
काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालमा लिइएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा भोलि मंगलबारसम्म प्रकाशन गरिसक्ने तयारी गरेको छ । सरकारले एसइईको नतिजा परीक्षा सकिएको १ महिनाभित्र सार्वजनिक गर्ने घोषणा गरेको थियो । गत वर्षको एसइई चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षा सकिनासाथ परीक्षा केन्द्र भएकै स्थानमा उत्तरपुस्तिका परीक्षण गरिएको थियो । ‘माध्यमिक शिक्षा परीक्षा (एसइई) व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२’ मा परीक्षा सम्पन्न भएको बढीमा ३ दिनभित्र उत्तरपुस्तिका परीक्षण गरिसक्नुपर्ने व्यवस्था छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल ३५ जना कर्मचारी टेबुलेसनमा व्यस्त छन् । टेबुलेसन सकिएपछि बोडै बैठक राखेर नतिजा सार्वजनिक गरिने अधिकारीले जानकारी दिए ।
गत वर्ष नेपालका १ हजार ९६५ वटा र जापानको एउटा गरी १ हजार ९६६ वटा परीक्षा केन्द्रबाट नियमित र स्तरवृद्धिका लागि गरी ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिएका थिए । परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना थिए । प्रदेशगत रूपमा कोसीबाट ८२ हजार ४८७, मधेसबाट ९० हजार २४३, बाग्मतीबाट १ लाख ९ हजार ५१३, गण्डकीबाट ४३ हजार ९७२, लुम्बिनीबाट ९१ हजार ८०२, कर्णालीबाट ३९ हजार ७६९ र सुदूरपश्चिम प्रदेशबाट ५४ हजार ६३५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
प्रतिक्रिया