
मुगु । हिमाली जिल्ला मुगु सोरु गाउँपालिकाको कालैस्थित बर्थिङ सेन्टरमा कार्यरत सिनियर अनमी सरिताकुमारी शाही यतिबेला स्थानीय महिलाहरूका लागि आशाको केन्द्र बनेकी छन् । भौगोलिक विकट र यातायातको सहज पहुँच नभएको त्यस क्षेत्रमा सरिताले विगत लामो समयदेखि आमा र बच्चाको ज्यान बचाउन पु¥याएको योगदानप्रति गाउँलेको प्रशंसा पात्र बनेकी छन् ।
मानवअधिकार तथा वातावरण बिकास केन्द्र हेरेन्डेक र ब्याकटु लाइफको आर्थिक सहयोगमा निर्माण गरिएको जिमा सीप गाउँको बर्थिङ सेन्टरमा कार्यरत रही उनले करिब ६ वर्षसम्म गर्भवती तथा सुत्केरी आमाहरूको निरन्तर सेवा दिएकी छन् । हिमाली दुर्गम क्षेत्रमा भरपर्दो प्रसूति सेवा अभावले अकालमा ज्यान गुमाउन बाध्य भएका सुत्केरी महिलालाई संस्थाको सहयोग र सरिताको सेवाले ज्यान सुरक्षित बनेको छ ।
अभावकाबीच निरन्तर सेवा
साधन, स्रोत र जनशक्ति अभावका बाबजुद उनी त्यस क्षेत्रका गर्भवती महिलाहरूलाई सुरक्षित प्रसूति सेवा दिन अहोरात्र खटिरहिन् । जागिरको सवालभन्दा पनि आमा र बच्चाको ज्यान बचाउन गरेको कार्यप्रति त्यहाँका महिलाहरूले उनलाई निकै प्रशंसा गर्ने गरेका छन् । सीप गाउँकी वडासदस्य गोविन्दा बिष्ट भन्छिन्, ‘सरिता मेडम हाम्री भगवान् हुन् । यहाँकी गर्भवती आमा, दिदीबहिनीलाई धेरै सेवा दिएकी छन् ।’
‘रातदिनको उनको सेवाले हामी महिला खुसी छौँ’, उनले सुनाइन्, ‘पहिले यहाँ अकालमा सुत्केरीले ज्यान जाने गथ्र्यो अहिले सरिता मेडमले आमा र बच्चाको ज्यान बचाउन रातदिन खटिएकी छन् ।’ स्वास्थ्य उपकरण र पर्याप्त जनशक्तिको अभावका बाबजुद पनि उनको कुशलताले गर्दा धेरै जटिल अवस्थामा पनि सफल सुत्केरी उपलब्ध भएको स्थानीय महिलाको भनाई छ ।

