ‘जे एन्ड बी बारिस्टा एकेडेमी’ सञ्चालनमा आएको छ । एकेडेमीको पूर्वसांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारी र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बागमती प्रदेशका कार्यकारी निर्देशक शान्ति लामाले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

एकेडेमीका सञ्चालक युवा उद्यमी जगदीश बिडारीले वैदेशिक रोजगारीका क्रममा आठ वर्ष कफी क्षेत्रमा काम गरेर फर्किएपछि हेटौँडामा विगत ४ वर्षदेखि ‘जे एन्ड बी कफी’ सञ्चालन गर्दै आएका थिए । उनले सीटीईभीटीसँगको समन्वयमा बारिस्टा तालिम र कफी सपमार्फत थप युवालाई सीप र रोजगारीसँग जोड्ने उद्देश्यले एकेडेमी सञ्चालनमा ल्याएको बताए । विदेशमा गर्ने मेहनत स्वदेशमै गर्दा आम्दानी र आत्मसन्तुष्टि दुवै मिल्ने उनको अनुभव छ ।

पछिल्लो समय युवा पुस्तामा बारिस्टा लगायतका सीपप्रति आकर्षण बढेको र वैदेशिक रोजगारीमा जान चाहनेका लागि समेत यो उपयोगी हुने भएकाले करिब १५ लाख रुपैयाँको लगानीमा एकेडेमी सुरु गरिएको हो । उद्घाटनका अवसरमा वरिष्ठ अधिवक्ता बिडारीले विदेशमा सिकेको ज्ञान र सीपलाई स्वदेशको विकासमा लगाउनु सकारात्मक भएको भन्दै उद्यमी युवालाई समाजले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

सीटीईभीटी बागमती प्रदेशकी कार्यकारी निर्देशक लामाले नयाँ व्यवसायको सफलताको शुभकामना दिँदै यसले सुगन्धित सम्भावनाको विस्तार गर्ने विश्वास व्यक्त गरिन् । एकेडेमीमा बारिस्टा, बारटेन्डर, सुशी, बेकरी, पिज्जा, कुकिङ, हाउसकिपिङ, तन्दुर, बर्गर र स्यान्डविच सम्बन्धी १५ दिनदेखि ३ महिनासम्मका तालिमहरू सञ्चालन गरिनेछन् ।

सञ्चालक बिडारीका अनुसार एकेडेमीले सरकारी तथा गैरसरकारी संस्थाहरूसँग सहकार्य गरेर सीपमूलक कार्यक्रम सञ्चालन गर्नुका साथै वैदेशिक रोजगारीमा जान चाहने युवाहरूलाई सीपसम्बन्धी परामर्श सेवा समेत उपलब्ध गराउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया