बालसुधार गृहमा किन भइरहन्छ झडप ?

बाल सुधार गृहलाई पनि जेलको रूपमा बुझेको पाइन्छ । तर सुधार गृह र जेल फरक हुन् । यद्यपि हामीकहाँ दुवैको सञ्चालन एउटै शैलीबाट भइरहेको छ ।

पछिल्लो समय देशका विभिन्न बालसुधार गृहहरूमा झडपका घटना बढिरहेका छन् । बानी, व्यवहार र आचरण सुधार गर्न राखिएका बालबालिका बीचमा भएका झडपमा अप्रिय घटनासमेत हुने गरेका छन् । बालगृहमा हुने घटनाले त्यहाँ रहेका बालबालिकाका अभिभावकलाई समेत चिन्ता बढाउन थालेको पाइन्छ । आफ्ना सन्तानको भविष्य सुधार होला भन्ने सोचेका अभिभावकमा उल्टै अनेकथरी आशंका बढ्न थालेको छ ।

कैयौँ सुधारगृहमा बालबालिकाको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मी समेत घाइते हुने गरेका छन् । उनीहरूले आफू बस्ने सुधार गृहमा तोडफोड र आगजनीसमेत गर्ने गरेको पाइन्छ । बालबालिका ऐनको दफा २६ मा रहेको सजायसम्बन्धी व्यवस्थामा कसुरजन्य कार्य गर्दा उमेर १० वर्षभन्दामाथि र १८ वर्षभन्दा कम भएकालाई बढीमा १ वर्षसम्म बालसुधार गृहमा राख्ने भनिएको छ । तर, कैयौँ स्थानमा तोकिएको उमेरभन्दा बढीका व्यक्ति पनि रहेका छन् ।

बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ४३ मा ‘नेपाल सरकारले कानुनको विवादमा परेका बालबालिकाको सुधार र पुनःस्थापना नभएसम्म बालबालिका राख्ने प्रयोजनका लागि आवश्यकताअनुसार बाल सुधार गृहको स्थापना गर्ने छ’ भनिएको छ । यही दफामा ‘कुनै संस्थाले नेपाल सरकारबाट स्वीकृति लिई बाल सुधार गृहको स्थापना गर्न सक्ने छ’ भनिएको छ । तर, त्यसरी राखिने बालबालिकाप्रति नियम अनुसारको व्यवहार र व्यवस्था भने भने पाइन्न ।

००००

खुल्ला समाजमा स्वछन्द बसेका बालबालिका जब एउटा चौघेराभित्र पर्छन्, उनीहरूको जीवनशैली स्वाभाविक र सामान्य हुँदैन नै । मनमौजी गर्ने बानी परेकालाई कसैको कडा नियन्त्रणमा बस्नु पर्दा त्यसविरूद्ध विद्रोह, आक्रोश जन्मिने गरेको विज्ञहरू बताउँछन् । एकातिर बाल सुधारका निम्ति गरेका अभ्यासहरू कतिपय अवस्थामा कानुन र ऐनअनुसार नभएको गुनासाहरू पनि आउने गरेका छन् । बाल सुधारका लागि बनेका सुधार गृहभित्रको व्यवहार बालमैत्री हुन नसकेको गुनासो पनि सुनिने गरेको छ । बालबालिकाको मनोसामाजिक विकासका दृष्टिकोणको ती ठाउँ र वातावरण मेल नखाने गरेको सुनिन्छ । अर्कोतर्फ बाल सुधार गृहमा जुन किसिमको चाप हुने गरेको छ, त्यो थेग्न सक्ने क्षमतामा बाल सुधार गृहहरूसँग छैन । त्यसैले बाल सुधार गृहहरूमा समस्या देखिने गरेको बताइन्छ ।

बालबालिका ऐन, २०७५ ले बालबालिकाले गरेको कसूर अपराध नभई गल्ती हो भन्ने मनसायमा त्यस्ता बालबालिकालाई सुधार र पुनस्र्थापनाका लागि बाल सुधार गृह स्थापना गरिने छ भनेको छ । परिस्थितिजन्य कार्य वा सामाजिकीकरणका कारणले दीर्घकालीन परिणाम सोच्न नसक्दा हठातमा कसुर गरेको भन्ने मान्यता हो । त्यसैले उनीहरूलाई कैदका निम्ति होइन, सुधार र पुनःस्थापना नभएसम्मका लागि बाल सुधार गृहमा राख्नुपर्छ भन्ने परिकल्पना हो ।

ऐनले बाल सुधार गृहमा रहेका बालबालिकाहरू अस्थायी रूपमा त्यहाँ रहने कल्पना गरेको छ । यसरी सुधार गृहमा राखिएका बालबालिका कुनै पनि बेला सुधारको विन्दुमा पुग्छन्, पुनःस्थापनाको तहमा पुग्छन् र परिवारमा पुनःस्थापना गर्नुपर्छ, समाजमा पुनःस्थापना गर्नुपर्छ भन्ने ऐनको आशय हो । त्यही कारण बालबालिकासम्बन्धी नियमावलीको नियम ३५ मा प्रत्येक बाल सुधार गृहमा त्यहाँ राखिएका बालबालिकाको सुधार कार्ययोजना बनाउनुपर्छ भनिएको छ । तर, अहिले भएका बाल सुधार गृहहरूमा त्यो कार्ययोजना छैन । त्यसैले बाल सुधार गृह र परम्परागत जेलमा खासै ठुलो अन्तर देखिँदैन ।

सुधार गृहहरूमा जुन किसिमको मानव स्रोतसाधन खटिएका छन्, उनीहरू बाल सुधार गृहका लागि तालिम प्राप्त जनशक्ति नभएको जानकारहरू बताउँछन् । मनोसामाजिक विमर्श र बालमैत्री व्यवहारका विषयमा प्रशिक्षित र अभ्यासमा उनीहरूको पोख्तता नभएको बताइन्छ । जुन उद्देश्य र प्रयोजनका लागि सुधार गृह बनाइएका छन् त्यसको मर्म पूरा नभएको गुनासा पनि कम छैनन् ।

कतिले बाल सुधार गृहलाई पनि जेलको रूपमा बुझेको पाइन्छ । तर सुधार गृह र जेल फरक हुन् । यद्यपि हामीकहाँ दुवैको सञ्चालन एउटै शैलीबाट भइरहेको छ । यसमा प्रष्ट हुनपर्ने के हो भने, बाल सुधार गृह संरक्षणसहित सुधार केन्द्र हो । जेल सुधार र सजाय केन्द्र हो । त्यसैले जेल र सुधार गृहमा दुई वटा फरक दृष्टिकोणलाई अभ्यास गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । परिणाम बालबालिकाहरूमा जुन किसिमको सुधार आउनुपर्ने त्यो आएको छैन र बालबालिकामा विद्रोहको भावना जन्मिएको छ । त्यसलाई सम्हाल्न नसक्दा बेला बेला बिभिन्न सुधार गृहमा तनाव सिर्जना हुने गरेको छ ।

बालकको आनीबानी र व्यवहारमा सुधार गर्न स्थापना गरेका बाल सुधारगृहहरूले भौतिक पूर्वाधारलगायतको व्यवस्थामा अभाव रहेको पाइन्छ । जसका कारणले बालकहरू न्यूनतम अधिकार र सुविधाबाट वञ्चित हुँदै आएका छन् । सबैजसो बाल सुधार गृहमा पूर्वाधार अभावलगायतका राज्यले नै तोकेका अधिकार र सुविधा उपलब्ध भएको पाइन्न ।

देशभर रहेका १० वटा सुधार गृहमा पूर्वाधार अभावको बीचमा क्षमताभन्दा झन्डै दोब्बर बालक बस्न बाध्य छन् । त्यसैले पनि सुधारगृहहरूमा सानातिना झडप र विवाद भइरन्छन् । हेटौँडा, भक्तपुर, बाँके, वीरगञ्ज, पोखरा लगायतका स्थानमा रहेका ती सुधारगृहमा बेला बेला भएका झडपले अभिभावक र अरूलाई समेत अशान्त बनायो । पटकपटक हुने झडपमा विभिन्न सुधारगृहबाट भागेका बालबालिका अहिले पनि समाजमा छरिएर रहेका छन् ।
पटकपटक बाल सुधार गृहमा हुने यस्ता घटनाले सुरक्षामा गम्भीर प्रश्न उठाउँदै आएको छ । सुरक्षाकर्मीहरू भने आफूहरूको उपस्थिति नहुने भएकाले झडपका घटना दोहोरिइरहने बताउँछन् । प्रहरीका अनुसार बाल सुधार गृहमा बर्दी लगाएका हतियारसहितका प्रहरी बस्न मिल्दैन । प्रहरी बसे पनि अन्य कर्मचारीजस्तै सादा पोसाकमा बिनाहातहतियार बस्नुपर्ने हुन्छ ।

कानुननले परिभाषित गरेअनुरूप मुलुकभरमा बालक राख्नका लागि १० वटा बाल सुधार गृह रहेका छन् । मोरङ, पर्सा, मकवानपुर, भक्तपुर, कास्की, रूपन्देही, बाँकेमा २ र डोटी जिल्लामा रहेका बाल सुधार गृहको अवस्था करिब करिब उस्तै छ । गृहको भौतिक संरचना र वातावरण बुझ्न बेलाबेलामा राष्ट्रिय मानवअधिकार आयोगले अनुगमन गर्ने गरेको छ ।

बालसुधार गृहको आचोचना त्यत्तिकै भने भएको होइन् । १–२ वटा घटनाले त्यहाँ पनि बालकहरू सुरक्षित छैनन् भन्ने संकेत गर्छ । जस्तो भक्तपुरको मध्यपुरस्थित बाल सुधार गृहभित्र सामान्य बिरामी परेका कमल बस्नेतको २०८० भदौ ३ मा मृत्यु भयो । उनको मृत्यु उपचार अभावमा भएको आरोप छ । बस्नेतको मृत्युको विषयलाई लिएर बाल सुधार गृहका बालकहरूले ढुंगामुढा तथा तोडफोड गरी सुधार गृहबाटै भागेका थिए ।

अर्को बाँकेको डुडुवा गाउँपालिकामा रहेको बाल सुधार गृहमा २ समूहबीच झडप हुँदा गम्भीर घाइते भएका रूपन्देहीका सुलभ केसीको उपचारका क्रममा मृत्यु भयो । त्यहाँ भएको झडपमा १० जना घाइते भएका थिए । मानवीय क्षति नभए पनि यस्ता समस्या अन्यत्र पनि बेलाबेलामा देखिने गरेको छ ।

०००

पछिल्लो समय देशभरकै बाल सुधार गृहहरू अशान्त बन्दै जाँदा अभिभावकमा भने चिन्ता बढेको छ । यसले सुरक्षामा समेत प्रश्न उठेको छ । सुधार गहरूको वातावरण र क्षमता भन्दा बढी बालक रहँदा पनि समस्या भएको हुन सक्ने विज्ञको तर्क छ । देशभर रहेका बाल गृहको क्षमता ८३५ रहे पनि १२ सयभन्दा बढीको संख्यामा बालकहरू बाल गृहमा खाँदिएर बसिरहेको अवस्था छ ।

अझ थेरै ठाउँका बालकहरू मिसिएर बस्दा पनि समस्या हुने गरेको पाइन्छ । ठाउँ अभाव, भौतिक संरचना, वातावरण जस्ता कुराले सुधार गृहमा बालबालिका उकुसमुकुसपूर्ण दैनिकी बिताउन बाध्य हुने गरेका छन् । एउटै कोठाभित्र धेरै जना कोचिएर बस्नुपर्दा स्वास्थ्यलगायतका समस्या हुनेगर्छ ।

बिरामी पर्दा उपचार, खेल खेल्ने स्थान र वातावरण नहुँदा पनि त्यो उमेरका बालबालिकामा समस्या हुने देखिन्छ ।

०००

बालसुधार गृह दुःख दिने ठाउँ भए : हेमन्त मल्ल, पूर्व डिआइजी

हेमन्त मल्ल, पूर्व डिआइजी

हामीले के महसुस गरिरहेका छैनौँ भने, त्यहाँ थुनिएका मान्छे केही वर्षपछि बाहिर आउँछन् । उनीहरूलाई समाजमा व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यसबारेमा न सरकारको न अरू कसैको ध्यान गएको पाइन्छ ।