४६९ जनाको सुरक्षित सुत्केरी
सेवामा कार्यरत ६ वर्षको अवधिमा सरिताले जिमा, सीप बर्थिङ सेन्टरमा ४६९ जनालाई सुरक्षित सुत्केरी गराएकी छन् । त्यसैगरी १ हजार २०० जना गर्भवतीको स्वास्थ्य चेकजाँच गर्न सफल भएकी छन् । उक्त प्रसूति सेवा केन्द्रबाट करिब ६०० जना सुत्केरीलाई ४ पटक स्वास्थ्य चेकजाँच गरेकी छन् ।
सीमित प्रसूति गृहमा सेवा लिन आएका गर्भवती महिला मात्र नभएर विकट गाउँबस्तीमा पुगेर सरिताले महिलाहरूलाई प्रसूति सेवाको बारेमा जनचेतना अभिवृद्धि गराएकी छन् । घरमा सुत्केरी हुँदा आमा र शिशुको ज्यान असुरक्षित हुन्छ प्रसूतिगृहमा जाँदा ज्यान सुरक्षित हुन्छ भनेर महिलालाई जनचेतना अभिवृद्धि गराएकी छन् ।
त्यसैगरी उनले विद्यालय स्वास्थ्य कार्यक्रमअन्र्तगत विद्यार्थीहरूलाई स्वास्थ्यसम्बन्धी जनचेता घरदैलो भेटघाट जस्ता सेवा गरेकी छन् । पहिले यहाँ प्रसूति सेवा केन्द्र नहँुदा गर्भवती महिलालाई कि त घरमै असुरक्षित सुत्केरी हुनुपर्ने कि त एकदिन टाढा जिल्ला अस्पताल ठिनी पुग्नुपर्ने अवस्था थियो ।
‘यहाँ प्रसूति केन्द्र बनेर सरिता मेडम आएदेखि गर्भवती महिलालाई धेरै राहत भयो, आमा र शिशुको ज्यान बच्यो’ स्थानीय डबल बिष्टले सुनाए । उनले करिब ६ वर्ष जिमा सीप बर्थिङ सेन्टरमा बसेर सुत्केरी महिलाहरूलाई सेवा दिएको बिष्टले बताए ।
गत कात्तिक महिना संस्थाको नियमअनुसार उनलाई कालै बर्थिङ सेन्टरमा खटाएको छ । पिठ्यूँमा बच्चा बोकेर पनि उनी कालैमा सुत्केरीको सेवाप्रति समर्पित छिन् । कालैमा आएदेखि उनले १० जना महिलालाई सुत्केरी गराइसकेकी छन् । कालै, खनाया, सिडडी गाउँका गर्भवतीहरू सुत्केरी हुन बर्थिङ सेन्टरमा आउने गरेका छन् ।
‘पहिले करिब ७५ प्रतिशतभन्दा बढी घरमै सुत्केरी हुने गर्थे अहिले सबै गर्भवती बर्थिङ सेन्टरमा सुत्केरी हुन आउँछन्’, सरिताले भनिन् । गर्भ चेकजाँच गर्न पनि आउने गरेको उनको भनाइ छ । दुर्गममा अनेक कठिनाइका बाबजुद सुत्केरीलाई सेवा दिइरहेको सरिताले भनिन्, ‘टाढाटाढा गाउँबाट राति सुत्केरी हुन आउँछन्, निद्रामै उठेर सेवा दिनुपरेको छ ।’ अहिले घरमा सुत्केरी हुनेको संख्या न्यून रहेको उनले बताइन् ।
बर्थिङ सेन्टरमा सुत्केरी भएकाले यातायात खर्च बापत ३ हजार, प्रोत्साहन बापत ८०० र प्रदेश कोसेली बापत २ हजार ५०० रुपैयाँ पाउने गरेको सरिताले बताइन् । उनले भनिन्, ‘यो सुविधाले गर्दा पनि गर्भवती बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने गरेका छन्, मुगुको कालैजस्ता दुर्गम ठाउँमा बसेर उनले पु¥याएको यो सेवाले राज्यको स्वास्थ्य प्रणालीलाई गाउँ–गाउँमा पु¥याउन मद्दत गरेको छ ।’
संघीय सरकार प्रदेश सरकार स्थानीयतह र सरोकारवाला निकायले यस्ता समर्पित कर्मचारीको मनोबल उच्च राख्न थप प्रोत्साहन र सुविधामा ध्यान दिन आवश्यक देखिएको सोरु गाउँपालिका–७ का वडाअध्यक्ष जयपुर विष्टले बताए । हिमाली मुगु जिल्लाको ४ वटा स्थानीयतह छायानाथ रारा नगरपालिका, सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकास्तरमा मानवअधिकार तथा वातावरण विकास केन्द्र हेरेन्डेक र ब्याकटु लाइफको सहयोगमा १८ वटा सुविधायुक्त बर्थिङ सेन्टर निर्माण गरी सञ्चालन गरिएको छ । उक्त बर्थिङ सेन्टरले गर्दा दुर्गम बिकट बस्तीमा बसोबास गर्ने पिछडिएका दलित तथा विपन्न गरिब महिलाहरूलाई प्रसूति सेवामा सहज भएको छ ।
नेसनल सोसल वेलफेयर अवार्ड सम्मान
मुगु सोरु गाउँपालिका–९ कालै बर्थिङ सेन्टरमा कार्यरत सिनियर अनमी सरिताकुमारी शाहीलाई नेसनल सोसल वेलफेयर अवार्ड–२०२५ प्रदान गरिएको छ । केही दिनअघि काठमाडाँै राष्ट्रिय नाचघर सभाहलमा सिजन मिडियाद्वारा आयोजित नेसनल सोसल वेलफेयर अवार्ड–२०२५ प्रदान कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अनमी सरितालाई नेसनल सोसल वेलफेयर अवार्ड–२०२५ सहित सम्मानपत्र प्रदान गरेका हुन् ।

विगत लामो समयदेखि कर्णाली प्रदेशको मुगुको दुर्गम गाउँमा रहेर स्वास्थ्य क्षेत्रमा सक्रिय रही गर्भवती महिलाहरूको प्रसूति सेवा तथा स्थानीय जनताको प्राथमिक उपचारमा यहाँले पु¥याएको सहयोग र योगदान समाजमा सकरात्मक रूपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको हँुदा अनमी सरितालाई यो नेसनल सोसल वेलफेयर अवार्ड–२०२५ प्रदान गरिएको आयोजकको मूल्यांकन छ ।
विभिन्न क्षेत्रबाट समाजमा योगदान पु¥याउने विशिष्ट व्यक्तिलाई यो सिजन मिडियाले विगत १७ वर्षदेखि यो नेसनल सोसल वेलफेयर अवार्ड प्रदान गर्दै आएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज पन्तले बताए । यसपटक पनि विभिन्न क्षेत्रमा योगदान पु¥याउने १७ जनालाई यो अवार्ड उपलब्ध गराइएको उनको भनाइ छ ।
मुगु जिल्लाको सोरु गाउँपालिकास्थित सोरु गाउँपालिका–४ की सिनियर अनमी सरिताकुमारी शाही भौगोलिक विकट र यातायातको पहुँच नभएको दुर्गम बस्तीमा उनलाई सुत्केरीलाई सेवा दिन त्यति सहज नभए पनि साथीहरूसँग परामर्श र समस्याको समाधान गर्दै उनी दुर्गमका जोखिम गर्भवती महिलाको ज्यान बचाउन खटिएकी छन् ।
साधन, स्रोत र जनशक्ति अभावका बाबजुद पनि उनी त्यस क्षेत्रका गर्भवती महिलाहरूलाई सुरक्षित प्रसूति सेवा प्रदान गर्न अहोरात्र खटिरहिन् । जागिरको सवाल भन्दा पनि आमा र बच्चाको ज्यान बचाउन गरेको कार्यप्रति त्यहाँका महिलाहरूले उनलाई निकै प्रशंसा गर्ने गरेका छन् ।

मुगु
प्रतिक्रिया