
मुगु । मुगुको मुगुम कामारोङ गाउँपालिका– २ को जनजागृति आधारभुत विद्यालयलमा ४५ दिने स्कुलमै ‘होस्टेल’ स्थापना गरीएको छ । मुगुम कामारोङ गाउँपालिकाको २० प्रतिशत र रिकिका ब्रक्नर एन्ड लामा करुणा फाउन्डेसनको ८० प्रतिशत आर्थिक सहयोगमा ४५ दिने स्कुलमै ‘होस्टेल’ सञ्चालन गरिएको हो ।
विगतमा यार्सागुम्बा संकलनको मौसममा विद्यार्थीहरू स्कुलमा भेटिँदैन थिए । बाबुआमासँगै विद्यार्थी पनि यार्सा टिप्न निस्किएपछि मुगुको दुर्गम हिमाली क्षेत्र मुगुम कार्मारोङ गाउँपालिका–२ को जनजागृति आधारभूत विद्यालयले नयाँ जुक्ति अपनाएको छ ।
बर्सेनि यार्सागुम्बा संकलनको मौसमसँगै सुनसान बन्ने विद्यालयमा अहिले बालबालिका ‘होस्टेल’ बसेर पढिरहेका छन् । विद्यालयले यस वर्षदेखि यार्सा संकलनको समय लक्षित गर्दै ४५ दिने आवासीय विद्यालय कार्यक्रम सञ्चालनमा ल्याएको हो । विद्यार्थीको सिकाइको अवरोधलाई समाधान खोज्ने प्रयासका रूपमा नयाँ रणनीति बनाएको विद्यालय प्रशासनको भनाइ छ ।

हरेक वर्ष जेठको दोस्रो साताबाट यार्सागुम्बा संकलन सुरु हुन्छ । यहाँका स्थानीयवासीको मुख्य आम्दानीको स्रोत पनि यार्सा नै हो । साना बालबालिकासहित परिवारका सबै सदस्य उच्च पाटनतिर लाग्ने भएकाले गाउँ र विद्यालय दुवै सुनसान बन्थे । विद्यालय बन्द हुँदा कक्षाहरू रोकिँदै आएका थिए भने बालबालिकाको पढाइसमेत प्रभावित हुँदै आएको थियो ।
विद्यालयका प्रधानाध्यापक राजेश खत्रीका अनुसार अभिभावक पाटनतिर लागेपछि विद्यालय आउने बालबालिका पनि केही दिनमै त्यतै जान बाध्य हुन्थे । यसले उनीहरूको सिकाइमा अवरोध हुने गरेको थियो। विद्यार्थीलाई पढाइबाट बञ्चित हुन नदिन आवासीय कार्यक्रम सुरु गरिएको खत्रीले बताए ।
हाल २४ जना बालबालिका अध्ययनरत यस विद्यालयमा कक्षा १ देखि ३ सम्म पढाइ हुने गरेको छ । यार्सा संकलन समयमा ३०–४५ दिनसम्म सबै बालबालिका पाटनमा हुन्छन् । त्यसपछि तिब्बत व्यापार, चाडपर्व र हिउँदको बसाइँसराइका कारण वर्षको आधाभन्दा बढी समय पढाइ प्रभावित हुने अवस्थाका कारण यो वर्षबाट विद्यालयमा आवासीय पढाइ सुरु गरिएको विद्यालयले जनाएको छ ।

अब यार्सा मौसममा अभिभावक पाटन पुगे पनि बालबालिका विद्यालयमै बस्नेछन्, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेन्जी तामाङले भन्छन्, विद्यालयमै बस्ने खाने र नियमित पठनपाठनको व्यवस्था मिलाएका छौँ । मुगुम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले बालबालिकाको पढाइमा अवरोध नआओस् भन्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको बताए ।
उनका अनुसार यसले दीर्घकालीन रूपमा शैक्षिक सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रम गाउँपालिकाको २० प्रतिशत र रिकिका ब्रक्नर एन्ड लामा करुणा फाउन्डेसनको ८० प्रतिशत आर्थिक सहयोगमा सञ्चालन गरिएको हो ।
हिउँदमा सबै घरपरिवार चिसो छल्न गाउँ छोडेर अन्यत्र जाने र गाउँमा दलित समुदाय मात्रै बस्ने भएकाले उनीहरूका बालबालिकाको पढाइ निरन्तर राख्न २०८० सालमा सिरानचौर क्षेत्रमा शाखा विद्यालय स्थापना गरिएको थियो ।

मुगु
प्रतिक्रिया