हाम्रोमा रहेका बाल सुधार गृह, बाल सुधार गृहजस्तो भएन । बालसुधार गृह भनेको नाबालिक बच्चा राख्नुपर्ने हो । तर, त्यहाँ हेर्ने हो भने के समस्या छ भने, उमेर बढ्दै गएर बालगृहमा २५–३० देखि ३५ वर्षसम्मका मान्छे फेला पर्छन् । समस्या त्यसले पनि आएका हुन् । बालसुधार गृहलाई, बालसुधार गृहको रूपमा मात्रै लिएर गइयो । त्यहाँ हुन पर्ने सुरक्षा, वातावरण र भौतिक सुविधाका बारेमा ध्यान दिइएको पाइँदैन । त्यसैले बालसुधार गृहहरूमा बेलाबेलामा देखापर्ने समस्या भनेको यिनै कारणले हो ।

सबैभन्दा पहिला बालसुधार गृहमा कति उमेर समूहको मान्छे राख्ने भन्ने किटानी साथ लागू हुनपर्छ । त्यहाँ रहेका बालबालिकाको उमेर बढ्दै गएपछि उनीहरूलाई जेलमा पठाउनु पर्छ । त्यसको व्यवस्थापन गर्न सकिरहेको अवस्था छैन । अर्को भनेको हाम्रोमा जेल वा सुधार गृहमा सुधारात्मक भन्दा दण्डात्मक सोच भएको पाइन्छ । हामीले के महसुस गरिरहेका छैनौँ भने, त्यहाँ थुनिएका मान्छे केही वर्षपछि बाहिर आउँछन् । उनीहरूलाई समाजमा व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यसबारेमा न सरकारको न अरू कसैको ध्यान गएको पाइन्छ ।

बालसुधार गृह वा जेलमा मान्छेलाई दुःख दिनु मात्रै हो भनेझैँ भएको छ । जबसम्म सुधारात्मक कुरामा ध्यान दिइँदैन तबसम्म समस्या भइरहन्छ । उनीहरूको बानी व्यवहार सुधार गर्ने, भविष्यमा बाहिर आएर उसमा कि लेखपढ हुनुप¥यो कि सीप हुनुप¥यो । तर त्यो छैन । बाहिर आएर मैले केही गर्नुपर्छ भन्ने भावना उनीहरूमा जागृत गर्नुपर्छ । तर, थुन्ने दुःख दिने खालको अवस्थाले पनि उनीहरूको मनोविज्ञान बिग्रिएको छ ।

बालगृहमा हुने अशान्ति रोक्न पहिलो कुरा उनीहरूको उमेरअनुसार कहाँ कसरी राख्ने मापदण्ड बनाउनुपर्छ । उमेर बढ्नासाथ उनीहरूको व्यवस्थापन जेलमा गर्नुपर्छ । अर्को कुरा त्यहाँभित्रको व्यवस्थापन र वातावरण राम्रो हुनुपर्छ । उनीहरूका लागि खानपिन, खेल लगायतको कुरामा ध्यान दिनुपर्छ । यस्तै उनीहरूलाई दण्ड दिनुभन्दा पनि उनीहरूलाई सुधार गरी समाजमा कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा ध्यान दिनुपर्छ । यसो गर्न सकियो भने, अहिले भइरहेका समस्या कम हुन सक्छ ।

००००

सुधार गृह नाम मात्रैका भए : रामबहादुर चन्द, सूचना अधिकारी, बालअधिकार परिषद्

रामबहादुर चन्द

हाम्रोमा त सुधार गृहमा भएपछि ऊ खराब मान्छे हो भन्ने दृष्टिले हेर्ने गर्दा र त्यहाँ पनि अपराधीको जस्तो व्यवहार हुँदा उनीहरूमा नकारात्मक भावनाका विकास हुने गरेका छन् ।

