
१० सालमा जन्मिएँ । कति वर्ष भए कुन्नि ! बिहे गरेर आउँदा १८ वर्षको थिएँ । अहिलेको जस्तो हो र नानी ! बिहान ४ बजे उठ्नुपथ्र्यो । जाडो होस् कि गर्मी, बिहान उठ्नेबित्तिकै राति लगाएको लुगा फेरेर मुख धुने, अनि दैलो लिप्नुपथ्र्यो । यो हरेक दिनको नियमित काम थियो । बिरामी होस् कि गाह्रो, केही भन्न पाइँदैनथ्यो । १० वटा बच्चा पाएँ । ४ वटा खेर गए, ६ जना छँदै छन् । पेटमा बच्चा हुन्थे, ध्याम्पोजत्रो पेट लिएर घरको धन्दा गर्नुपथ्र्यो । तँलाई गाह्रो भो, आज सघाउँछु भन्ने कोही हुँदैनथ्यो ।
बिहान दैलो त पोत्नैपथ्र्यो । चोखो पानी ल्याएर दैलो–कँस्यार गरेपछि बल्ल अरू काम गथ्र्यौं । अहिलेजस्तो बासी पानी चल्दैनथ्यो । म त अहिले पनि भित्र राखेको पानीले चित्त बुझ्दैन । बिहान पूजा गर्न र दैलो पुछ्न घरबाहिर पानी राख्छु । बाहिर राखेको पानी जुठो हुँदैन नि ! अझ डोको बोक्यो र वनमा सोत्तर लिन गयो । हाम्रो दुःख सम्झिँदा त अहिलेका बुहारीलाई कति सुख कति । वनमा गयो, एउटा–एउटा पात टिपेर डोको भर्नुपर्ने, घर आउँदा १० बज्थ्यो । बर्खामा घाँस पनि अरूको बारीबाट चोरेर ल्याउनुपथ्र्यो, गाली खाइन्थ्यो ।
घर पोत्ने गोबर अहिलेको जस्तो पहिला गन्हाउँदैनथ्यो । गोबर माटोले पोतेको घर मगमग बास्ना आउँथ्यो । अहिलेको गोबर त गन्हाउँछ । मान्छेको हो कि गाईको– चिन्नै गाह्रो । पहिला घाँस पराल मात्रै खुवाइन्थ्यो । जेथेमेथे खुवाउने चलन थिएन । अहिले त गाईलाई पनि भिटामिन रे, चोकर रे, के के हो के के ! त्यसैले पनि गोबर गन्हाएको होला !
खानेपानी लिन उ त्यहीँ विष्णुमती खोला जान्थ्यौँ । त्यो पनि बाढी नआएको मौका छोप्नुपर्ने थियो । पछि बिस्तारै खोलामा फोहोर बग्न थालेपछि मूलको पानी खान थाल्यौँ । पानीको दुःख उस्तै, के कुरा गर्नु । उतिबेलाका दुःखका के कुरा गर्नु ? भनिसाध्य छैन । खानपिन उस्तै थियो । अहिले जस्तो रोजेर मुखले खोजेको खान पाइने हो र ! रोटी धेरै खायो भने, ढिँडो पका बुढी भन्नुहुन्थ्यो, ससुराले । अहिलेका मान्छेले खाएको देख्दा अचम्म लाग्छ । हामीले पायो भने, तर्कारी न सर्कारी ४–५ वटा रोटी निस्तै खाइन्थ्यो ।
उतिबेला हाम्रो दैनिकी भनेको दैलो पोत्ने, ढिकी जाँतो गर्नेबाट सुरु हुन्थ्यो । ४ बजे उठ्यो, बेलुकाचाहिँ अहिलेका मान्छेभन्दा चाँडै सुत्थ्यौँ । टिभी थिएन, मोबाइलको त कुरै नगरौँ । बत्ती पनि हुँदैनथ्यो, बेलैमा धन्दा सकाएर सुत्थ्यौँ । धन्दा सकेपछि के गरेर बस्नु !
अहिलेजस्तो फेरीफेरी लगाउने लुगा पनि हुँदैनथ्यो । सासुले राति लगाएको लुगा फेर्न पर्छ है ! भन्नुहुन्थ्यो । जाडो महिनामा निकै सकस हुने । अहिलेजस्तो तातो पानी हुँदैनथ्यो । घन्दा सकाएर एकछिन हात सेक्न पाए ! भन्ने लाग्थ्यो । गहुँको छ्वाली बालेर कुहिरीमण्डल धुवाँ बनाउँदै ताप्थ्यौँ । केटाकेटीलाई पकाएर पनि खुवाउनुपर्ने, खेतीपाती पनि हेर्नुपर्ने ! उहिलेका कुराका के कुरा गर्नु !

अहिलेका बुहारीले त दैलो पनि बढार्दैनन् । बुहारी भित्र्याएपछि मैले कति घर पोतेँ । उनीहरू त यसो लुडो घिसार्छन् भैगो । गोबरले पोतेको घरमा लच्छिन हुन्छ भन्थे । बिहान दैलो पोतिएन भने, कस्तो अलच्छिनी बुहारी भएको घर भन्थे । उतिबेलाको गोबरमाटोले पोतेको घर पनि सफा हुन्थ्यो । ओभानो दैलो भयो भने त मलाई नै चित्त बुझ्दैनथ्यो । माइतमा पनि यस्तै सिकेर आएको, घरमा पनि त्यसै गरियो । अहिलेका मान्छेलाई त कुचो लगाउन, आगो फुक्न पनि सिकाउनुपर्छ ।
हामीलाई त दसैँ आएपछि सिंगो घर पोत्नुपथ्र्यो । माटो खोज्न जान्थ्यौँ । दसैँ र टोखा सपनतीर्थ जात्राका बेला भने सिंगो घर पोत्नैपथ्र्यो । फलानाले यसरी पोते भन्दै हानथाप हुन्थ्यो, कसले राम्रो बनाउने भनेर । अरूबेला त धेरै गाह्रो हुँदैनथ्यो, पेटमा बच्चा भएका बेला निकै सकस । अहिलेका मान्छेले गरेको काम देख्दा त के गरेको होला भन्ने लाग्छ ।
सुत्केरी हुँदा न्वारानको दिनदेखि घास काँट्न जानुपथ्र्यो । गाई पनि पालियो, बाख्रा पनि पालियो । गोठभरि गाईभैँसी हुन्थे, पेटमा बच्चा हुन्थ्यो । आज सकिनँ भनेर कहिल्यै बसिएन । बरु अहिले काम गर्न गाह्रो हुन थाल्यो । उतिबेला त बल पनि आउँथ्यो, जाँगर पनि लाग्थ्यो । त्यतिबेला हामीलाई दुःख लागेको कुरा हाम्रै लागि जाती रहेछ नानी ! काम गरेपछि भोक लाग्थ्यो, खाना रुच्थ्यो । खासै ठुलो बिसन्चो हुँदैनथ्यो । अहिले त खानाको स्वाद पनि छैन । रुच्दा पनि रुच्दैन । अब त काम गर्न गाह्रो हुन थाल्यो । पहिलाको जस्तो बल, जाँगर सबै हराए ।
प्रस्तुति : चमिना भट्टराई
प्रतिक्रिया