एसइई सकिएको १ महिनामै नतिजा सार्वजनिक : झन्डै ६६ प्रतिशत विद्यार्थी ग्रेडेड, डेढ लाख ननग्रेडेड

३.६–४ जिपिए : ४८ हजार ३९२

३.२–३.६ जिपिए : ८० हजार ३७२

२.८–३.२ जिपिए : ९४ हजार २२२

२.४–२.८ जिपिए : ५५ हजार ९७७

२–२.४ जिपिए : ५ हजार १९०

१.६–२ जिपिए : ७

ननग्रेडेड : १ लाख ४६ हजार ५०७

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा सार्वजनिक गरेको छ । परिक्षा सुरु हुनुअघि सरकारले परीक्षा सकिएको १ महिनाभित्रै नतिजा ल्याउने प्रतिबद्धता जनाएको थियो । २०८२ को एसइई चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो भने परीक्षा सकिएको ठिक १ महिनामै नतिजा सार्वजनिक भएको हो । सरकारले नतिजा प्रकाशनका लागि वैशाख २९ गतेको समयसीमा तोके पनि १ दिनअगावै सार्वजनिक भएको हो । योसँगै सरकारले आफ्नो प्रतिबद्धतासमेत पूरा गरेको छ ।

एसइई २०८२ को नतिजामा यस पटक ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् भने ३४.०२ प्रतिशत ननग्रेडेडमा परेका छन् । यो ४.१७ प्रतिशतले नतिजामा सुधार आएको हो । गत वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेडमा परेका थिए ।

परीक्षार्थीहरुमध्ये ४८ हजार ३९२ जनाले ३.६ देखि ४ जिपिए ल्याएका छन् भने ३.२ देखि ३.६ जिपिए ल्याउने ८० हजार ३७२ जना, २.८ देखि ३.२ जिपिए ल्याउनेको संख्या ९४ हजार २२२ छ । त्यस्तै, २.४ देखि २.८ सम्म ५५ हजार ९७७ ले ल्याउँदा ५ हजार १९० जना विद्यार्थीले २ देखि २.४ जिपिए पाएका छन् । ७ जनाले २ जिपिएभन्दा कम ल्याएका छन् । बोर्डका अनुसार १ लाख ४६ हजार ५०७ परिक्षार्थी ननग्रेडेड भएका छन् ।

चैत १९ देखि सुरु भएको एसइईमा नेपालका १ हजार ९६५ वटा र जापानको एउटा गरी १ हजार ९६६ वटा परीक्षा केन्द्रबाट नियमित र स्तरवृद्धिका लागि गरी ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिएका थिए ।

अघिल्लो वर्ष ४ लाख ३८ हजार ८९६ परीक्षार्थीले सहभागिता जनाएको एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए भने भने ३८ प्रतिशत विद्यार्थी ननग्रेडेडमा परेका थिए । संख्यात्मक हिसाबमा २ लाख ७१ हजार २९९ जना ग्रेडेड हुँदा १ लाख ६७ हजार ५९७ विद्यार्थी ननग्रेडेड भएका थिए ।

त्यसअघि २०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण हुँदा २०८१ मा भने केही सुधार गर्दै २०८१ मा ६१.८१ प्रतिशत पुगेको थियो । यस पटक परीक्षा सकिनासाथ परीक्षा केन्द्र भएकै स्थानमा उत्तरपुस्तिका परीक्षण गरिएको थियो । ‘माध्यमिक शिक्षा परीक्षा (एसइई) व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२’ मा परीक्षा सम्पन्न भएको बढीमा ३ दिनभित्र उत्तरपुस्तिका परीक्षण गरिसक्नुपर्ने व्यवस्था गरिएको थियो ।


प्रतिक्रिया