हामीकहाँ १० वटा बालसुधार गृह छन् । भएका सुधार गृहमा क्षमताभन्दा २ देखि ५ गुणासम्म बढी बालक छन् । १ जनाको ठाउँमा ५ जना बस्नुपर्दा सहज पक्कै हुँदैन । भौतिक पूर्वाधार अभावमा उनीहरूको व्यवस्थापन राम्रो हुन सकेको छैन । अर्को उनीहरूको उमेर, सेवा, सुविधा, खानपिन र हेरचाहको हिसाबले तोकिएको मापदण्ड पूरा हुन सकेको छैन । अर्को कुरा भनेको सुधार गृहहरूको अनुगमन गर्ने निकायले गर्ने अनुगमन नियमित हुन सकेको छैन । यी नाम मात्रैका छन् ।

यसैगरी ती सुधार गृहहरूमा खटिने कर्मचारी र उनीहरूलाई सीप सिकाउने, ज्ञान दिने प्राविधिकहरू पनि छैन । उनीहरूलाई जुन ढंगले मनोवैज्ञानिक रूपमा परामर्श गर्नुपर्ने हो भएको छैन । यस्तै सुधार गृह त बनायौँ उनीहरूलाई बाल अधिकार र बालमैत्री व्यवहारको सवालमा हामी पछाडि छौँ । उनीहरूलाई त्यस अनुसारको ज्ञान र ध्यान दिन सकिएको छैन । त्यो तहको उत्तरदायी, जिम्मेवारी र दायित्व बोक्ने सम्दर्भमा हामी पछि छौँ । यी कुराहरूमा ध्यान दिएर उनीहरूलाई राख्न सकियो भने बाल सुधार गृहहरूमा हुने गरेका अशान्तिपूर्ण वातावरण रोकिने छ ।

पछिल्ला दिनमा देखिएका समस्या रोक्न क्षमताभन्दा बढी बालक सुधार गृहमा राख्नु भएन । कानुनमा भएका उनीहरूले पाउनपर्ने सेवा सुविधा दिनुपर्छ । यसलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्छ । अर्को कुरा ती बालबालिकालाई के कारणले ल्याइएको हो, त्यस अनुसार उनीहरूको आचरण सुधार गर्न दैनिक गरिने क्रियाकलापमा आवश्यकताअनुसार मनोवैज्ञानिक ढंगबाट प्रशिक्षित गराउनु पर्छ । उनीहरूलाई सुधार गरेर समाजमा असल नागरिक बनाउन गरी मनोपरामर्र्श दिन आवश्यक छ ।

सबैभन्दा ठुलो कुरा बालसुधार गृहमा गएको कारण कसैको भविष्य बिगँ्रदैन । भोलिको भविष्य उत्तिकै सुन्दर छ भन्ने भावना विकास गराउँदै, शिक्षा स्वास्थ्यलगायतका अवसर दिएर सम्झाउनु पर्छ । विद्यार्थीलाई लेख्ने, पढ्ने वातावरण बनाउनु पर्छ । सबै कुराले उनीहरू सुधारगृहबाट निस्कँदा असल नागरिकका रूपमा समाजमा रूपान्तरण हुने वातावरण बनाउनु पर्छ ।

हाम्रोमा त सुधारगृहमा भएपछि ऊ खराब मान्छे हो भन्ने दृष्टिले हेर्ने गर्दा र त्यहाँ पनि अपराधीको जस्तो व्यवहार हुँदा उनीहरूमा नकारात्मक भावनाका विकास हुने गरेका छन् । यस्ता कारण उनीहरूको सोच नकारात्मक बाटोतिर जाने र विभिन्न खालका गलत कार्य हुन गरेका छन् । सुधार गृहहरूमा लगानी बढाएर त्यहाँ बस्ने बालबालिका अपराधी होइन, सुधार गरेर समाजमा स्थापित गर्ने ठाउँ हो भन्नेगरी काम गर्नु आवश्यक छ । यसो गर्न सकियो भने, सुधार गृहमा हुने गरेका झडप वा अप्रिय घटना रोक्न सक्छ । तर, राज्यको ध्यान त्यता गएको पाइन्न । बालबालिकाको कुरा प्राथमिकतामा परेको छैन । बाल अधिकारप्रति हामी सचेत भएनौँ, जिम्मेवार भएनौँ । उनीहरूप्रति जिम्मेवारी बोध गर्ने समाज र राज्य नै भएन ।

प्रतिक्रिया